close

एआई क्षमता बढाउन ६९३ खर्ब लगानी गर्दै एप्पल, २० हजारलाई रोजगारी दिने

टेकपाना टेकपाना

फागुन १३, २०८१ १२:७

एआई क्षमता बढाउन ६९३ खर्ब लगानी गर्दै एप्पल, २० हजारलाई रोजगारी दिने

काठमाडौं । एप्पलले अमेरिकामा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) क्षमता बढाउन आगामी चार वर्षमा ५ खर्ब अमेरिकी डलर (६९३ खर्ब रुपैयाँ बढी) लगानी गर्ने घोषणा गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) टिम कुकले सोमबार एक्समा पोस्ट राख्दै लगानीको योजनाबारे जानकारी दिएका हुन् ।

यस अन्तर्गत अमेरिकामा २० हजार नयाँ रोजगारी सिर्जना गर्ने, टेक्सासमा अत्याधुनिक उत्पादन केन्द्र निर्माण गर्ने र घरेलु उत्पादन तथा अनुसन्धानलाई प्रोत्साहन गर्ने कम्पनीको लक्ष्य छ । सीईओ टिम कुकले हालै ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट गरेका थिए । त्यसलगत्तै उनले यो योजना सार्वजनिक गरेका हुन् । उनले अमेरिकी प्रविधि क्षमतालाई सुधार गर्ने एप्पलको दृष्टिकोणबारे ट्रम्पलाई जानकारी गराएका थिए ।

यस लगानीले एप्पलको आफ्नै एप्पल इन्टेलिजेन्स सर्भर फर्मलाई मात्र नभई समग्र अमेरिकी एआई र उत्पादन क्षेत्रलाई पनि टेवा पुर्‍याउने विश्वास गरिएको छ । कुकले अमेरिकाको भविष्यमा योगदान गर्न एप्पल उत्साहित रहेको बताए । उनले अमेरिकी नवप्रवर्तन र प्रविधि विकासका लागि कम्पनीको समर्थन विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरे ।

एप्पलको योजनाको मुख्य अंशको रूपमा टेक्सासको ह्युस्टनमा नयाँ अत्याधुनिक उत्पादन केन्द्र निर्माण गरिनेछ । यस केन्द्रमा एप्पल इन्टेलिजेन्सका लागि आवश्यक सर्भर उत्पादन हुनेछन् । यसअघि यस्तो सर्भर अमेरिका बाहेकका देशमा उत्पादन हुँदै आएको थियो । यस उत्पादनलाई स्वदेशमा ल्याएर एप्पलले आफ्नो प्राइभेट क्लाउड कम्प्युट प्रणालीलाई सुधार गर्ने र घरेलु उत्पादनलाई बढावा दिने लक्ष्य राखेको छ ।

एप्पलको लगानी योजना उत्पादनमा मात्र सीमित छैन । कम्पनीले अमेरिकाभर अनुसन्धान र विकास (आर एन्ड डी) प्रयासलाई उल्लेखनीय रूपमा बढाउने योजना पनि घोषणा गरेको छ । यद्यपि यसका थप विवरण सार्वजनिक भइसकेका छैनन् ।

पछिल्लो अध्यावधिक: फागुन १३, २०८१ १२:७