काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले कूल ३ अर्ब ३५ करोड रुपैयाँ बुझाएका छन् । देशका प्रमुख तीन इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक र भायानेट आव २०८०/०८१ सम्मको सम्पूर्ण दायित्व भुक्तान गरेका हुन् ।
नियामक प्राधिकरणका अनुसार वर्ल्डलिंकले आइतबार २०८०/०८१ को असार मसान्तसम्मको ग्रामीण दूरसञ्चार विकास कोष (आरटीडीएफ) र रोयल्टी गरी दुई अर्ब ८० करोड रुपैयाँ जम्मा गरेको छ । उसले मर्मत सम्भार शुल्क तर्फको दुई अर्ब १५ करोड विवादित बक्यौता यस अघि नै बुझाइसकेको थियो भने भायानेटले त्यस किसिमको बक्यौतासँगै पछिल्लो आवको रोयल्टी र आरटीडीएफ अहिले एकसाथ क्लियर गरेको हो । प्राधिकरणका अनुसार भायानेटले आइतबार सो बापत ५५ करोड जम्मा गरेको छ ।
दुई प्रमुख कम्पनीहरूले बक्यौतासँगै पछिल्लो रोयल्टी र आरटीडीएफ दस्तुर बुझाए पनि अन्य सेवा प्रदायकले भने सो अनुसारको रकम जम्मा गर्न बाँकी छ । विवादित बक्यौता स्वरूप ३१ करोड ३८ लाख रुपैयाँ बुझाएको सुबिसुले आर्थिक वर्ष २०८०/८१ को रोयल्टी र आरटीडीएफ दस्तुर भने बुझाउन बाँकी छ ।
अन्य कम्पनीले विवादित बक्यौतासँगै पछिल्लो आवसम्मको रोयल्टी र आरडीडीएफ केही पनि बुझाएका छैनन् । जसमा वेब सर्फरको करिब १५ करोड, क्लासिक टेक ४० करोड, ब्रोडलिंकको करिब १० करोड र टेक माइन्डको २० करोड रुपैयाँ बक्यौता थुप्रिएको छ ।
सेवा प्रदायकले प्रत्येक आर्थिक वर्षको आफ्नो कूल वार्षिक आम्दानीको ४ प्रतिशत रोयल्टी र २ प्रतिशत आरटीडीएफ दस्तुर पुस मसान्तभित्र बुझाइ सक्नु पर्ने हुन्छ ।