close

अन्तरिक्षमा ९ महिनासम्म फसेका सुनिता र बुच अन्ततः पृथ्वी फर्किए

टेकपाना टेकपाना

चैत ६, २०८१ ८:५०

अन्तरिक्षमा ९ महिनासम्म फसेका सुनिता र बुच अन्ततः पृथ्वी फर्किए

काठमाडौं । नौ महिनासम्म अन्तरिक्षमा अड्किएका नासाका अन्तरिक्षयात्री सुनिता विलियम्स र ब्यारी बुच विलमोर सकुशल पृथ्वी फर्किएका छन् । स्पेसएक्सको अन्तरिक्ष यानले उनीहरुलाई आज पृथ्वीमा फर्काएको हो ।

स्पेसएक्स क्रू ड्र्यागन क्याप्सुलमार्फत सुनिता र बुचसहित नासाका अर्का अन्तरिक्षयात्री निक हेग र रुसी अन्तरिक्षयात्री अलेक्जेन्डर गोरबुनोभ पृथ्वी फर्किएको नासाले जनाएको छ । उनीहरूलाई लिएर आएको क्याप्सुल नेपाली समयअनुसार बिहान करिब ३:४५ बजे फ्लोरिडाको फ्लोरिडाको तटमा प्यारासुटको सहायताले सुरक्षित अवतरण गराइएको थियो ।

सुनिता र बुच गत वर्षको जुनमा बोइङको स्टारलाइनरको पहिलो चालक दल उडान परीक्षण गर्न आठ दिनको यात्राका लागि आईएसएसमा उडेका थिए । तर, अन्तरिक्षयानमा प्रोपल्सन समस्या देखा परेपछि नौ महिनासम्म अप्रत्याशित रूपमा आईएसएसमै बस्नुपरेको थियो ।

सुनिता र बुचले अन्तरिक्षमा २८६ दिन बिताए भने निक हेग र अलेक्जेन्डर गोर्बुनोभले ११७ दिन बिताए । यसबिचमा सुनिताले दुई ओटा स्पेसवाक गरिन्, जुन महिलाहरूमध्ये सबैभन्दा लामो र समग्रमा चौथो स्थानमा पर्छ ।

पृथ्वीमा यानको सफल अवतरणपछि स्पेसएक्सले सामाजिक सञ्जालमा लेखेको छ, “ड्र्यागनको सुरक्षित अवतरण भएको छ । स्वागत छ पृथ्वीमा, निक, सुनी, बुच र अलेक्ज !”

नासाले सबै अन्तरिक्षयात्रीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिएको छ । निक हेगले स्पेसएक्सका उडान नियन्त्रकलाई रेडियोमार्फत “स्प्ल्यासडाउन ! राम्रोसँग प्यारासुट खुल्यो,” भन्दै जानकारी गराएका थिए । उनले थपे, “यो अविश्वसनीय यात्रा रह्यो, हामी सबै मुस्कानले भरिएका छौं ।”

अवतरित क्याप्सुललाई लिनका लागि नजिकै स्पेसएक्सको उद्धार टोली तयारी अवस्थामा थियो । अन्तरिक्षयात्रीहरूलाई क्याप्सुलबाट बाहिर निकालेर प्रारम्भिक स्वास्थ्य परीक्षण गरिएको थियो । नासाका अनुसार अन्तरिक्ष यात्रीहरू पृथ्वीमा फर्किएसँगै गुरुत्वाकर्षणसँग अभ्यस्त हुन ४५ दिनको पुनर्वास कार्यक्रममा सहभागी हुनेछन् ।

पछिल्लो अध्यावधिक: चैत ६, २०८१ १७:५७