close

रिमोटमार्फत पानसमा बालिएको आगो बेलुनमा सल्किएपछि विस्फोट, अर्थमन्त्री पौडेल र मेयर आचार्य घाइते

टेकपाना टेकपाना

फागुन ३, २०८१ १५:५

रिमोटमार्फत पानसमा बालिएको आगो बेलुनमा सल्किएपछि विस्फोट, अर्थमन्त्री पौडेल र मेयर आचार्य घाइते

काठमाडौं । अहिले सामाजिक सञ्जालका विभिन्न माध्यममा पोखरा भ्रमण वर्ष २०२५ को लोगो अनावरण गर्ने क्रममा निम्तिएको दुर्घटनाको भिडिओ शेयर भइरहेको छ । भिडिओमा प्रस्तोता भनिरहेका हुन्छन्, “...पोखरा भ्रमण वर्ष २०२५ को हामी लोगो अनावरण गर्दैछौं । र, यसलाई पनि स्विच अन गरेर रिमोटबाट हामी बेलुन उडाउँछौं ।”

त्यहाँ ‘क्यान्डल स्पार्कल्स’ अर्थात् आगोको झिल्का आउने क्यान्डल बलिरहेको हुन्छ । भिडिओमा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य क्यान्डलतिर आउँछन् । त्यसपछि सँगै एक व्यक्ति बेलुन पनि ल्याउँछन् । मेयर आचार्य स्विच थिच्न गइरहेका हुन्छन्, तर आगोको झिल्का बेलुनमा पर्छ । हेलियम भरिएको बेलुनमा आगो परेपछि विस्फोट हुन्छ । 

त्यसपछि उद्घोषक भन्छन्, “प्राविधिक कारणले…।” 

अहिले उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल र मेयर आचार्य घाइते भएको समाचार बाहिर आएको छ । 

जिल्ला प्रहरी कार्यालय कास्कीका एक अधिकारीले यस घटनामा अनुसन्धान भइरहेको जानकारी दिए । “हामी घटनास्थलमै छौं । कसरी दुर्घटना भएको अध्ययन गरिरहेका छौं,” उनले भने, “अर्थमन्त्री ज्यूलाई हेलिकप्टरमा राखेर काठमाडौं लगिएको छ । मेयर ज्यूलाई पनि काठमाडौं लैजाने तयारी भइरहेको छ ।”

सावधानी नअपनाउँदा दुर्घटना भएको भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ताले आयोजकको आलोचना गरेका छन् ।

पछिल्लो अध्यावधिक: फागुन ३, २०८१ १७:२४