close

युट्युब भिडिओलाई लिएर पत्रकार दिलभुषण पाठकविरुद्ध पक्राउ पुर्जी जारी

टेकपाना टेकपाना

जेठ २८, २०८२ ११:४०

युट्युब भिडिओलाई लिएर पत्रकार दिलभुषण पाठकविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौँ । सञ्चारकर्मी दिलभुषण पाठक विरुद्ध काठमाडौँ जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ । सञ्चारकर्मी पाठकले आफ्नो युट्युब च्यानलमार्फत प्रसारण गरेको एक भिडिओ (भिडिओ सामग्रीको युट्युब लिङ्कअर्काइभ लिङ्क) सामग्रीलाई लिएर उनीविरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको हो ।  

प्रहरीको साइबर ब्युरोमा परेको उजुरीका आधारमा अनुसन्धानका लागि पाठकलाई पक्राउ गर्न अनुमति मागिएको थियो । सोही अनुसार अदालतबाट पक्राउ पुर्जी लिइएको ब्युरो स्रोतले जनाएको छ । पाठकले आफ्नो युट्युब कार्यक्रम ‘टफ टक’को ‘टफ एक्स्प्लेनर’ शृङ्खलामा काङ्ग्रेस सभापति शेरबहादुर देउवाका छोरा जयवीर देउवाको व्यावसायिक संलग्नताबारे एक रिपोर्ट प्रसारण गरेका थिए । उक्त रिपोर्टमा देउवा पुत्रले व्यापारी शाहिल अग्रवाल र दीपक भट्टसँग मिलेर नक्सालस्थित हिल्टन होटल खरिद गरेको दाबी गरिएको थियो । 

साथै उनका बुबा शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा सेनेटरी प्याड र डायपर आयातमा कर छुट हुनेगरी नीतिगत हेरफेर गरिएको आरोप पनि लगाइएको थियो । प्रहरी स्रोतका अनुसार उक्त सामग्री ‘कपोलकल्पित, भ्रामक र चरित्रहत्या गर्ने उद्देश्यले’ प्रसारण गरिएको आरोप लगाउँदै साइबर अपराध अन्तर्गत उजुरी परेको थियो । ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक दीपकराज अवस्थीले भने तत्काल यस वियषमा प्रतिक्रिया नदिने बताए । 

सोही उजुरीमाथि अनुसन्धान प्रक्रिया अघि बढाउन अदालतबाट पक्राउ पुर्जी लिइएको प्रहरीको भनाइ छ । अहिले पत्रकार पाठककको फोन भने अफ छ । यही विषयलाई लिएर सामाजिक सञ्जालमा सरकारको आलोचना भइरहेको छ । 

पछिल्लो अध्यावधिक: जेठ २८, २०८२ १७:१२