काठमाडौँ । सरकारले राष्ट्रिय सभामा सामाजिक सञ्जाल विधेयक, २०८१ पेस गरेको छ । आइतबार बसेको राष्ट्रिय सभा बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले उक्त विधेयक पेस गरेका हुन् ।
राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले बैठकमा विधेयकमाथि कुनै पनि विरोधको सूचना नआएको जानकारी गराएका थिए । सरकारले सामाजिक सञ्जालको दुरुपयोग रोक्न र यसको प्रभावकारी नियमन गर्न कानुनी आधार तयार गर्ने उद्देश्यले यही माघ १५ गते संघीय संसद सचिवालयमा विधेयक दर्ता गरेको थियो ।
विधेयक पेस गर्दै सञ्चारमन्त्री गुरुङले प्रस्तावित कानुनले सामाजिक सञ्जालका प्लेटफर्म सञ्चालक र प्रयोगकर्तालाई जवाफदेही बनाउँदै डिजिटल माध्यमको सदुपयोगलाई प्रवर्द्धन गर्ने दाबी गरे । विधेयकमा सामाजिक सद्भाव, सांस्कृतिक सहिष्णुता र सुशासन कायम राख्न आवश्यक व्यवस्थाहरू समेटिएको उनको भनाइ छ ।
विधेयकमा सामाजिक सञ्जालको दुरुपयोग रोक्न विभिन्न प्रावधानहरू राखिएका छन् । कसैको मान प्रतिष्ठामा आँच पुग्ने र होच्याउने नियतले अपमानजनक शब्द, श्रव्यदृश्य, तस्बिरको ट्रोल बनाउने, गाली बेइज्जती वा हेट स्पिच मानिने काम गर्न पाइने छैन । यसो गरेको खण्डमा पाँच लाख रुपैयाँसम्म जरिवाना हुन सक्नेछ । त्यस्तै मिथ्या तथा भ्रामक सूचनाको दुष्प्रचार, सूचना तोडमोड गरी प्रसार गरेमा पनि पाँच लाख रुपैयाँसम्म जरिवाना हुन सक्नेछ ।
सामाजिक सञ्जालमार्फत कसैलाई सताउने, तर्साउने, धम्काउने, लज्जित गराउने, अपमान गर्ने वा अफवाह फैलाउने जस्ता कार्य गरेमा दुई वर्षसम्म कैद वा तीन लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनसक्ने विधेयकमा उल्लेख छ । त्यस्तै, साइबर स्टकिङ गर्नेलाई तीन वर्षसम्म कैद वा पाँच लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजायको प्रस्ताव गरिएको छ ।
कसैको कम्प्युटर प्रणाली वा सामाजिक सञ्जालको पासवर्ड ह्याक गरेमा तीन वर्षसम्म कैद वा १५ लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ । फिशिङ वा इम्पोष्टर स्क्याम गरेमा तीन वर्षसम्म कैद वा १५ लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ । सेक्सटोर्सन गरेमा तीन वर्षसम्म कैद वा १५ लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था गरिएको छ ।
सामाजिक सञ्जालमा बिभत्स तस्बिर वा भिडिओ पोस्ट गरेमा तीन महिनासम्म कैद वा ५० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ । अश्लील सामग्री प्रकाशन गरेमा दुई वर्षसम्म कैद वा तीन लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ । कसैको अनुहार वा आवाजको नक्कल गरी गलत सूचना प्रवाह गरेमा दुई वर्षसम्म कैद वा तीन लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने उल्लेख छ ।
बेनामी वा छद्मभेषी पहिचान बनाएर सामग्री पोस्ट गरेमा तीन महिनासम्म कैद वा ५० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ । यदि बेनामी वा छद्मभेषी पहिचान बनाएर पेज वा ग्रुप सञ्चालन गरी राष्ट्रहित विपरीत काम गर्नेलाई पाँच वर्षसम्म कैद वा १५ लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने उल्लेख छ ।