काठमाडौं । नेपाल भाषाको लवजमा गीत गाएर गायक कुमा सागरलाई जिस्काएको भन्दै आलोचना भएपछि कमेडियन सजन श्रेष्ठले माफी मागेका छन् । फेसबुकमा एक भिडिओ राख्दै श्रेष्ठले माफी मागेका हुन् ।
भिडिओमा उनले कुमा सागरको गीतलाई नेवारी लवजमा गाएका थिए, जसलाई धेरैले कुमा सागरलाई जिस्काएको रूपमा बुझेका थिए । यस विषयमा सजनले भनेका छन्, “मैले कुमा सागर जीलाई जिस्काएर गाएको भनेर बुझ्नु भएछ । तर, म आफैँ पनि कुमा सागर जीको ठूलो फ्यान हुँ ।”
उनले कुमा सागरलाई जिस्काउने आफ्नो कुनै मनसाय नरहेको स्पष्ट पारे । “मेरो इन्टेन्सन उहाँलाई हर्ट गर्ने कदापि पनि होइन, किनकि उहाँ मेरो फेभरेट आर्टिस्ट हो,” उनले भने, “मैले यो भिडिओ बनिसकेपछि मात्र भनेको होइन, अरू ठाउँमा पनि धेरैचोटि भनिसकेको छु ।”
सजनले कुमा सागरसँग यस विषयमा कुरा गरिसकेको पनि जानकारी दिए । “पाँच दिन अगाडि मैले उहाँसँग कुरा गरेर माफी मागेको थिएँ,” उनले भने, “उहाँले पनि ‘हुन्छ, मैले तपाईँको कुरा बुझेँ, अबदेखि नगर्न’' भन्नुभएको थियो ।”
आफूले नेवारी लवजको मजाक नउडाएको पनि उनले बताए । “म आफैँ नेवार हुँ, मेरो घरमा पनि बुवा-आमा त्यसरी नै बोल्नुहुन्छ,” उनले भने, “त्यसैले मेरो कुनै पनि इन्टेन्सन नेवारी भाषाको मजाक उडाउने थिएन ।”
उनले कुमा सागरका फ्यानसँग पनि माफी मागेका छन् । “तपाईँहरुको सेन्टिमेन्ट हर्ट भयो भने म एकदमै धेरै माफी चाहन्छु,” उनले भने, “कुमा सागरलाई जिस्काउने मेरो नियत थिएन ।”
सजनले उक्त विवादित भिडिओ सामाजिक सञ्जाल र युट्युबबाट हटाइसकेको जानकारी दिए । साथै, पहिले डाउनलोड गरेर राखेका पेजहरूलाई पनि हटाउन आग्रह गरिरहेको बताए । “यो इस्युलाई धेरै ठूलो नबनाइदिनुहोला,” उनले भने ।