काठमाडौँ । सरकारले विदेशबाट नेपाल फर्किने यात्रुहरूले साथमा ल्याउन पाउने निजी प्रयोगका सामग्रीबारे नयाँ व्यवस्था सार्वजनिक गरेको छ । भन्सार ऐन, २०८१ को अधिकार प्रयोग गर्दै अर्थ मन्त्रालयले जेठ १५ गते राजपत्रमा सूचना प्रकाशित गरी भन्सार छुटसम्बन्धी नयाँ व्यवस्था कार्यान्वयनमा ल्याएको हो ।
योसँगै २०८१ साउन २९ मा राजपत्रमा प्रकाशित पुरानो सूचना खारेज भएको छ । नयाँ प्रावधानमा विशेषतः वैदेशिक रोजगारीबाट फर्किने नेपालीलाई लक्षित गर्दै मोबाइल र टेलिभिजनमा भन्सार छुटको व्यवस्था गरिएको छ ।
नयाँ नियमअनुसार श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका र नेपाल फर्किएका नेपाली नागरिकलाई निम्न विशेष छुट दिइएको छ:
मोबाइल फोन: कम्तीमा ६ महिना लगातार काम गरी फर्किएका नेपालीले आफूले प्रयोग गरेको एक थान मोबाइलबाहेक थप एक थान नयाँ मोबाइल फोन पनि पूर्ण भन्सार छुटमा ल्याउन पाउनेछन् ।
टेलिभिजन: कम्तीमा १२ महिना काम गरी फर्किएका र सामाजिक सुरक्षा कोषमा सूचीकृत रहेका नेपालीले जुनसुकै आकार वा प्रकारको एक थान टिभी पूर्ण भन्सार छुटमा ल्याउन सक्नेछन् । सामाजिक सुरक्षा कोषमा सूचीकृत नभएका भए पनि १२ महिना कार्य अनुभव प्रमाणित गरे ३२ इन्चसम्मको टिभीमा छुट पाइनेछ । यो सुविधा जीवनभरमा एकपटक मात्र पाइने र अभिलेख राखिने सूचनामा उल्लेख छ ।
त्यस्तै वैदेशिक यात्राबाट फर्किने सबै नेपाली नागरिकले व्यक्तिगत प्रयोगका लागि निम्न सामग्रीमा पूर्ण भन्सार छुट पाउने छन्:
एक-एक थान: ल्यापटप वा ट्याबलेट, घडी, क्यामरा, भिडियो क्यामरा, मोबाइल फोन (आफूले प्रयोग गरेको) ।
व्यक्तिगत सामग्री: प्रयोग गरिएका लुगाफाटा, ओछ्यान-बिछ्यौना, घरायसी सामग्री आदि ।
अन्य: बिरामीले ल्याएका औषधि, शारीरिक अशक्तताका सहायक उपकरण, सात केजीसम्म खाद्य परिकार र एक लिटरसम्मको मदिरा ।
महसुल तिरेर ल्याउन पाइने अन्य सामग्री
नेपालमा स्थायी बसोबास गर्ने नेपालीले यी सामग्री महसुल तिरेर ल्याउन सक्नेछन्:
६ महिनाभन्दा बढी विदेश बसेका नेपालीले १५ हजार रुपैयाँसम्म र एक वर्षभन्दा बढी बसेकाले २५ हजार रुपैयाँसम्म मूल्यका सामग्रीमा थप छुट पाउने व्यवस्था गरिएको छ ।
विदेशी पर्यटकका लागि के छ व्यवस्था ?
नेपाल प्रवेश गर्ने वा बाहिरिने विदेशी यात्रुहरूले यी सामग्रीहरू भन्सार छुटमा ल्याउन वा लैजान सक्नेछन्:
चुरोट/सुर्ती: २०० चुरोट, ५० सिगार वा २५० ग्राम सुर्ती ।
अन्य: १० हजार रुपैयाँसम्मको औषधि, पाँच हजार रुपैयाँसम्मको खाद्य परिकार, दुई हजार रुपैयाँसम्मको ताजा फलफूल ।
योसँगै नेपाल प्रवेश गर्दा पाँच हजार अमेरिकी डलरभन्दा बढी मूल्यको विदेशी मुद्रा वा ट्राभलर्स चेक भएमा भन्सार बिन्दुमा घोषणा अनिवार्य गरिएको छ । भन्सार घोषणा नगरी लुकाइछिपाई ल्याइएका सामग्री जफत गरी प्रचलित कानुनअनुसार कारबाही हुने बताइएको छ ।