close

प्रधानाध्यापकले फेसबुकमा आफ्नै छात्रालाई अश्लील मेसेज पठाएपछि...

टेकपाना टेकपाना

फागुन २२, २०८१ १८:८

प्रधानाध्यापकले फेसबुकमा आफ्नै छात्रालाई अश्लील मेसेज पठाएपछि...

काठमाडौं । पाँच दिन पहिले सल्यानको कपुरकोट गाउँपालिकामा कालिका माध्यमिक विद्यालयमा अध्ययनरत एक छात्राको अभिभावकको गुनासो आयो । विद्यालयका प्रधानाध्यापक चुडामणि केसीले आफ्नी छोरीलाई मेसेन्जरमा द्धिअर्थी र आपत्तिजनक मेसेज पठाएको भन्दै अभिभावकले गाउँपालिकामा गुनासो टिपाएका थिए । अभिभावकले पालिका अध्यक्ष प्रकाश भण्डारीसामु प्रधानाध्यापक केसीले पठाएको मेसेज प्रमाण स्वरूप पेश गरेका थिए । 

“गाउँपालिकाको तर्फबाट यस मामिलाबारे बुझ्यौँ । शिक्षकको मेसेज दोहोरो अर्थ लाग्ने खालको थियो, जुन शैक्षिक गतिविधिहरूसँग मेल खान्नथ्यो । त्यसैले, उक्त मेसेज बालिकालाई उत्पीडन गर्ने प्रकृतिकै थियो भनेर बुझ्न कठिन भएन,” गाउँपालिका उपाध्यक्ष भण्डारीले टेकपानासँग भने । 

यसपछि गाउँपालिकाले प्रधानाध्यापक केसीलाई कारबाही किन नगर्ने भन्दै स्पष्टीकरण सोध्यो । प्रधानाध्यापक केसीले आफ्नो स्पष्टीकरणमा दुर्व्यवहार गर्ने मनसायले मेसेज नपठाएको दाबी गर्दै नैतिकताको आधारमा पदबाट राजीनामा दिने जवाफ पेश गरे । 

उपाध्यक्ष भण्डारीका अनुसार बालिकामाथि यसअघि कुनै शारीरिक वा मौखिक दुर्व्यवहार भएको थियो वा थिएन भन्नेबारे समेत सोधपुछ गरिएको थियो । “मेसेज पठाउनुभन्दा ४-५ दिनअघि मात्रै बालिका र शिक्षक फेसबुकमा साथी हुनुभएको रहेछ । बालिकाले शारीरिक वा अन्य कुनै प्रकारको दुर्व्यवहार नभएको बयान दिनुभएको छ,” उनले भने ।

गाउँपालिकाले कारबाही प्रक्रिया अघि बढाउन लागिरहेका बेला प्रधानाध्यापक केसीले स्वैच्छिक राजीनामा दिएका थिए । हाल कालिका माविमा वामदेव अधिकारीलाई नयाँ प्रधानाध्यापकका रूपमा नियुक्त गरिएको छ ।

केसीमाथि थप कानुनी कारबाही बाँकी नै रहेको उपाध्यक्ष भण्डारीले बताए । उनले भने, “उहाँलाई शिक्षकबाट निलम्बन गर्ने वा थप कारबाही गर्ने विषयमा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतको संयुक्त निर्णयपछि टुंगो लाग्नेछ ।”

पछिल्लो अध्यावधिक: फागुन २२, २०८१ १८:१७