काठमाडौं । भारतका कमेडियन समय रैनाले सञ्चालन गर्ने युट्युब शो ‘इन्डियाज गट ल्याटेन्ट’ एउटा विवादास्पद एपिसोडका कारण विवादमा तानिएको छ । उक्त एपिसोडमा रणवीर अल्लाहबादिया (बियरबाइसेप्स), आशिष चन्चलानी, जसप्रीत सिंह र अपूर्वा मखिजा जस्ता कन्टेन्ट क्रिएटर सहभागी थिए । गुवाहाटी प्रहरीले शोका होस्ट समय रैना र निर्णायक विरुद्ध अश्लीलता फैलाएको र यौनजन्य सामग्री प्रवर्द्धन गरेको आरोपमा एफआईआर (उजुरी) दर्ता गरेको छ ।
विवादको कारण रणवीर अल्लाहबादिया उर्फ बियर बाइसेप्सले दिएको एक आपत्तिजनक टिप्पणी हो । यसले गर्दा उनी सार्वजनिक व्यक्तित्व र सामाजिक सञ्जाल प्रयोगकर्ताहरूबाट व्यापक रूपमा आलोचित भएका छन् ।
उक्त एपिसोडमा बियरबाइसेप्सले एक प्रतियोगीलाई एउटा अनौठो प्रश्न सोधेका थिए- “तपाईं आफ्नो आमाबाबुले जीवनभर यौन सम्बन्ध राखेको हेर्नुहुन्छ वा एक पटक आफू पनि सहभागी भएर सधैंका लागि रोक्नुहुन्छ ?” यो टिप्पणी सामाजिक सञ्जालमा तुरुन्तै भाइरल भयो ।
यसपछि दर्शकहरूले बियरबाइसेप्स र शोका निर्माताहरूले कुनै चेतावनी बिना यस्तो अश्लील सामग्री प्रवर्द्धन गरेको भन्दै विरोध जनाएका छन् ।
लेखक तथा कथावाचक निलेश मिश्राले क्रियटरहरूले युवा दर्शकहरूलाई हानिकार सामग्री बनाएको भन्दै आलोचना गरेका छन् । “यो सामग्री वयस्कका लागि मात्र हो भनेर तोकिएको छैन । यदि एल्गोरिदमले त्यहाँ पुर्यायो भने बच्चाहरूले पनि सजिलै हेर्न सक्छन्,” मिश्राले सामाजिक सञ्जाल एक्समा लेखेका छन् ।
कांग्रेस प्रवक्ता सुप्रिया श्रीनेतले पनि उक्त सामग्रीलाई 'विकृत' भन्दै यस्ता टिप्पणीहरूमा दर्शकहरूले किन ताली बजाए भनेर प्रश्न गरेकी छन् । “यो रचनात्मकता होइन । यो विकृति हो । र हामीले विकृत व्यवहारलाई 'कूल' (Cool) भनेर सामान्य बनाउनु हुँदैन,” उनले भनिन् ।
महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडणवीसले अभिव्यक्ति स्वतन्त्रताले अरूको मर्यादामा आँच पुर्याउन नहुने भन्दै कारबाही हुनसक्ने सङ्केत गरेका छन् ।
भारतका चर्चित कन्टेन्ट क्रियटर ध्रुव राठीले पनि बियरबाइसेप्सको आलोचना गरेका छन् । सामाजिक सञ्जाल एक्समा उनले लेखेका छन्, “आजकल ड्याङ्क कमेडीको नाममा भइरहेको गतिविधि पूर्ण रूपमा निरर्थक छ । यसको एक मात्र उद्देश्य दर्शकलाई स्तब्ध र घृणित महसुस गराएर भ्युज बटुल्नु हो, जसले हाम्रो युवापुस्ताको नैतिक विकासमा विनाशकारी असर पारिरहेको छ । तर, यसलाई नियन्त्रण गर्न सरकारले प्रतिबन्ध लगाउनु कुनै समाधान होइन । किनभने यसले कठोर सेन्सरशिप ल्याउन सक्छ । यसको सट्टा, हामीले कन्टेन्ट क्रियटरलाई राम्रो र अर्थपूर्ण सामग्री बनाउन प्रेरित गर्नुपर्छ ।”
राठीले 'इन्डियाज गट ल्याटेन्ट' जस्ता शो र 'एनिमल' जस्ता फिल्मलाई सामाजिक पतनको संज्ञा दिएका छन् ।
गुवाहाटी प्रहरीले समय रैना, रणवीर अल्लाहबादिया (बियरबाइसेप्स), आशीष चन्चलानी, जसप्रीत सिंह, अपूर्वा मखिजा लगायत शोका सबै जजविरुद्ध भारतीय न्याय संहिता (बीएनएस) को धेरै धाराहरू अन्तर्गत एफआईआर दर्ता गरेको छ । आसामका मुख्यमन्त्री हिमन्त बिस्वा सरमाले सामाजिक सञ्जाल एक्समा पोस्ट राख्दै यसको पुष्टि गरेका छन् । सरमाले भने, “एफआईआरमा उनीहरूमाथि अश्लीलता फैलाएको र यौनजन्य छलफलमा संलग्न भएको आरोप लगाइएको छ ।”
यसैबीच मुम्बई प्रहरीले पनि शो रेकर्ड गरिएको खार स्टुडियोमा थप अनुसन्धानका लागि छापा मारेको छ ।
बियरबाइसेप्सले मागे माफी
आलोचनापछि रणवीर अल्लाहबादियाले सार्वजनिक रूपमा माफी मागेका छन् । उनले आफ्नो टिप्पणी अनुपयुक्त र हास्यहीन भएको स्वीकार गरेका छन् ।
उनले अनलाइनमा एउटा भिडिओ पोस्ट गर्दै भनेका छन्, “मेरो टिप्पणी अनुपयुक्त मात्र होइन हास्यास्पद पनि थिएन । कमेडी मेरो क्षमताभन्दा बाहिरको कुरा हो । म यहाँ माफी माग्न आएको हुँ ।”
उनले आफ्नो निर्णयमा कमजोरी भएको स्वीकार गर्दै यसबाट सिक्ने वाचा गरेका छन् । परिवारलाई अपमान गर्ने वा आपत्तिजनक सामग्री प्रवर्द्धन गर्ने आफ्नो कुनै मनसाय नभएको उनको भनाइ छ । उनले सो भिडिओमा आफूले बोलेको विवादास्पद टिप्पणी हटाउन लगाउने बताएका थिए । त्यस लगत्तै भिडिओ युट्युबबाट गायब भएको छ । भिडिओ युट्युबले हटाएको हो वा यसका निर्माताले हटाएका हुन् भन्ने पुष्टि भइसकेको छैन ।
उनको यस अभिव्यक्तिपछि उनलाई सामाजिक सञ्जालमा अनफलो गर्ने अभियान नै चलेको छ । सामाजिक सञ्जाल इन्स्टाग्राम र युट्युबमा उनलाई धेरैले अनफलो गर्न थालेका छन् । उनले युट्युबमा लाखौं सब्सक्राइबर गुमाएका छन् भने यो क्रम जारी छ ।
यसैबीच बियरबाइसेप्सको पोडकास्टका लागि बोलाइएका गायक बी प्राक त्यहाँ नजाने भएका छन् । उनको अभिव्यक्तिबाट आफू दुःखी भएको भन्दै उनले तय भइसकेको कार्यक्रम रद्द गरेका हुन् । यसलाई सामाजिक सञ्जाल प्रयोगकर्ताले बियरबाइसेप्सको करिअर धरापमा परेको रूपमा हेर्न थालेका छन् ।
नेपालमा पनि समय समयमा यस्ता कार्यक्रम आइरहेका हुन्छन् । पारिवारिक शोका नाममा ल्याइने कार्यक्रममा अश्लीलता प्रदर्शन गर्ने गरेको आरोप केही नेपाली शोहरू लाग्ने गरेको छ ।