close

अदालतको आदेशपछि ‘लाज शरणम्’ को टिजर युट्युबमा प्राइभेट, प्रचारप्रसार ठप्प

टेकपाना टेकपाना

फागुन ७, २०८१ १७:५२

अदालतको आदेशपछि ‘लाज शरणम्’ को टिजर युट्युबमा प्राइभेट, प्रचारप्रसार ठप्प

काठमाडौं । अदालतले चलचित्र ‘लाज शरणम्’ को प्रचारप्रसार रोक्ने आदेश दिएसँगै फिल्मको टिजर युट्युबमा हेर्न नमिल्ने बनाइएको छ । जनवरी ३० मा सार्वजनिक गरिएको फिल्मको टिजर युट्युबमा खोज्दा भेटिँदैन ।

‘लाज शरणम्’ को फेसबुक पेजमा शेयर गरिएको चलचित्रको टिजरको लिङ्क खोलेर हेर्दा उक्त भिडिओ प्राइभेट भएको पाइन्छ । जसमा ‘दिस भिडिओ इज प्राइभेट’ भन्ने सन्देश देखिन्छ ।

महाशिवरात्रिको अवसर पारेर फागुन १४ गतेदेखि प्रदर्शनमा आउने भनिएको चलचित्र प्रदर्शन मिति नजिकिँदै गर्दा प्रचारप्रसार नै रोकिएको छ ।

चलचित्रको टिजर र पोस्टरमा सीताराम कट्टेल ‘नेता’को लुक्समा देखिएका छन् । पूर्वमन्त्री मोहम्मद आफ्ताब आलमले चलचित्रमा आफ्नो अनुहारसँग मिल्ने मुखाकृति, पहिरन, जीउडाल, कपाल मिलाई शैली, हाउभाउ र लवज आफ्नो अनुमतिबिना प्रयोग गरिएको भन्दै उच्च अदालत पाटनमा रिट दायर गरेका थिए ।

उक्त रिटमा प्रारम्भिक सुनुवाइपछि मंगलबार अदालतले चलचित्रको प्रचारप्रसार नगर्न अन्तरिम आदेश जारी गरेको थियो । अदालतले केन्द्रीय चलचित्र जाँच समितिले अनुमति नदिँदासम्म फिल्मको प्रचारप्रसार गर्न र प्रचार सामग्री सार्वजनिक गर्न रोक लगाएको छ ।

‘लाज शरणम्’ को निर्माण पक्षले बुधबार चलचित्रको अफिसियल ट्रेलर सार्वजनिक गर्ने तयारी गरेको थियो । तर, अदालतको आदेशसँगै ट्रेलर पनि अनिश्चित भएको छ ।

यसअघि चलचित्रको प्रचारप्रसार गर्ने उद्देश्यका साथ काठमाडौं महानगरपालिकाका प्रमुख तथा र्‍यापर बालेनको स्वरमा ‘नेपाल हाँसेको’ गीत सार्वजनिक भएको थियो । उक्त गीत अपलोड भएको १९ घण्टा नपुग्दै युट्यबको ट्रेन्डिङ नम्बर १ मा परेको थियो ।

सरोज लामिछाने र सुनितामी परियारको स्वरमा सोमबार चलचित्रको अर्को प्रमोसनल गीत सार्वजनिक भएको छ । रोलेक्स द गड फादर अर्थात् अर्जुन देव पाण्डेको आवाजमा मंगलबार ‘भोले बम बम’ बोलको गीत सार्वजनिक भएको छ । तर अदालतका आदेशपछि चलचित्रको प्रचारप्रसार ठप्प भएको छ ।

यता अदालतको आदेश आएसँगै सामाजिक सञ्जालमा विरोध हुन थालेको छ । कतिपय फिल्म निर्माता र कलाकारले समेत उक्त आदेशप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

यसैबीच नेपाल चलचित्र निर्देशक समाजले अदालतको आदेशले सिर्जनशील सर्जकलाई नराम्रोसँग झस्काएको प्रतिक्रिया दिएको छ । चलचित्र अभिव्यक्तिको माध्यम भएको र यसले समाजका विभिन्न पात्र र प्रवृत्तिलाई लिएर कथानक स्वरूप दिने गरेको निर्देशक समाजको भनाइ छ । 

लाज शरणम्‌का फाट्टफुट्ट प्रचार सामग्रीका भरमा चलचित्रमाथि अंकुश लगाउने निवेदकको मनसाय अनुरूप आदेश जारी हुँदा चलचित्रको करोडौं लगानी जोखिममा परेको निर्देशक समाजको आरोप छ । 

“यसअघि पनि चलचित्र क्षेत्रलाई विभिन्न रूपमा आक्रमण गर्ने, चलचित्र क्षेत्रलाई नै नकारात्मक प्रभाव पार्ने गतिविधिको पनि घोर भर्त्सना गर्दै भविष्यमा आउन सक्ने सम्भावित चुनौतीलाई मध्यनजर गरी परिपक्वताको साथ काम गर्न पनि सम्बन्धित सबैमा हार्दिक अनुरोध गर्दछौं,” निर्देशक समाजको विज्ञप्तिमा भनिएको छ । 

कुमार कट्टेलको निर्देशनमा बनाइएको चलचित्रमा सीताराम कट्टेल, विजय बराल, अर्जुन घिमिरे, मुकुन्द श्रेष्ठ, महेश त्रिपाठी, विजय बराल, अर्पण थापा, माला लिम्बू, सागर लम्साल, हरिष निरौला, कमलमणि नेपाललगायतको अभिनय छ । चलचित्रलाई नवीन श्रेष्ठले निर्माण गरेका हुन् । चलचित्रका कार्यकारी निर्माता अर्जुन घिमिरे (पाँडे) हुन् भने राम नरेश शाह र सृजना खड्का सहनिर्माता हुन् ।

पछिल्लो अध्यावधिक: फागुन ७, २०८१ १८:२०