काठमाडौं । अनुसन्धान भनेकै घन्टौं लगाएर जानकारी सङ्कलन गर्ने, नोटलाई व्यवस्थित गर्ने र विभिन्न स्रोतबीच सम्बन्ध खोज्ने कामका रूपमा बुझिन्छ । यो कतिपयलाई झन्झटिलो र बढी समय खपत गर्ने काम हो भन्ने लाग्छ । हुन पनि कयौं स्रोतबाट कुनै निश्चित विषयमा सान्दर्भिक, विश्वसनीय र सन्तुलित सामग्री बनाउने काम त्यति सरल होइन । तर, पहिले जसरी खोज तथा अनुसन्धानको कामलाई लिइन्थ्यो गुगलको ‘नोटबुक एलएम’ले त्यसलाई परिवर्तन गरिदिएको छ ।
गुगल ल्याब्सको यो एआई टुलले तपाईंको व्यक्तिगत अनुसन्धान सहायकको रूपमा काम गर्छ । यसले एक पटकमा ५० वटा सम्म स्रोत र अढाई करोड शब्द विश्लेषण गरेर तपाईंको विषयमा तुरुन्तै विज्ञ बनिदिन्छ ।
नोटबुक एलएमलाई विशेष बनाउने कुरा यसको क्षमता हो । तपाईं यसबाट जटिल जानकारीको बारेमा प्रश्न सोध्न सक्नुहुन्छ र तपाईंले जस्तो स्रोत उपलब्ध गराउनु भएको छ, त्यसैका आधारमा चित्तबुझ्दो जवाफ पाउन सक्नहुन्छ । साथै तपाईंले नोटबुक एलएमले उक्त जवाफ कुन स्रोतबाट कसरी लियो भन्ने पनि हेर्न सक्नुहुन्छ ।
यति मात्र नभई, तपाईंले जुन स्रोत नोटबुक एलएमलाई उपलब्ध गराउनु भएको त्यसैका आधारमा उक्त टुलले स्तरीय पोडकास्ट तयार पारिदिन सक्छ । पोडकास्टबाट तपाईंले छुटेका वा तपाईंले समावेश गर्नुपर्ने विषयको जानकारी लिन सक्नुहुन्छ ।
तपाईंले कलेजका अनुसन्धानका विषय, कुनै विषयको प्रेजेन्टेसन वा कुनै विषयमा आफ्नो जिज्ञासा मेटाउन यस टुलको प्रयोग गर्न सक्नुहुन्छ । जेमिनाईद्वारा सञ्चालित गुगलको यो टुलले तपाईंलाई कसरी सहयोग गर्न सक्छ भन्ने विषयमा यहाँ चर्चा गरिएको छ ।
के हो नोटबुक एलएम ?
गुगलको नोटबुक एलएम यस्तो टुल हो, जसले तपाईंको डिजिटल वर्कस्पेस तयार पार्न मद्दत गर्छ । यसमा तपाईंले ५० ओटा विभिन्न फाइल अपलोड गर्न सक्नुहुन्छ । खासगरी गुगल डक्स, पीडीएफ, वेबसाइटको लिङ्क, युट्युब भिडिओ, टेक्स्ट आदि पठाउन सक्नुहुन्छ । यी सबै सामग्री पठाइसकेपछि एआईले सबै कागजात अध्ययन गर्छ । र, सबै जानकारीका आधारमा ती सामग्री कसरी फिट हुन्छ भन्ने विश्लेषण गर्छ ।
नोटबुकलाई विशेष मान्नुपर्ने दुई ओटा कारण छन् । एउटा, यसले तपाईंले उपलब्ध गराएका सबै सामग्रीलाई राम्रोसँग अध्ययन गर्छ । र, त्यहाँ भन्न खोजिएको के हो भन्ने विस्तृतमा बुझ्छ ।
त्यसपछि दोस्रोमा यसले स्मार्ट अध्ययन पार्टनरको नक्कल गर्छ । अर्थात् तपाईंले उपलब्ध गराएका सबै स्रोतका जानकारी उसलाई एक एक थाहा छ । र, तपाईंले त्यसैका आधारमा जवाफ पाउनुहुन्छ । उदाहरणका लागि, मान्नुस् तपाईंले ‘एलन मस्क’ नेपालका प्रधानमन्त्री बने भन्ने कुनै लेख नोटबुक एलएमलाई पठाउनु भयो ।
त्यसमा एलन मस्कको सबै जानकारी राखिएको छ । अब नेपालका प्रधानमन्त्री को हुन् भनेर सोध्नुभयो भने नोटबुक एलएमले ‘एलन मस्क’ भन्ने जवाफ दिन्छ । उक्त जवाफ के आधारमा भन्यो भन्ने स्रोत पनि जवाफसँगै दिइएको हुन्छ । अर्थात तपाईंले उपलब्ध गराएका जानकारी बाहेक अरू उसँग कुनै जानकारी हुँदैनन् । यसले गर्दा तपाईंले ‘एआई ह्याल्युसिनेसन’ सामना गर्नु पर्दैन ।
कसरी प्रयोग गर्ने नोटबुक एलएम ?
नोटबुक एलएम प्रयोग गर्न निकै सहज छ । हामी यहाँ नोटबुक एलएम प्रयोग गर्ने विभिन्न पाँच तरिकाको बारेमा जानकारी दिंदैछौं ।
१) रिसर्च हब जस्तो बनाउने
सबैभन्दा पहिले यहाँ क्लिक गरेर नोटबुक एलएमको वेबसाइटमा जानुहोस् । यदि तपाईंको ब्राउजरमा गुगल अकाउन्ट साइनइन छ भने सहजै अकाउन्ट छानेर नोटबुक एलएमममा पुग्न सकिन्छ । यदि अकाउन्ट साइनइन छैन भने ईमेल र पासवर्ड राखेर साइनइन गर्नुपर्ने हुन्छ । त्यसपछि यस्तो इन्टरफेस देखिन्छ । त्यसमा ‘ओके’ बटनमा ट्याप गर्नसक्नुहुन्छ ।
यति गरेपछि यस्तो इन्टरफेसको होमपेज देखिन्छ ।
त्यसमा तलपट्टि रहेको ‘क्रियट न्यु नोटबुक’को बटनमा क्लिक गर्नुहोस् । यसपछि तपाईंले के के अपलोड गर्न सक्नुहुन्छ भन्ने देखिन्छ ।
यसमा ‘चुज फाइल’को अप्सनमा क्लिक गरिसकेपछि डिभाइसमा रहेको फाइल (अडियो, पीडीएफ, डक्स आदि) अपलोड गर्न सकिन्छ । त्यसबाहेक गुगल डक्स, गुगल स्लाइड, वेबसाइटको लिङ्क, युट्युबको लिङ्क आदि राख्न सक्नुहुन्छ । फाइल अपलोड भइसकेपछि बायाँपट्टि लोड हुन समय लाग्छ ।
र, फाइल अपलोड भइसकेपछि चेकमार्क देखिन्छ ।
यदि अर्को फाइल अपलोड गर्नुपर्यो भने ‘एड सोर्स’को बटनमा ट्याप गर्नुहोस् । र, फाइल अपलोड गर्नुहोस् ।
२) सारांश निकाल्नुहोस्
यसरी सबै स्रोत उपलब्ध गराइसकेपछि उक्त स्रोतमा ट्याप गर्नुभयो भने त्यसको तलपट्टि सारांश देखिन्छ ।
त्यसको बीचमा पनि सारांश देखिन्छ ।
यी दुई ओटा सारांश पनि तपाईंलाई कम लाग्यो वा तपाईंले खोजेको विशेष शीर्षकको सारांश पाइएन भने बीचको च्याट सेक्सनमा ट्याप गरेर उक्त शीर्षकको सारांशका लागि अनुरोध गर्न सक्नुहुन्छ । तपाईंले नेपालीमै पनि प्रम्ट राख्न सक्नुहुन्छ । जस्तो ‘यो शीर्षकको सारांश देउ’ भन्ने प्रम्ट राख्न सक्नुहुन्छ । तर, जवाफ भने अङ्ग्रेजीमै आउँछ ।
३) अडियो ओभरभ्यु बनाउने
तपाईंलाईले आफूले उपलब्ध गराएको जानकारी अझ सरल रूपमा बुझ्न वा त्यसका विभिन्न आयाम थाहा पाउन पोडकास्ट (अडियो ओभरभ्यु) प्रयोग गर्न सक्नुहुन्छ । त्यसका लागि दायाँपट्टि छुट्टै ‘स्टुडिओ’ट्याब राखिएको हुन्छ ।
यसपछि त्यहाँ देखिएको ‘जेनेरेट’ (Generate) को अप्सनमा ट्याप गर्नुहोस् । तपाईंले उपलब्ध गराएका जानकारीका आधारमा उक्त पोडकास्ट कति लामो हन्छ भन्ने निर्धारण हुन्छ । इन्टरनेटको स्पिड र जानकारीमा आधारमा केही मिनेटमा पोडकास्ट तयार हुन्छ । त्यसपछि अडियोको छेउमा रहेको थ्री डटमा ट्याप गरेर अडियो डाउनलोड वा डिलिट गर्न सक्नुहुन्छ ।
४) आफ्नो प्रश्नमा अडिग रहनुहोस्
तपाईंले डकुमेन्ट सबै एकएक गरी खोज्नुभन्दा आफ्नो प्रश्नमा केन्द्रित हुनुहोस् । आफूलाई जुन विषयको जानकारी चाहिएको हो त्यो प्रश्न च्याटबक्समा राख्नुहोस् । त्यसपछि एआईले तपाईंको प्रश्न तपाईंले उपलब्ध गराएको कुन स्रोतमा छ भन्ने खोज्छ र सटीक उत्तर दिने प्रयास गर्छ ।
हरेक जवाफको पछाडि अङ्क लेखिएको हुन्छ । त्यसमा ट्याप गर्दा उक्त जवाफको स्रोत के हो भन्ने थाहा पाउन सकिन्छ ।
५) जानकारीलाई उत्कृष्ट संरचनामा ढाल्नुहोस्
नोटबुक एलएमले अस्तव्यस्त जानकारीलाई बुलेट पोइन्ट, तालिका र टाइमलाइन जस्ता व्यवस्थित संरचनामा बदल्न सक्छ । केवल आफ्नो स्रोतबाट घटनाको टाइमलाइन, कि टर्म तयार पार्न सक्नुहुन्छ । त्यसका लागि स्टुडियो ट्याबको तलपट्टि रहेको टाइमलाइन अप्सन ट्याप गर्न सक्नुहुन्छ । वा, च्याटबक्समा टाइमलाइन बनाइदिन अनुरोध गर्न सक्नुहुन्छ । त्यसबाहेक तालिका बनाउन पनि यसको प्रयोग गर्न सकिन्छ ।