काठमाडौं । सर्वोच्च अदालतले प्रधानन्यायाधीशको नाम राखी नक्कली एक्स ह्यान्डल बनाइएको भन्दै आपत्ति जनाएको छ । प्रधानन्यायाधीशको निजी सचिवालयले आइतबार एक विज्ञप्ति जारी गर्दै प्रधानन्यायाधीशको नाममा भएको एक्स ह्यान्डल नक्कली रहेको र त्यसबाट भ्रमपूर्ण जानकारी फैलिरहेकाे जनाएकाे हो ।
विज्ञप्तिमा प्रधानन्यायाधीशको कुनै पनि आधिकारिक एक्स (ट्वीटर) अकाउन्ट नभएको र ‘Mr. Prakash Nepal @SupremeCourtNP’ नामबाट खोलिएको खाता नक्कली भएको उल्लेख छ ।
नक्कली अकाउन्टबाट भ्रमपूर्ण सामग्रीहरू ट्वीट र शेयर गरेर सर्वोच्च अदालतको गरिमा र प्रधानन्यायाधीशको व्यक्तित्वमा आँच पुर्याउने प्रयास गरिएको सचिवालयको ठहर छ ।
विज्ञप्तिमार्फत् सर्वसाधारणलाई गलत सूचनाहरूमा विश्वास नगर्न आग्रह गरिएको छ । साथै गलत सामग्रीहरू तत्काल हटाउन र त्यस्ता कार्यमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याउन सम्बन्धित निकायहरूलाई अनुराेध गरिएकाे छ ।
यो अकाउन्ट फेब्रुअरी २०२५ मा तयार पारेको देखिन्छ । यसमा पहिलो पोस्ट भने १३ फेब्रुअरीमा राखिएको छ । अकाउन्टमा पोस्ट राख्न थालेको लगभग १० दिनमा १३ हजार बढी फलोअर पुगेका छन् । सबैभन्दा आश्चर्यजनक कुरा भने यसमा भएको ग्रे चेकमार्क हो । अर्थात् एक्सले यो सरकारी आधिकारिक ह्यान्डल हो भनेर पुष्टि गर्छ ।
उक्त चेकमार्कमा ट्याप गर्दा ‘यो सरकारी संस्था वा बहुपक्षीय संगठन भएकाले प्रमाणित भएको हो’ भन्ने उल्लेख छ । अर्थात् सरकारी भएको आधिकारिक कागजात बुझाएको खण्डमा मात्र कम्पनीले यस्तो चेकमार्क उपलब्ध गराउँछ । एक्सका अनुसार अन्य चेकमार्क आधिकारिक कागजात बुझाई शुल्क तिरेपछि लिन सकिने भए पनि ग्रे चेकमार्कका लागि भने आधिकारिक कागजात बुझाउनै पर्ने हुन्छ ।
यदि अन्य युजरनेम राखेर भेरिफाइड गर्यो र पछि परिवर्तन गर्यो भन्ने हो भने युजरनेम परिवर्तन गर्नासाथ चेकमार्क हट्छ । यस अकाउन्टले कसरी ग्रे चेकमार्क पायो भन्ने विषय नै रहस्यमयी छ ।
अहिले सो अकाउन्टमा तीव्र सङ्ख्यामा फलोअर बढिरहेका छन् । उक्त अकाउन्टबाट विभिन्न व्यक्तिलाई रिप्लाई गर्दै नेपालको आफ्नै क्रिप्टोकरेन्सी $Nepal भोलि सार्वजनिक हुने दाबी गरिएको छ । यो नेपालमा प्रतिबन्धित भए पनि उपलब्ध हुने र देशबाहिर पनि उपलब्ध हुने दाबी गरिएको छ । सर्वोच्च अदालतले भने यी सबै दाबी भ्रामक रहेको स्पष्ट पारेको छ ।