काठमाडौं । सन् २०१८ देखि ‘नेपाल रिभाइभ्स’ युट्युब च्यानलमा जानकारीमूलक भिडिओ अपलोड गर्दै आएका सचिन गिरी साधारण, तर अर्थपूर्ण डिजाइनका प्रशंसक हुन् । विशेषगरी आफ्ना भिडिओमा उनी यही दर्शनलाई पछ्याउँछन् । विगत छ वर्षदेखि कन्टेन्ट क्रियटरका रूपमा काम गर्दा नेपाली क्यालेन्डर एपमा अन्य सुविधा थपेर ‘सुपर एप’ बनाउने प्रवृत्ति सचिनलाई खासै मन परेको थिएन । सुपर एपको अवधारणाप्रति उनको विमति नभए पनि पात्रो एप विशुद्ध रूपमा पात्रो नै हुनुपर्छ भन्ने उनको धारणा थियो ।
यही विचार सचिनले आफ्ना साथी स्वदेश नेपाललाई सुनाए । स्वदेश उता ‘ब्ल्याक टेक प्रालि’ नामक कम्पनी चलाइरहेका थिए । कुराकानीमा सचिनले कन्टेन्ट अपलोड गर्ने जिम्मा लिए भने स्वदेशले एप डेभलपमेन्टको ।
सचिन भन्छन्, “मलाई एउटा यस्तो क्यालेन्डर एप बनाउने धोको थियो, जुन केवल क्यालेन्डर मात्र होस् । अनावश्यक फिचरहरू थप्दा त्यसको महत्त्व नै हराउँछ जस्तो लाग्थ्यो ।”
एप बनाउने योजना बनेपछि, सचिनले बजार विश्लेषण सुरु गरे । उनले आफूले चाहेको जस्तै विशुद्ध क्यालेन्डर एप अरूलाई पनि चाहिएको छ कि छैन भनेर बुझ्न खोजे । अध्ययनका क्रममा प्रयोगकर्ता पात्रोसँग सम्बन्धित एपमा अनावश्यक विज्ञापन र फिचरले हैरान भएको पाए । उनी सम्झन्छन्, “धेरै पपअप नोटिफिकेसन र विज्ञापनले गर्दा प्रयोगकर्ताहरूले पात्रो एप चलाउँदा राम्रो अनुभव गरिरहेका थिएनन् । त्यसैले एउटा सरल इन्टरफेस भएको एप बनाउनु एकदमै जरुरी छ भन्ने महसुस भयो ।”
यसरी स्वदेशले एप डेभलपमेन्ट काम थालेपछि सचिन त्यसका लागि आवश्यक सामग्री र तथ्याङ्क जुटाउनतर्फ लागे । ज्योतिष शास्त्रमा गहिरो रूचि भएकाले पनि एउटा राम्रो पात्रो एप बनाउने धोको उनको मन थियो । त्यसैलाई साकार पार्न उनले अध्ययनबाट फेला पारेका तथ्य स्वदेशलाई देखाए, जुन स्वदेशलाई पनि निकै मन पर्यो । यसरी महिनौंको मेहनतपछि उनीहरूले २७ सेप्टेम्बर २०२४ मा 'सिम्पल पात्रो' नामको एप गुगल प्ले स्टोर र एप्पल एपस्टोरमा सार्वजनिक गरे ।
एपमा कुनै कमी नहोस् भन्ने उद्देश्यले एकजना विज्ञ ज्योतिषीलाई पनि आफ्नो टोलीमा समावेश गरेको सचिन बताउँछन् । उनी भन्छन्, “हामीले राखेका सबै तथ्याङ्क सही छन् कि छैनन् भनेर जाँच्नको लागि एकजना ज्योतिषी हुनुहुन्छ । उहाँले पात्रोका सबै पक्षहरूको निरन्तर निगरानी गरिरहनुहुन्छ ।”
सिम्पल पात्रोमा के छन् फिचर ?
यो एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् । एप डाउनलोड गरिसकेपछि सिधै पात्रो खुल्छ, अकाउन्ट बनाउने झन्झट हुँदैन । यद्यपि धेरै प्रयोगकर्ताहरू जोडिएपछि उनीहरूको डेटाको आधारमा थप उपयोगी फिचरहरू थप्ने सचिन र स्वदेशको योजना छ । तर हाललाई भने यसलाई यत्तिकै निरन्तरता दिने उनीहरूको सोच छ ।
एपको होमपेजमा आकर्षक फन्टमा पात्रो देखिन्छ । तपाईंको मोबाइलको थिम अनुसार नै एपको थिम पनि परिवर्तन हुन्छ । माथि बीचमा सर्च बार छ, जहाँ क्लिक गरेर आफूले खोजेको पर्व वा तिथि मिति सजिलै पाउन सकिन्छ । त्यसको दायाँपट्टि वि.सं. र ई.सं. को विकल्प रोज्न पाइन्छ । सुरुमा वि.सं. नै छनोट भएको हुन्छ । यदि तपाईंलाई ई.सं. को पात्रो चाहिएमा त्यो विकल्प छनोट गर्न सक्नुहुन्छ।
त्यसपछि तल पात्रो देखिन्छ । प्रत्येक दिनको तिथि थाहा पाउनका लागि त्यहाँ दिइएको मितिमा ट्याप गर्नुहोस् । उदाहरणका लागि यदि तपाईंले आजको मितिमा ट्याप गर्नुभयो भने शुभ साइत, दिवस, लाभादि बेला, पञ्चाङ्ग आदि जानकारीहरू हेर्न सक्नुहुन्छ ।
त्यसको मुनि आजको मिति देखिन्छ । त्यसभन्दा अलिकति तल विदाका दिनहरू, मिति परिवर्तन, रेडियो र मुहूर्त जस्ता विकल्पहरू उपलब्ध छन् । अनि त्यसभन्दा तल चाहिँ त्यो महिनामा आउने चाडपर्व र विशेष दिनहरूको जानकारी दिइएको छ । ‘भ्यु अल’ भन्ने अप्सनमा ट्याप गरेर सबै चाडपर्व र दिवसहरूको सूची हेर्न सकिन्छ ।
तलको बारमा दोस्रो विकल्प पात्रोको ग्रिड भ्यू हो । यदि तपाईं एकै पटकमा १२ महिनाको पात्रो हेर्न चाहनुहुन्छ भने यो विकल्प रोज्न सक्नुहुन्छ । त्यहाँ कुनै महिना छनोट गर्नुभयो भने त्यस महिनाका अन्य दिनहरूको जानकारी होमपेजमा देखिन्छ । त्यसैगरी बारको तेस्रो अप्सनमा राशिफल छ, जहाँ तपाईं आफ्नो राशि छनोट गरेर दैनिक, साप्ताहिक, मासिक र वार्षिक राशिफल हेर्न सक्नुहुन्छ ।
बारको अन्तिममा दायाँतर्फ तीन ओटा डटहरू छन् । त्यसमा ट्याप गर्दा एपको सेटिङ खुल्छ । त्यहाँ तपाईंले स्टिकी डेट नोटिफिकेसनको विकल्प सक्रिय गर्न सक्नुहुन्छ । यो सक्रिय गरेपछि तपाईंले आफ्नो मोबाइलको नोटिफिकेसनमा आजको दिनको जानकारी पाउनुहुनेछ । साथै सेटिङबाटै थिम, भाषा र सुरु हुने पेज छनोट गर्न सक्नुहुन्छ । यसबाहेक एपको बारेमा थप जानकारी लिन, सुझाव पठाउन र एपको रिभ्यु गर्न पनि सक्नुहुन्छ ।
पात्रोसँग सम्बन्धित धेरैजसो एपमा समाचार राख्ने चलन छ । तर, सचिन भने आफ्नो एपमा समाचार राख्न चाहँदैनन् । उनी भन्छन्, “समाचार कत्तिको उपयोगी फिचर हो भन्ने विषयमा अझै अनुसन्धान गर्नुपर्ने हुन्छ । हाम्रो प्रारम्भिक अनुसन्धानले धेरै प्रयोगकर्तालाई समाचारसँग कुनै सरोकार नहुने देखाएको छ ।”
आजकल सामाजिक सञ्जालमा समाचार सजिलै पाइन्छ, त्यसैले समाचारका लागि छुट्टै स्रोत खोज्नुपर्ने अवस्था छैन । त्यसैले एउटै पात्रो एपबाट सबै समाचार दिनुपर्छ भन्ने उनको मान्यता छैन । उनी भन्छन्, “पात्रो हेर्न एप डाउनलोड गरेको हुन्छ, तर समाचारमा रुचि नभएका मान्छेहरूलाई पनि जबर्जस्ती समाचार देखाएर अनुभव खल्लो बनाउनुको अर्थ छैन ।”
आम्दानी गर्ने विकल्प के छ अनि अबको बाटो ?
पात्रो एपमा आम्दानीको मुख्य स्रोत विज्ञापनलाई मानिन्छ । तर सचिन र स्वदेशले यही स्थापित मान्यतालाई चुनौती दिँदै आफ्नो एप सञ्चालन गरिरहेका छन् । उनीहरू विज्ञापनको सट्टा फरक आम्दानीका उपाय खोजिरहेका छन् । सचिन भन्छन्, “हामीले बेसिक फिचर सधैं निःशुल्क दिन्छौं, तर प्रिमियम फिचरहरू ल्याउँछौं । ती फिचर सबैका लागि नभए पनि केही प्रयोगकर्तालाई अपरिहार्य लाग्नेछन् । विशेषगरी ज्योतिष शास्त्रसँग सम्बन्धित फिचर ल्याउने हाम्रो योजना छ ।”
विजेट डेभलप गर्ने, अहिलेका फिचरलाई स्तरीय बनाउने, कुण्डलीसँग सम्बन्धित फिचर थप्ने, आईओएस भर्सनको स्तरोन्नति गर्ने र डेट नोटिफिकेसनलाई सुधार गर्ने उनीहरूको रणनीति छ। “हामीले बरू दुई वा तीन वर्षपछि बन्दै गर्न किन नपरोस्, एपमा विज्ञापन राख्दैनौं । यसलाई सस्टेन गर्न आम्दानी त चाहिन्छ, तर हामी आम्दानीका फरक मोडालिटीमा निर्भर छौं,” उनी दृढताका साथ भन्छन् ।