close

सामाजिक सञ्जालमा भ्रामक जानकारी राखे २ वर्ष जेल र ३ लाख जरिवाना

टेकपाना टेकपाना

माघ १५, २०८१ १७:२८

सामाजिक सञ्जालमा भ्रामक जानकारी राखे २ वर्ष जेल र ३ लाख जरिवाना

काठमाडौं । सामाजिक सञ्जालमा अश्लील, मिथ्या वा भ्रामक जानकारी शेयर गरे दुई वर्ष कैद वा तीन लाख रुपैयाँ जरिवाना वा दुवै सजाय हुन सक्ने भएको छ । सोमबार मन्त्रिपरिषदले संसद्मा दर्ता गरेको विधेयकमा यस्तो सजाय व्यवस्था प्रस्ताव गरिएको हो । 

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले तयार पारेको विधेयक अनुसार कसैले सामाजिक सञ्जालमा अश्लील, मिथ्या वा भ्रामक विषयवस्तु प्रसार गर्न पाउनेछैनन् । विधेयकको दफा २५ मा लेखिएको छ, “कसैले सामाजिक सञ्जालको प्रयोग गरी अश्लील शब्द, तस्बिर, सङ्केत, भिडिओ, अडिओ, मिथ्या वा भ्रामक सूचना प्रसार गर्न, त्यस्तो सूचनाको दुष्प्रचार वा तोडमोड वा कमेन्ट गरी प्रसार गर्न हुँदैन ।”

यदि यस्तो गरेको खण्डमा दुई वर्षसम्म कैद सजाय वा तीन लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ ।  

त्यस्तै, डिपफेक भिडिओ अपलोड गर्नेमाथि पहिलो पटक कानुनी व्यवस्था गर्न लागिएको छ । विधेयकको दफा २६ को उपदफा (१) मा यस सम्बन्धी व्यवस्था छ । डिफफेक भन्नाले एआईको प्रयोग गरी कुनै व्यक्तिको अनुहार, आवाज वा हाउभाउलाई नक्कल वा प्रतिस्थापन गरी गलत सूचना प्रवाह गर्ने, अश्लीलता फैलाउने वा चरित्रहत्या गर्ने बुझ्नुपर्ने विधेयकमा उल्लेख छ । यदि डिफफेक भिडिओ प्रसारण गरेको खण्डमा दुई वर्षसम्म सजाय वा तीन लाख रुपैयाँसम्म जरिवाना वा दुई सजाय हुने व्यवस्था प्रस्ताव गरिएको छ ।

पछिल्लो अध्यावधिक: माघ १५, २०८१ १७:३६