close

आज राति १६० फिटको विशाल क्षुद्रग्रह पृथ्वी नजिकैबाट जाँदै

टेकपाना टेकपाना

माघ १२, २०८१ १८:३३

आज राति १६० फिटको विशाल क्षुद्रग्रह पृथ्वी नजिकैबाट जाँदै

काठमाडौं । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले एउटा ठूलो क्षुद्रग्रह (एस्टेरोइड) आज पृथ्वीको नजिकबाट जाने जानकारी दिएको छ । ‘२०२५ बीके’ नामको यो क्षुद्रग्रह आकारमा १६० फिट अर्थात् एउटा विमान जत्रो रहेको छ । 

नेपाली समय अनुसार राति ९:३९ बजे पृथ्वीको सबैभन्दा नजिक आइपुग्ने बताइएको छ । यो क्षुद्रग्रह ३७ हजार ५८३ किलोमिटर प्रतिघण्टाको तीव्र गतिमा अन्तरिक्षमा गुडिरहेको नासाले जनाएको छ, जुन पृथ्वीबाट लगभग ५९ लाख किलोमिटर टाढाबाट जानेछ ।

वैज्ञानिकहरूले यसलाई ‘सम्भावित खतरनाक क्षुद्रग्रह’ को सूचीमा राखेका छैनन् । किनभने यो पृथ्वीबाट ७४ लाख किलोमिटरभन्दा टाढा रहनेछ । तर, यसको आकार ठूलो भएकाले यदि पृथ्वीमा ठोक्किए ठूलो क्षति पुग्नसक्ने बताइएको छ । 

नासाका अनुसार यस क्षुद्रग्रहले पृथ्वीमा आणविक विस्फोट बराबरको ऊर्जा उत्पन्न गर्न सक्छ । यस क्षुद्रग्रहबाट तत्काल पृथ्वीलाई कुनै खतरा नरहेको नासाले स्पष्ट पारेको छ । तर, यस्ता क्षुद्रग्रहहरूले भविष्यमा पार्न सक्ने जोखिमलाई मध्यनजर गर्दै नासाले निरन्तर निगरानी गरिरहेको छ । ‘नजिकैको पृथ्वी वस्तु अध्ययन केन्द्र’ (CNEOS) ले विभिन्न टेलिस्कोप र राडार प्रणाली प्रयोग गरी यस्ता क्षुद्रग्रहहरूको निगरानी गरेको छ । 

भविष्यमा ‘नियो सर्वेयर’ जस्ता मिसनले यस्ता वस्तुहरूको पहिचान गर्न र पृथ्वीलाई सुरक्षित राख्न थप मद्दत गर्नेछन् । आज पृथ्वीको नजिकबाट जाने क्षुद्रग्रह म्यापमा हेर्नका लागि यहाँ क्लिक गर्न सक्नुहुन्छ । 

पछिल्लो अध्यावधिक: माघ १२, २०८१ १८:४४