काठमाडौं । मेटाले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म थ्रेड्समा विज्ञापन देखाउने निर्णय गरेको छ । शुक्रबार मेटाले थ्रेड्समा सीमित रूपमा विज्ञापनको प्रारम्भिक परीक्षण सुरु गर्ने घोषणा गरेको हो ।
यस परीक्षणको पहिलो चरण अमेरिका र जापानका केही ब्रान्डहरूसँग मात्रै गरिने कम्पनीले जनाएको छ । इन्स्टाग्रामका प्रमुख एडम मोसेरीका अनुसार, थ्रेड्सको होम फिडमा पोस्टको बीचमा विज्ञापन देखिनेछन् । मेटाले यो परीक्षणबाट प्राप्त हुने प्रतिक्रियाको आधारमा विज्ञापनहरू थप्ने बताएको छ ।
मेटाले प्रयोगकर्तालाई सान्दर्भिक विज्ञापन देखाउन थ्रेड्स र इन्स्टाग्राममा भएका गतिविधिहरू, प्रयोगकर्ताले अन्तरक्रिया गर्ने पोस्ट, ईमेल एड्रेस र मेटा प्रविधि बाहिरका गतिविधिहरू पनि प्रयोग गर्नेछ, जसका बारेमा सपोर्ट पेजमा उल्लेख गरिएको छ ।
थ्रेड्सले विज्ञापनलाई कस्टमाइज गर्ने विकल्प पनि दिनेछ । प्रयोगकर्ताले आफ्नो खाता सेटिङबाट आफूलाई मन नपरेका विज्ञापनहरू स्किप गर्न, लुकाउन वा रिपोर्ट गर्न सक्नेछन् ।
गत अप्रिलमा मोसेरीले थ्रेड्समा विज्ञापन आउने कुरा पुष्टि गरेका थिए । यसअघि, २०२५ को सुरुदेखि विज्ञापन देखिने हल्ला चलेको थियो । यद्यपि, मेटाले सबै प्रयोगकर्तासम्म विज्ञापन कहिले देखाउने भन्ने कुरा भने अझै स्पष्ट गरेको छैन ।