काठमाडौं । नेपाली बजारमा पहिलो पटक एचएमडी ब्राण्डको स्मार्टफोन भित्रिएको छ । नेपालका लागि एचएमडीको आधिकारिक बिक्रेता टेलिटक प्रालिले आइतबार एचएमडी क्रेस्ट फाइभजी (HMD Crest 5G) सार्वजनिक गरेको हो ।
यो स्मार्टफोनको पछाडि ५० मेगापिक्सलको डुअल एआई क्यामरा सेटअप छ भने ५० मेगापिक्सलकै सेल्फी क्यामेरा दिइएको छ । स्मार्टफोनले फोटोग्राफीमा नयाँ मानक स्थापित गर्ने कम्पनीको दाबी छ ।
कम्पनीका अनुसार हातको इशाराले नै फोटो खिच्न सकिन्छ । टोन कन्ट्रोल तथा ब्युटिफाइ मोड जस्ता सुविधाले फोटो अझ आकर्षक बनाउने कम्पनीको भनाइ छ ।
एचएमडी क्रेस्टमा ६.६७ इन्चको फुल एचडी प्लस ओएलईडी डिस्प्ले रहेको छ । सामाजिक सञ्जाल प्रयोग तथा भिडिओ हेर्न यो फोनले उत्कृष्ट अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ । यसमा ५००० एमएएच क्षमताको ब्याट्री दिइएको छ, जुन ८०० चार्जिङ साइकलसम्म टिक्न सक्छ । साथै, यसले ३३ वाटको फास्ट चार्जिङ सपोर्ट गर्छ ।
स्मार्टफोनमा १२ जीबी र्याम (६ जीबी फिक्स्ड + ६ जीबी भर्चुअल) तथा १२८ जीबी स्टोरेज उपलब्ध छ ।
कम्पनीका अनुसार स्मार्टफोनमा ५१०,००० एन्टुटु स्कोरसहितको युनिसोक टी७६० फाइभजी (६एनएम, अक्टा-कोर प्रोसेसर) राखिएको छ । यसले फास्ट र प्रभावकारी प्रदर्शन प्रदान गर्ने कम्पनीको दाबी छ ।
एचएमडी क्रेस्टमा रिपेयरेबिलिटी १.० टेक्नोलोजी रहेको छ । यसले ब्याक प्यानल, ब्याट्री डिस्प्ले तथा चार्जिङ पोर्ट प्रयोगकर्ताले नै सजिलै परिवर्तन गर्न सक्ने बनाएको छ ।
नेपाली बजारमा मिडनाइट ब्लू रङमा एचएमडी क्रेस्ट फाइभजी स्मार्टफोनको मूल्य १८ हजार ९९९ रुपैयाँ तोकिएको छ ।