close

सुरक्षा पन्तलाई ढाडस दिँदा ऋचा शर्मालाई फेसबुकमा अभद्र गाली, सार्वजनिक गरिन् स्क्रिनशट

टेकपाना टेकपाना

बैशाख १३, २०८२ १६:१

सुरक्षा पन्तलाई ढाडस दिँदा ऋचा शर्मालाई फेसबुकमा अभद्र गाली, सार्वजनिक गरिन् स्क्रिनशट

काठमाडौं । अभिनेत्री ऋचा शर्माले सहकर्मी सुरक्षा पन्तलाई सामाजिक सञ्जालमार्फत समर्थन गरेपछि आफैं अभद्र गालीगलौजको शिकार भएकी छिन् । पन्तको पक्षमा आवाज उठाएपछि एक फेसबुक प्रयोगकर्ताले आपत्तिजनक शब्द प्रयोग गर्दै उनलाई गाली गरेको आरोप लगाउँदै शर्माले त्यसको स्क्रिनशट समेत सार्वजनिक गरेकी छन् ।

पछिल्लो समय अभिनेत्री सुरक्षा पन्त एक अन्तर्वार्तामा पूर्वराजा ज्ञानेन्द्रका नाति हृदयेन्द्र शाहबारे दिएकोअभिव्यक्तिका कारण चर्चामा छिन् । शाहलाई चलचित्र हेर्न चाहेको अभिप्राय व्यक्त गरेपछि कतिपय राजावादी समर्थकले पन्त अभिनित चलचित्र ‘खेल’ माथि बहिष्कार अभियान नै चलाएका छन् । अर्कातर्फ, धेरैले अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्दै पन्तको बचाउ गरेका छन् ।

यसैबिच, ऋचा शर्माले शुक्रबार सामाजिक सञ्जालमार्फत पन्तलाई समर्थन गर्दै तस्बिरसहित पोस्ट लेखेकी थिइन् । उक्त पोस्टमा उनले विचार राख्न, प्रश्न उठाउन र असहमति जनाउन पाउने अधिकार पन्तलाई रहेको उल्लेख गर्दै ढाडस दिएकी छन् । उनले कसैलाई मन नपर्दैमा कुनै धारणा गलत नहुने र सत्य बोल्दा आउने आलोचना व्यक्तिको कमजोरी भएको तर्क समेत गरेकी छन् ।

नायिका शर्माले पोस्ट गरेपछि बाबुराम धिताल नामका फेसबुक प्रयोगकर्ताले मेसेजमा अत्यन्तै आपत्तिजनक र तुच्छ शब्दहरू प्रयोग गर्दै गालीगलौज गरेको पाइएको छ । शर्माले सार्वजनिक गरेको स्क्रिनशटमा उनलाई व्यक्तिगत रूपमा मात्र नभई समग्र अभिनय क्षेत्रलाई नै लक्षित गरी निकृष्ट भाषा प्रयोग गरिएको देखिन्छ ।

त्यसपछि शर्माले अभद्र गालीसहितको उक्त स्क्रिनशट आफ्नो फेसबुक पेजमा सार्वजनिक गरेकी छन् । उनले क्याप्सनमा ‘बाबुराम धिताल, यो तिम्रो परिवार, तिम्रो छोरी, आमा र तिम्री श्रीमतीलाई’ भन्दै गहिरो कटाक्ष गरेकी छिन् ।

शर्माको पोस्टमा धेरैले उनलाई साइबर ब्युरोमा उजुरी दिन सुझाव दिएका छन् । त्यस्तै, कतिपयले सामाजिक सञ्जालमा अभद्र व्यवहार गर्नेहरूलाई सार्वजनिक गर्नु जरुरी रहेको टिप्पणी गरेका छन् । यो घटनाले सामाजिक सञ्जालमा हुने अभिव्यक्ति स्वतन्त्रताको बहस र अनलाइन दुर्व्यवहारको मुद्दालाई फेरि सतहमा ल्याएको छ ।

हाल ‘Baburam Dhital’ नाम फेसबुक सर्चमा पपुलर नाउमा देखिन्छ । केही प्रयोगकर्ताले धितालको आईडीमा गएर उनका पुराना पोस्टमा ऋचाको स्क्रिनशटसहित नानाथरी कमेन्ट गरेका छन् । 

यसअघि टिकटकर प्रिज्मा खतिवडाले पनि आफूलाई दुर्व्यवहार गर्ने व्यक्तिको कमेन्ट स्क्रिनशट आफ्ना आफन्तलाई पठाएको भिडिओ सार्वजनिक गरेकी थिइन्, जसको व्यापक प्रशंसा भएको थियो ।

पछिल्लो अध्यावधिक: बैशाख १३, २०८२ १६:२१