काठमाडौँ । भारतको ओडिशास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत अर्की एक नेपाली छात्रा मृत अवस्थामा फेला परेकी छन् । ओडिशाको स्थानीय सञ्चारमाध्यम ओटीभी अनुसार बिहीबार केआईआईटीको होस्टेलभित्र झुन्डिएको अवस्थामा नेपाली छात्राको शव फेला परेको हो ।
घटनाको विस्तृत विवरण आउन बाँकी छ भने विश्वविद्यालय प्रशासनले हालसम्म कुनै आधिकारिक प्रतिक्रिया नदिएको ओटीभीले जनाएको छ । यसबारे स्थानीय प्रहरी आयुक्त एस. देवदत्त सिंहलाई जानकारी पुगिसकेको बताइएको छ ।
दुई महिनाअघि केआईआईटीकै होस्टेलमा नेपाली छात्रा प्रकृति लम्सालको शव फेला परेको थियो । लम्सालको निधन रहस्यमयी भएको भन्दै कलेजमा अध्ययनरत विद्यार्थीहरूले प्रदर्शन गरेका थिए ।
विरोध प्रदर्शनका क्रममा नेपाली विद्यार्थीले आफूहरूमाथि जातीय तथा राष्ट्रिय पहिचानका आधारमा दुर्व्यवहार भएको र मानसिक त्रासदी र असुरक्षा महसुस गरिरहेको जनाएका थिए । उक्त घटनापछि केही नेपाली विद्यार्थीहरूलाई जबर्जस्ती गाडीमा राखेर रेलवे स्टेशनमा पुर्याइएको थियो ।
दुई महिनाको फरकमा एउटै होस्टेलमा नेपालका दुई छात्राले ज्यान गुमाएपछि केआईआईटीमा अध्ययनरत नेपाली विद्यार्थीहरूको सुरक्षालाई लिएर फेरि सामाजिक सञ्जालमा बहस सुरु भएको छ ।