काठमाडौँ । गत चैत १५ गतेको राजावादी प्रदर्शनका क्रममा दुर्गा प्रसाईंले गाडीभित्रबाट ‘आओ, आओ’ भन्दै गरेको भिडिओ खिच्ने युट्युबर प्रकाशचन्द्र दाहालविरुद्ध आपराधिक उपद्रव र संगठित अपराधको अभियोगमा मुद्दा दायर गरिएको छ ।
काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयले आइतबार जिल्ला अदालतमा अभियोगपत्र दायर गर्दै दाहाललाई दुई फरक मुद्दामा सजाय माग गरेको हो ।
दाहाल ‘नेपाल पुकार’ नामक युट्युब च्यानलका सञ्चालक हुन् । दुर्गा प्रसाईंले गाडी चलाउँदै आफ्ना समर्थकलाई बोलाइरहँदा त्यही गाडीमा रहेका दाहालले आफ्नो युट्युब च्यानलमा लाइभस्ट्रिम गरेका थिए । अहिले त्यो भिडिओ प्राइभेट गरिएको छ ।
दाहालले आपराधिक समूह/संगठनसँग मिलेमतो गरी राज्य संस्था र संवैधानिक संरचना पल्टाउने उद्देश्यले भएको घोषणा सभामा उपस्थित भई आपराधिक उपद्रव गरेको अभियोगपत्रमा दाबी गरिएको छ ।
उनलाई मुलुकी अपराध संहिता, २०७४ को दफा २८५ को उपदफा (१) र उपदफा (२) को खण्ड (क) बमोजिम व्यक्तिगत सम्पत्ति समेतमा आगो लगाई आपराधिक उपद्रवको कसुरमा सोही संहिताको दफा २८५ को उपदफा (३) को खण्ड (घ) बमोजिम सजाय माग गरिएको छ ।
त्यस्तै संगठित रूपमा आपराधिक उपद्रवको कसुर गरेको भन्दै संगठित अपराध निवारण ऐन, २०७० को दफा ३ को उपदफा (१) ले निषेधित, उपदफा (२) ले परिभाषित कसुरमा ऐनको दफा ३ को उपदफा (३) को खण्ड (क) बमोजिमको कसुरमा ऐनको दफा (९) को खण्ड (क) बमोजिम सजाय माग गरिएको छ ।
चैत १५ गतेको प्रदर्शनमा आन्दोलनका कमान्डर दुर्गा प्रसाईं प्रहरीको सुरक्षा घेरा तोड्ने प्रयास गर्दै तीनकुनेबाट बानेश्वरस्थित संसद् भवनतर्फ जाँदै थिए । सोही क्रममा गाडीमै सवार प्रकाशचन्द्र दाहालले प्रसाईंले ‘आओ, आओ’ भन्दै भिडलाई आफूतिर बोलाइरहेको दृश्य खिचेका थिए । उक्त भिडिओ सामाजिक सञ्जालमा भाइरल बनेको थियो र त्यसका आधारमा थुप्रै मिमहरू पनि बनिरहेका छन् ।