काठमाडौं । बढ्दो मिथ्या तथा भ्रामक सूचनाको चुनौतीलाई सम्बोधन गर्ने उद्देश्यले भारतको प्रमुख समाचार एजेन्सी प्रेस ट्रस्ट अफ इन्डिया (पीटीआई) को नेतृत्वमा टेकपाना न्युज रुममा ६ महिने 'फ्याक्ट चेकिङ' (तथ्यजाँच) तालिम सुरु भएको छ ।
इन्टरनेसनल फ्याक्ट-चेकिङ नेटवर्क आईएफसीएनको सहयोग तथा पीटीआई र टेकपानाको सहकार्यमा आयोजित प्रशिक्षण कार्यक्रम हाइब्रिड (अनलाइन तथा भौतिक) मोडेलमा सञ्चालन हुनेछ । तालिममा टेकपानामा आवद्ध कन्टेन्ट क्रियटर र सञ्चारकर्मी सहभागी छन् ।
बिहीबारदेखि टेकपानाको कार्यालयमा सुरु भएको तालिमले विशेषगरी पत्रकारिताको विश्वसनीयता कायम राख्न तथ्यपरक रिपोर्टिङमा महत्त्वपूर्ण भूमिका खेल्नेछ । पीटीआईका डिजिटल सर्भिस तथा फ्याक्ट चेकिङ प्रमुख प्रत्यूष रञ्जन र पीटीआईका फ्याक्ट चेकर आशिषा सिंह राजपुत तालिम प्रशिक्षक छन् ।
७८ वर्षको इतिहास बोकेको पीटीआई भारतको प्रमुख न्युज एजेन्सी हो । यसको सम्पादकीय विभाग भित्र रहेको फ्याक्ट चेकिङ टिमले एजेन्सीको निष्पक्षता र जिम्मेवार रिपोर्टिङ प्रतिको प्रतिबद्धतालाई दर्साउने रञ्जनले बताए ।