काठमाडौं । अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन (आईएसएस) मा अड्किएका अन्तरिक्षयात्री बुच विल्मोर र सुनिता विलियम्सलाई पृथ्वीमा फर्काउने योजना अन्तर्गत स्पेसएक्सले नयाँ चालक दल बोकेको रकेट सफलतापूर्वक प्रक्षेपण भएको छ । स्थानीय समय अनुसार शुक्रबार बेलुका ७ः०३ बजे (नेपाली समय अनुसार आइतबार बिहान ४ः४८ बजे) फ्लोरिडास्थित केनेडी स्पेस सेन्टरबाट स्पेसएक्सले फाल्कन ९ रकेट प्रक्षेपण गरेको हो ।
नासा र स्पेसएक्सको संयुक्त मिसन अन्तर्गत रकेटले चार नयाँ अन्तरिक्षयात्रीलाई आईएसएसमा पठाउने योजना थियो । यी अन्तरिक्षयात्रीमा नासा कमान्डर एनी म्याकक्लेन, पाइलट निकोल एयर्स, जापानी एरोस्पेस एजेन्सी (जाक्सा)का ताकुया ओनिशी र रोसकोसमोसका किरिल पेस्कोभ छन् ।
यसअघि बुधबार उक्त रकेट प्रक्षेपणको तयारी गरिएको थियो । तर अन्तिम समयमा रकेटको ग्राउन्ड सिस्टममा समस्या आएपछि मिसन स्थगित भयो ।
सुनिता र बुच २०२४ को जुन महिनामा बोइङको स्टारलाइनर क्याप्सुलमा सवार भएर आठ दिनका लागि अन्तरिक्ष गएका थिए । तर, क्याप्सुलमा हिलियम लिकजस्ता प्राविधिक समस्या देखिएपछि उनीहरू निर्धारित समयमा फर्कन सकेनन् । हाल सुनिता आईएसएसको कमान्डरको भूमिकामा कार्यरत छिन् ।
नासाले क्रु-९ मिसनमार्फत सुनिता विलियम्स, बुच विलमोर, नासा अन्तरिक्षयात्री निक हेग र रोसकोसमोसका अलेक्जेन्डर गोर्बुनोभलाई पृथ्वीमा ल्याउने तयारी गरेको छ ।
नयाँ चालक दल पुगेको दुई दिनपछि उनीहरूले पृथ्वीतर्फको यात्रा सुरु गर्नेछन् । नासाको व्यावसायिक चालक दल कार्यक्रमका प्रबन्धक स्टिभ स्टिचले बीबीसीसँग कुरा गर्दै आफुलाई खबरले आफूलाई धेरै खुसी बनाएको बताए । “बुच र सुनिले धेरै राम्रो काम गरेका छन् र उनीहरूलाई फिर्ता ल्याउन हामी उत्साहित छौं,” उनले भने ।
दुई दिनको हस्तान्तरणपछि पुरानो टोली पृथ्वीतर्फको यात्रा सुरु गर्ने तयारीमा छ । तर पृथ्वीको वातावरण सुरक्षित नभएसम्म उनीहरूले थप केही दिन कुर्नुपर्ने हुनसक्छ । आईएसएस कार्यक्रमका प्रबन्धक डाना वेइगेलका अनुसार पृथ्वीको मौसम अनुकूल नभएसम्म उनीहरूले पर्खनुपर्ने हुन्छ ।
वेइगेलले अन्तरिक्ष यात्रीहरूले गत हप्तादेखि नै हस्तान्तरणको लागि तयारी थालेको बीबीसीलाई जानकारी दिइन् । सुनिता विलियम्सले कमाण्डरको पद कोस्मोनाट अलेक्सी ओभचिनिनलाई हस्तान्तरण गर्दा बुचले एक विशेष घण्टी बजाएका थिए ।
अन्तरिक्ष यात्रीहरूले आफूहरू अन्तरिक्ष स्टेसनमा बस्न पाएकोमा खुसी व्यक्त गरेका छन् । सुनिता विलियम्सले त आईएसएसलाई आफ्नो ‘खुसीको ठाउँ’ भनेकी छन् । तर ओपन युनिभर्सिटीका डाक्टर सिमोन बार्बरका अनुसार यसको व्यक्तिगत मूल्य पनि हुनसक्छ । “तपाईं एक हप्ताको लागि कामको सिलसिलामा जानुहुन्छ, तर त्यो एक वर्षको जस्तो भयो,” उनले भने ।
नासाले बुच र सुनितालाई स्टारलाइनरबाट फिर्ता ल्याउन थोरै पनि जोखिम लिन चाहेन । किनकि उनीहरूसँग स्पेसएक्सको ड्र्यागन क्याप्सुलबाट फर्काउने विकल्प थियो । नासाले निर्धारित चालक दल परिवर्तनको समयमा नै उनीहरूलाई फर्काउनु उत्तम विकल्प हुने ठहर गर्यो ।
बोइङले भने बुच र सुनितालाई स्टारलाइनरमा फर्काउन सुरक्षित हुने तर्क गर्दै आएको थियो । तर नासाले प्रतिस्पर्धी कम्पनीको क्याप्सुल प्रयोग गर्ने निर्णयप्रति असन्तुष्टि जनाएको छ ।
राष्ट्रपति ट्रम्प र स्पेसएक्सका सीईओ एलन मस्कले बुच र सुनितालाई चाँडै फर्काउन सकिने बताएका थिए । फेब्रुअरीमा फक्स न्यूजसँगको संयुक्त अन्तर्वार्तामा ट्रम्पले भनेका थिए, “उनीहरूलाई अन्तरिक्षमा छाडियो ।”
यद्यपि नासाका स्टिभ स्टिचले उक्त दाबी अस्वीकार गरेका छन् । लन्डनस्थित विज्ञान संग्रहालयकी प्रमुख लिब्बी ज्याक्सनले नासाको निर्णयलाई समर्थन गरेकी छन् ।