close

स्किप गर्न नमिल्ने घण्टौं लामो विज्ञापनबाट दिकदार युट्युब प्रयोगकर्ता

टेकपाना टेकपाना

माघ १२, २०८१ १९:२८

स्किप गर्न नमिल्ने घण्टौं लामो विज्ञापनबाट दिकदार युट्युब प्रयोगकर्ता

काठमाडौं । युट्युबमा विज्ञापन देखिनु सामान्य हो । तर, हालै प्रयोगकर्ताहरूले घण्टौंसम्म नरोकिने विज्ञापनहरू देख्न थालेको भन्दै गुनासो गरेका छन् । स्किप गर्न नमिल्ने घण्टौं लामा विज्ञापनले प्रयोगकर्तालाई हैरान बनाएको छ । 

प्रयोगकर्ताहरू घण्टौं लामा विज्ञापन हेर्न बाध्य हुनुको कारण खोजिरहेका छन् । युट्युबले सुरुमा थोरै विज्ञापन देखाउने गरेको थियो, तर पछिल्लो समय विज्ञापनको संख्या बढेको छ । धेरै प्रयोगकर्ताले विज्ञापनबाट छुटकारा पाउन युट्युब प्रिमियमको सदस्यता लिएका छन् । तर, सबै प्रयोगकर्ताका लागि यो विकल्प सम्भव नहुन सक्छ । त्यसैले उनीहरू विज्ञापन हेरेर नै युट्युब चलाउन बाध्य छन् । तर, हालै देखिएका लामा विज्ञापनहरूले प्रयोगकर्ताहरूलाई दिक्क बनाएको छ ।

रेडिट प्रयोगकर्ता लिनवन एक्स (Lin1ex) ले ५८ मिनेट लामो विज्ञापन देखेको गुनासो गरेका छन् । उनको पोस्टमा समर्थन जनाउँदै अन्य प्रयोगकर्ताले यस्तै लामो विज्ञापनहरू देखेको दाबी गरेका छन् । कसैले १० घण्टा लामो विज्ञापन देखेको दाबी गरेका छन् भने कसैले ९० घण्टा लामो विज्ञापन देखेको बताएका छन् ।

प्रयोगकर्ता स्ट्यान्डर्ड स्लिप ६५७२ (Standard-Slip6572) ले ४९ मिनेटको भिडियोमा २ घण्टा ५२ मिनेटको विज्ञापन देखेको प्रमाणसहित स्क्रिनशट शेयर गरेका छन् । स्क्रिनशटमा ‘स्किप एड्स’ भन्ने बटन पनि देखिएको छ । यसले विज्ञापन अवरोधक (एड ब्लकर) प्रयोग गरिरहेको हुन सक्ने अनुमान गरिएको छ ।

कतिपय प्रयोगकर्ताहरूले एड ब्लकर प्रयोग गर्दा युट्युबले पत्ता लगाएर लामो विज्ञापन देखाउने गरेको बताएका छन् । एड ब्लकरले विज्ञापनको अवधि बढाउन वा ‘स्किप’ बटनलाई रोक्न सक्ने सम्भावना पनि छ ।

युट्युबले नि:शुल्क प्रयोगकर्ताका लागि लामो विज्ञापन देखाउने नीति लिएको छ । यसका साथै युट्युबले एड ब्लकरलाई पनि निरुत्साहित गर्न खोजेको छ । 

प्रयोगकर्ताहरूसँग विज्ञापन हटाउन युट्युब प्रिमियमको सदस्यता लिने विकल्प छ । तर, यो पनि सबैका लागि सम्भव हुँदैन । त्यसैले विज्ञापन हेर्नु वा युट्युब चलाउन छोड्नु प्रयोगकर्ताका लागि अर्को विकल्प हो ।

यस विषयमा थप जानकारीका लागि एन्ड्रोइड सेन्ट्रलले गुगलसँग सम्पर्क गरेको थियो । गुगलले यस विषयमा प्रतिक्रिया दिंदै भनेको छ, “विज्ञापन युट्युबमा कन्टेन्ट बनाउनेहरूका लागि महत्त्वपूर्ण आम्दानीको स्रोत हो । त्यसैले एड ब्लकरको प्रयोग युट्युबको नियम विपरीत हो । हामी एड ब्लकर प्रयोगकर्ताहरूलाई विज्ञापन हेर्न वा युट्युब प्रिमियमको सदस्यता लिन आग्रह गर्छौं ।”

गुगलले सामान्यतया अनस्किपएबल एड्स (हटाउन नमिल्ने विज्ञापन)को अवधि १५ सेकेन्ड मात्रै हुने बताएको छ । एड ब्लकर प्रयोग गर्ने प्रयोगकर्तालाई युट्युबले कडाइका साथ निगरानी गरिरहेको छ । यदि एड ब्लकरको प्रयोग जारी रहेमा युट्युबले भिडिओ प्लेब्याक नै बन्द गर्न सक्ने चेतावनी दिएको छ ।

यसबाट के अनुमान लगाउन सकिन्छ भने युट्युबले एड ब्लकर प्रयोग गर्ने प्रयोगकर्ताहरूलाई निरुत्साहित गर्नका लागि जानाजानी लामो विज्ञापन देखाएको हुनसक्छ ।

पछिल्लो अध्यावधिक: माघ १२, २०८१ १९:२८