ओडिसामा आईटी पढिरहेकी प्रकृति लम्सालको रहस्यमयी मृत्युपछि अवस्था तनावग्रस्त
फागुन ५, २०८१ १६:२१
तस्बिर: ओडिसा टिभी
काठमाडौं । भारतको ओडिसास्थित एक विश्वविद्यालयमा अध्ययनरत नेपाली छात्राको मृत्यु भएपछि त्यहाँको वातावरण तनावग्रस्त बनेको छ । कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा बीटेक तेस्रो वर्षमा अध्ययनरत बुटवलकी प्रकृति लम्साल आइतबार आफ्नो होस्टेलमा मृत भेटिएकी हुन् ।
प्रहरीले प्रारम्भिक अनुसन्धानमा आत्महत्याको आशंका गरेपनि लम्सालका साथीहरूले मृत्युको कारण अर्कै भएको दाबी गरेका छन् । उनीहरूका अनुसार लम्साल लामो समयदेखि एक सहपाठी (पूर्व प्रेमी)बाट मानसिक र शारीरिक यातना सहन बाध्य थिइन् । यस सम्बन्धमा प्रकृतिले विश्वविद्यालय प्रशासनलाई जानकारी गराए पनि कुनै सुनुवाइ नभएको उनीहरूको आरोप छ ।
मृत्युको खबर फैलिएपछि विद्यार्थीहरूले क्याम्पस परिसरमा प्रदर्शन गरेका थिए । उनीहरूले निष्पक्ष छानबिनको माग गर्दै क्याम्पस प्रशासनको लापरबाहीको विरोध गरेका थिए । तर, प्रशासनले उल्टै विद्यार्थीहरूलाई क्याम्पस छोड्न निर्देशन दिएको छ ।


विश्वविद्यालयका अधिकारीले अवस्थालाई सामान्य बनाउन छलफल गरेर नेपाली विद्यार्थीहरूलाई घर पठाइएको बताएका छन् । “परिस्थितिलाई ध्यानमा राख्दै नेपाली विद्यार्थीहरूलाई उनीहरूको घर फर्काइएको छ। अहिले स्थिति सामान्य छ,” केआईआईटी विश्वविद्यालयद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ ।

एक एक्स प्रयोगकर्ता @Twi_Swastideep ले एउटा भिडियो शेयर गर्दै नेपाली विद्यार्थीहरूमाथि दमन भएको बताएका छन् । उनले लेखेका छन्, “केआईआईटीका सुरक्षा गार्डहरूले प्रदर्शन गरिरहेका नेपाली विद्यार्थीहरूलाई कुटपिट गरेका छन् ।”
🚨Shocking 🚨
— CricFreak69 (@Twi_Swastideep) February 17, 2025
KIIT personal security guards are beating up some Nepali Students while they are protesting peacefully about the suicide case.#kiituniversity #PrakritiLamsal
Video 👇🏻 pic.twitter.com/p3VDUMjJ1O
भारतीय सञ्चार माध्यमका अनुसार विद्यार्थीलाई दुईवटा बसमा भएका नेपाली विद्यार्थीहरूलाई सोमबार कट्टक रेल्वे स्टेशनमा झारिएको छ। “हामीलाई छात्रावास खाली गर्न भनियो र रेल्वे स्टेशनमा छोडियो। हाम्रो परीक्षा फेब्रुअरी २८ मा थियो ।” एक नेपाली विद्यार्थीले कट्टक रेल्वे स्टेसनमा सञ्चारकर्मीहरूसँग भनेका छन् । उनीहरूले आफूहरूलाई कति समयका लागि सस्पेन्ड गरिएको जानकारी नभएको र अब के गर्ने भन्ने विषयमा अन्यौलता भएको बताएका छन् । एक विद्यार्थीले भने, “अब फेरि कलेज जान पाइन्छ कि पाइँदैन पनि थाहा छैन ।”
यता प्रकृतिको पूर्वप्रेमी अद्विक श्रीवास्तव पक्राउ परेका छन् । प्रहरी अधिकारीका अनुसार हाल उनको सोधपुछ भइरहेको छ । यस्तै प्रकृतिको मृत्युबारे परिवारलाई जानकारी गराइएको प्रहरीले जनाएको छ । परिवारका सदस्य नआउन्जेलका लागि शवलाई शव गृहमा राखिएको र कोठा सिल गरिएको बताइएको छ ।
यस घटनाले ओडिसामा रहेका अन्य नेपाली विद्यार्थीहरूको सुरक्षामाथि पनि प्रश्न उठाएको छ । विद्यार्थीहरूले आफूहरू असुरक्षित महसुस गरेको र क्याम्पस प्रशासनले घटनालाई सामान्य रुपमा लिएको आरोप लगाएका छन् ।
यसैबीच, प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले घटनालाई गम्भीरतापूर्वक लिएको र कुटनीतिक तवरबाट यसको छानबिन गर्ने बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत सरकारले घटनाबारे जानकारी लिएको र आवश्यक कदम चाल्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
“भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयको होस्टेलमा एकजना नेपाली छात्राको मृत्यु भएको र नेपाली विद्यार्थीलाई होस्टेलबाट जबर्जस्ती निकालेको कुरा मिडिया र सामाजिक सञ्जाल मार्फत जानकारीमा आएको छ । यस विषयमा सरकारले कूटनीतिक तवरले बुझ्दै सम्पर्कमा रहेर काम गरिरहेको छ,” ओलीले लेखेका छन् ।
पछिल्लो अध्यावधिक: फागुन ५, २०८१ १६:४७
