close

नेपालीलाई अनलाइन जुवामा फसाउने दाउ, बनाइयो हिमालमा गएर विज्ञापन

टेकपाना टेकपाना

माघ १२, २०८१ १६:५९

नेपालीलाई अनलाइन जुवामा फसाउने दाउ, बनाइयो हिमालमा गएर विज्ञापन

काठमाडौं । पछिल्ला केही दिनदेखि नेपाली प्रयोगकर्ताहरूले ‘हिमाबेट अफिसियल’ नामक फेसबुक पेजमा एउटा आकर्षक विज्ञापन देखिरहेका छन् । यो विज्ञापन सामान्य रूपमा बनाइएको छैन, बरु लाखौं खर्च गरेर हिमालको काखमा छायाङ्कन गरिएको छ । 

विज्ञापनमा ‘खेल खेलमा पैसा हातमा, सबै मिलि खेलौं है हिमाको साथमा’ भन्ने गीत पनि सुन्न सकिन्छ । भिडिओमा एक युवती घोडामा चढेर डाँडाकाँडा घुमिरहेको देखिन्छिन् र पृष्ठभूमिमा आकर्षक शैलीमा हिमाबेटको लोगो देखाइएको छ । दुई मिनेटको यस विज्ञापनमा बाजी लगाउने यो सजिलो माध्यम भएकोले यसबाट आम्दानी गर्न सकिने भन्ने भ्रामक कुरालाई जोड दिइएको छ ।

प्रयोगकर्ताहरूलाई यो प्लेटफर्म प्रयोग गर्न आकर्षित गर्ने प्रयास गरिएको छ । एनपीएलदेखि आईपीएल हुँदै तीन पत्तिसम्म खेल्न सकिने सुविधा रहेको भन्दै आफ्नै देशमा बनेको हुनाले यो विश्वासिलो छ भन्ने भ्रमपूर्ण सन्देश पनि प्रवाह गरिएको छ । 

त्यस्तै यस गीतमा राखिएका शब्दहरू पनि पेसेवर नेपाली लेखकले नै लेखेको भान हुन्छ । साथै आवाज पनि र्‍याप शैलीको वास्तविक महिलाको नै राखिएको छ । झट्ट हेर्दा आधिकारिक र विश्वसनीय प्लेटफर्म भएको देखाउन ठूलो लगानी गरेको सजिलै अनुमान लगाउन सकिन्छ । 

२१ जनवरीमा फेसबुकमा पोस्ट गरिएको उक्त भिडिओमा यो समाचार तयार पार्दासम्म २३ हजार बढी लाइक र ६४ लाख बढी भ्युज आएको छ । ७०० हाराहारी लाइक भएको यो पेजमा यतिका रिच पुर्‍याउन पैसा तिरेर पोस्ट बुस्ट गरिएको छ ।

उक्त पोस्टको क्याप्सन र कमेन्टभरि लिङ्क राखिएको छ । यतिसम्म कि, उक्त कम्पनीले नेपाली प्रयोगकर्तालाई नै लक्षित गरी डोमेनमा नेपालको छोटो फर्म (एनपी) राखेको छ । अर्थात् यस प्लेटफर्मको डोमेन नेम ‘हिमाबेटएनपी डटकम’ रहेको छ । 

 

वेबसाइटभरि खुल्लमखुल्ला नेपाली खेलाडीको फोटो पोस्टर राखिएको छ । यसमा कारोबार गर्न सकिने भन्दै प्रभु बैंक, सिटिजन्स बैंक, माछापुच्छ्रे बैंक, ग्लोबल आईएमई बैंक, लक्ष्मी सनराइज बैंक र एभरेष्ट बैंकको लोगो राखिएको छ । वेबसाइटको 'अबाउट अस' सेक्सनमा हेर्ने हो भने खुल्ला रूपमा यो उत्कृष्ट सट्टेबाजीको प्लेटफर्म हो भनिएको छ ।  

यसमा उपलब्ध कस्टमर सपोर्टमा लाइभ च्याट गर्दा उनीहरू खुला रूपमा यो अनलाइन क्यासिनो प्लेटफर्म भएको बताउँछन् । 

नेपाली प्रयोगकर्तालाई केन्द्रित गरी यो डोमेन २०२३ मा पहिलो पटक दर्ता गरेको 'हुइज लुकअप' ले देखाएको छ ।

 

नेपालमा अवैध छ अनलाइन जुवा, तर पनि खुल्लमखुल्ला चलिरहन्छ !

नेपालमा कुनै पनि प्रकारको जुवा तथा सट्टेबाजी प्रतिबन्ध छ । संशोधित जुवा ऐन २०२० को दफा २ मा जुवाको परिभाषा स्पष्ट उल्लेख छ । सो ऐनका अनुसार जुवा भन्नाले सम्पत्ति हार्ने वा जित्ने गरी कुनै संयोग आधारमा बाजी थापी खेलेको कुनै खेल भनी सम्झनुपर्छ भनिएको छ । 

जुवा ऐन २०२० को दफा ३ मा जुवा खेल्न वा खेलाउन प्रतिबन्ध रहेको उल्लेख छ । दफा ३ को उपदफा १ मा लेखिएको छ, “कुनै व्यक्तिले जुवा खेल्न, खेलाउन वा जुवा खेल्ने खाल थाप्न वा आफ्नो हकको वा आफ्नो भोग चलन वा जिम्माको कुनै घर कोठा वा ठाउँलाई जुवा खेल्ने वा खेलाउने काममा व्यवहार गर्न वा गराउन, जुवा खेलेको ठाउँमा बस्न हुँदैन ।” 

ऐनको दफा ४ मा दफा ३ मा मनाही गरेका काम गर्ने वा गराउनेलाई विभिन्न सजाय हुने व्यवस्था गरिएको छ । 

त्यस्तै विज्ञापन (नियमन गर्ने) ऐन, २०६६ को दफा ५ को उपदफा १ को (ख) मा जुवा खेल्न खेलाउन वा प्रचलित कानुन बमोजिम अनुमति नलिएको चिट्ठा किन्न किनाउन प्रोत्साहन गर्ने विषयमा विज्ञापन गर्न नहुने व्यवस्था छ । 

तर, नेपालीकै संलग्नतामा विज्ञापन सामग्री तयार पारेर प्रचार गरेको देखिन्छ । 

यसो त नेपाल दूर सञ्चार प्राधिकरणले २०७९ देखि यस्ता बेटिङ साइटमाथि प्रतिबन्ध लगाउँदै आएको छ । केही बेटिङ साइट खोल्दा उक्त पेजमा लेखिएको हुन्छ, “तपाईँले ब्राउज तथा एक्सेस गर्न खोज्नु भएको वेबसाइटमा मुलुकी अपराध संहिता ऐन, २०७४ को दफा १२१ तथा अन्य प्रचलित कानुनले बन्देज लगाएको सामग्रीहरू रहेकोले, साथै नियमअनुसार नेपालमा दर्ता एवम् सूचीकरण निकाय नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशन अनुसार त्यस्ता सामग्रीमाथिको पहुँचमा रोक लगाइएको छ ।”

अर्थात् बेटिङ साइटहरू नेपालबाट नखुल्नु पर्ने हो । प्राधिकरणले यस्ता साइटको अनुगमन नगर्दा नेपालमा बेटिङ साइट निर्वाध रूपमा चलिरहेको देखिन्छ । यसको अर्को उदाहरण हो वनएक्स बेट । प्राधिकरणले नेपालमा वनएक्स बेटको आधिकारिक साइट ब्लक गरेको छ । तर, उक्त प्लेटफर्मले लाखौंको सङ्ख्यामा रहेका नेपाली प्रयोगकर्तालाई उक्त प्लेटफर्ममा राखिरहन नयाँ डोमेनमार्फत सञ्चालन गरिरहेको छ । नेपालका लागि वनएक्सबेटले तयार पारेको डोमेन नेम हो ‘वनएक्सबेट एनपी डटकम’ । नेपालमा वनएक्स बेट ब्राउज गर्दा यो साइट रिडाइरेक्ट भएर नेपालीका लागि तयार पारिएको डोमेनमा जान्छ । 

सिमिलर साइट्सका अनुसार उक्त साइटमा मासिक ३५ लाखदेखि ४५ लाख प्रयोगकर्ताले भिजिट गर्छन् । यो नेपालमा सबैभन्दा बढी भिजिट हुने १५ औं वेबसाइट पनि हो । यसरी बेटिङ साइट खुल्ला रूपमा चलिरहँदा नियमनकारी निकाय दूरसञ्चार प्राधिकरण मूकदर्शक बनेको छ ।

पछिल्लो अध्यावधिक: माघ १२, २०८१ १७:१५