काठमाडौँ । पहलगाममा भएको आतङ्कवादी हमलापछि भारत सरकारले पाकिस्तानका १६ युट्युब च्यानलहरूमाथि प्रतिबन्ध लगाएको छ । भारत विरोधी र साम्प्रदायिक रूपमा संवेदनशील सामग्री फैलाएको आरोप लगाउँदै भारतले आफ्नो देशमा करोडौं फलोअर भएका यी च्यानल नदेखिने बनाएको हो ।
प्रतिबन्धित च्यानलहरूमा डन न्युज, समा टिभी, एआरवाई न्युज, जियो न्युज जस्ता ठुला र चर्चित नाम पनि परेका छन् । यी च्यानलले भारत, भारतीय सेना र सुरक्षा निकायहरू विरुद्ध भ्रामक र उत्तेजक सामग्री प्रसारण गरेको आरोप लगाइएको छ ।
भारतको गृह मन्त्रालयको सिफारिसमा १६ च्यानलहरूलाई प्रतिबन्ध गरिएको इन्डियन एक्सप्रेसले जनाएको छ ।
यी च्यानलमा कूल ६ करोड ३० लाखभन्दा बढी फलोअर छन् । डन न्युज टिभीमा १९ लाख ६० हजार फलोअर छन् भने समा टिभीमा एक करोड २७ लाख, एआरवाई न्युजमा एक करोड ४६ लाख, बोल न्युजमा ७८ लाख ५० हजार र जियो न्युजमा एक करोड ८१ लाख फलोअर छन् ।
त्यस्तै, रफ्तार, पाकिस्तान रेफरेन्स, समा स्पोर्ट्स, जीएनएन, उजैर क्रिकेट, उमर चीमा एक्सक्लुसिभ, अस्मा शिराजी, मुनीब फारूक, सुनो न्युज एचडी र राजी नामा नामका च्यानलहरू पनि प्रतिबन्धको सूचीमा परेका छन् ।
अब यी च्यानलहरू भारतमा खोल्न खोज्दा ‘यो कन्टेन्ट राष्ट्रिय सुरक्षा वा सार्वजनिक व्यवस्थासम्बन्धी सरकारी आदेशका कारण उपलब्ध छैन’ भन्ने आशयको सन्देश देखिन्छ ।
यससँगै भारत सरकारले बीबीसी इन्डिया, एपी (एसोसिएटेड प्रेस) र रोयटर्सजस्ता अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूसँग पनि आपत्ति जनाएको छ । बीबीसीले आक्रमणकारीलाई ‘मिलिटेन्ट’ भनेको विषयमा विदेश मन्त्रालयमार्फत गम्भीर आपत्ति जनाइएको छ भने आगामी रिपोर्टिङमाथि निगरानी राखिने स्रोतले उल्लेख गरेको छ ।
यस्तै पाकिस्तानका केही वेबसाइटले भारतमा युद्धको नाममा रकम संकलन गर्ने प्रयास गरिरहेको भन्दै गृह मन्त्रालयले पछिल्लो चार दिनमा कैयौं यूआरएलहरू बन्द गराएको छ । साथ पाकिस्तानमा आधारित ह्याकर समूहबाट साइबर आक्रमण रोक्न सबै मन्त्रालय र निकायहरूलाई साइबर सुरक्षा बलियो बनाउन निर्देशन दिइएको छ ।
पहलगाम हमलापछि भारतले पाकिस्तानी नागरिकहरूलाई दिइने भिसा सेवा निलम्बन गरेको र चलचित्र, पत्रकार, तीर्थयात्री, व्यवसायी जस्ता १४ क्याटेगरी अन्तर्गत भारतमा रहेका पाकिस्तानी नागरिकहरूको पहिचान गरी चाँडै फर्काउन राज्य सरकारहरूलाई निर्देशन दिएको छ ।