close

इन्स्टाले ल्यायो कमेन्ट चित्त नबुझे डिसलाइक गर्न मिल्ने फिचर

टेकपाना टेकपाना

फागुन ४, २०८१ १२:३५

इन्स्टाले ल्यायो कमेन्ट चित्त नबुझे डिसलाइक गर्न मिल्ने फिचर

काठमाडौं । मेटाको स्वामित्वमा रहेको सामाजिक सञ्जाल एप इन्स्टाग्रामले कमेन्ट डिसलाइक गर्ने फिचर सुरु गरेको छ । कम्पनीले हालै मात्र परीक्षणमा रूपमा यस्तो फिचर ल्याएको हो ।

न्यूयोर्क पोस्टका अनुसार हालसम्म कम्पनीले औपचारिक रूपमा कमेन्ट डिसलाइक गर्ने फिचर घोषणा गरेको छैन । यो फिचर केही सीमित प्रयोगकर्तामाझ उपलब्ध छ । फिचर उपलब्ध भएका प्रयोगकर्ताको डिभाइसबाट इन्स्टाग्राम पोस्ट हेर्दा त्यसको कमेन्टमा डाउन एरो (तलतिर फर्किएको एरो) समावेश गरिएको देख्न सकिन्छ । त्यसमा दायाँपट्टि लाइक र वायाँपट्टिको अप्सन देख्न सकिन्छ । यद्यपि त्यसमा क्लिक गर्दा सङ्ख्या भने देख्न सकिंदैन । अर्थात् कति जनाले डिसलाइक गरे भन्ने देखाउँदैन । 

परीक्षणका रूपमा आएको यस फिचरको अहिले चर्को आलोचना भइरहेको छ । “अब तपाईंले इन्स्टाग्राममा कमेन्ट डाउनभोट/डिसलाइक गर्न सक्नुहुन्छ । तर, के हो ? इन्स्टाले किन राख्यो यो फिचर ?,” एक प्रयोगकर्ताले लेखेका छन् । 

अर्का एक प्रयोगकर्ता लेख्छन्, “यो फिचर कसलाई चाहिएको थियो र इन्स्टाग्रामले ल्यायो ? यसको औचित्य के हो ?”

कमेन्टबाट नकारात्मक जानकारी दिने प्रयोगकर्तालाई निरुत्साहित गर्न यो फिचर सुरु गरेको केही प्रयोगकर्ताको अड्कल छ । बढी लाइक आउँदा उक्त कमेन्ट शीर्ष स्थानमा देखिन्छ । त्यसले गर्दा धेरैले उक्त कमेन्ट देख्छन् । र, त्यही अनुसार आफ्ना धारणा विकास गर्छन् । कमेन्टलाई डाउनभोट वा डिसलाइक गर्दा त्यो शीर्ष स्थानमा देखिने सम्भावना कम हुने विश्लेषण गरिएको छ ।  

तर, राम्रा कमेन्टको हकलाई भने यो फिचरले ठूलो असर पार्ने केही प्रयोगकर्ताको चिन्ता छ । यसले साइबर बुलिङका घटना निम्त्याउन सक्ने भन्दै यो फिचर त्यति प्रभावकारी नहुने प्रयोगकर्ताको भनाइ छ ।

पछिल्लो अध्यावधिक: फागुन ४, २०८१ १२:३७