काठमाडौं । एप्पलको सस्तो मोडेल आईफोन एसई फोर आगामी साता सार्वजनिक हुने भएको छ । ब्लुमबर्गले आईफोन एसई फोर विशेष फिचरसहित अबको केही दिनमा आउने जानकारी खुलासा गरेको हो ।
ब्लुमबर्गकका प्रविधि पत्रकार मार्क गुरम्यानका अनुसार एप्पलले एसई फोर विशेष कार्यक्रम नगरी सिधै प्रेस विज्ञप्ति जारी गरेर सार्वजनिक गर्ने तयारी गरेको छ । यो नयाँ इन्ट्री-लेभलको आईफोनको सुरुवाती मूल्य ४९९ (करिब ७० हजार रुपैयाँ) डलर हुने अनुमान छ ।
एसई फोर आईफोन १४ जस्तो देखिने अपेक्षा गरिएको छ । त्यसमा ६.१ इन्चको सुपर रेटिना एक्सडीआर ओएलईडी स्क्रिन, नच र उस्तै बटन लेआउट हुने चर्चा छ । यसको पछाडि एउटा ४८ मेगापिक्सलको मुख्य क्यामेरा हुनेछ भने भित्र एप्पलको ए१८ चिपसेट र ८ जीबी र्याम हुनेछ ।
कम्पनीको प्रिमियम सेवा एप्पल इन्टेलिजेन्स सपोर्ट गर्न पनि एसई फोरमा उक्त चिपसेट राखिने बताइएको छ । यो चिपसेट आईफोनको पछिल्लो प्रिमियम संस्करण आईफोन १६ मा प्रयोग भएको छ । आईफोन १६ को जस्तो क्यामेरा कन्ट्रोल, एक्सन बटन वा डाइनामिक आइल्यान्ड यसमा नहुने सम्भावना उच्च छ ।
यस फोनमा यूएसबी-सी पोर्ट हुने अनुमान गरिएको छ । त्यस्तै यसले फाइभजी पनि सपोर्ट गर्ने जनाइएको छ । सस्तोमा आईफोनका स्तरीय फिचर प्रयोग गर्न चाहने प्रयोगकर्तालाई लक्षित गर्दै एप्पलले आईफोन एसई सिरिज ल्याउने गर्छ ।