close

सामसङलाई अनरको व्यङ्ग्य- ‘पातलो फोन ल्याएर के गर्नु, फिचरमा सम्झौता गरेपछि !’

टेकपाना टेकपाना

जेठ ३, २०८२ १४:३७

सामसङलाई अनरको व्यङ्ग्य- ‘पातलो फोन ल्याएर के गर्नु, फिचरमा सम्झौता गरेपछि !’

काठमाडौँ । स्मार्टफोन बजारमा प्रतिस्पर्धा फेरि एकपटक व्यक्तिगत स्तरमा पुगेको छ । चिनियाँ स्मार्टफोन निर्माता कम्पनी अनरले सामसङको नयाँ ग्यालेक्सी एस २५ एजलाई सार्वजनिक रूपमै निशाना बनाएपछि यी दुई कम्पनीको प्रतिस्पर्धा सतहमा आएको हो । 

सामसङले हालै ‘अहिलेसम्मकै सबैभन्दा पातलो ग्यालेक्सी फोन’ दाबी गर्दै सार्वजनिक गरेको ग्यालेक्सी एस २५ एजलाई अनरले व्यङ्ग्य गरेको छ । सामसङले बजारमा ल्याएको ग्यालेक्सी एस २५ एजको मोटाइ ५.८ एमएम छ । २०० मेगापिक्सेल क्यामेरा, नयाँ स्न्यापड्रागन ८ एलिट चिप, एआई फिचर र ३९०० एमएएच ब्याट्री भएको यो डिभाइसले अहिले व्यापक चर्चा पाइरहेको छ । सामसङले फोनलाई ‘अति पातलो’ घोषणा गरेपनि अनरले यसलाई सहजै स्वीकारेको छैन ।

सामाजिक सञ्जाल एक्समा पोस्ट राख्दै कम्पनीले आफ्नो अनर म्याजिक भी थ्री फाइभजी फोल्डसँग एस २५ एजलाई तुलना गरेको छ । 

अनरका अनुसार यो मोडेल अनफोल्ड गर्दा यसको मोटाइ ४.३५ एमएम हुन्छ । यो सामसङको एस २५ एजको तुलनामा १ एमएमभन्दा बढी पातलो हो । अनर यतिमा नरोकिएर एस २५ एजको फिचरमा पनि प्रश्न उठाएको छ । पातलो बनाउने नाममा सामसङले फिचरमा सम्झौता गरेको अनरको आरोप छ ।

अनरले आफ्नो पातलो डिभाइसमा ५१५० एमएएच क्षमता ब्याट्री समावेश गर्न सफल भएको कुरामा जोड दिएको छ । कम्पनीले फोनको पर्फमेन्स र उपयोगितमा कुनै सम्झौता नगरी पातलो फोन ल्याएको दाबी गरेको छ । यसको विपरीत सामसङको एस २५ एजमा ३९०० एमएएच क्षमताको ब्याट्री छ । 

अनरको ट्यागलाइन नै ‘कुनै सम्झौता नगरी सबैभन्दा पातलो फोन ल्याउने’ भन्ने आशयको छ । स्मार्टफोन निर्माताले एक अर्काको कम्पनी र प्रडक्टको खिल्ली उडाउनु नौलो कुरा भने होइन ।

सामसङ र एप्पलले पनि एकअर्कालाई व्यङ्ग्य गर्दै मिम सार्वजनिक गरेको इतिहास छ । खासगरी फोनमा हेडफोन ज्याक नहुनुदेखि क्यामेरा बम्प र चार्जिङ ब्रिकको खिल्ली उडाउनेसम्मका घटनामा सामसङ र एप्पल एकअर्कासँग जिस्किरहेका हुन्छन् । अनरले पनि यसअघि आफ्ना प्रतिस्पर्धीलाई यस्तै किसिमले निशाना बनाइसकेको छ ।

सामसङ ग्यालेक्सी एस २५ एज शक्तिशाली स्न्यापड्रागन ८ जेन ४ एलिट प्रोसेसर छ । यसमा २०० मेगापिक्सेल क्यामेरा छ । तर, ब्याट्री भने ३९०० एमएएच मात्र छ । ग्यालेक्सी एस २५ एज पछि सामसङ ग्यालेक्सी एस २५ एफई सार्वजनिक गर्ने तयारीमा छ ।

पछिल्लो अध्यावधिक: जेठ ३, २०८२ १५:१६