काठमाडौँ । डिजिटल युगमा सामाजिक सञ्जाल केवल सम्पर्कको माध्यम मात्र रहेन, यो आपराधिक जाल बुन्ने मैदान पनि बन्न थालेको छ । राजधानी काठमाडौँमा हालै भएको एउटा घटना यसैको एउटा उदाहरण हो, जहाँ सामाजिक सञ्जालबाट सुरु भएको ‘सम्बन्ध’ यौन शोषणको धम्की र करोडौँ रुपैयाँको फिरौतीमा परिणत भयो ।
यो घटना प्रविधिको दुरुपयोगबाट कसरी मानिसको जीवन धरापमा पर्न सक्छ भन्ने एउटा तितो यथार्थको ज्वलन्त उदाहरण बनेको छ । कथा सुरु हुन्छ, राज चौलागाईं (नाम परिवर्तन) लाई ‘आँचल चौगुठी’ नामक फेसबुक आईडीबाट आएको एक फ्रेन्ड रिक्वेस्टबाट । युवतीको रिक्वेस्ट देखेर राजले तत्काल स्वीकार गरे । त्यसले दुवै जनाबिच कुराकानीको बाटो खोल्यो । यसै क्रममा आँचलले राजलाई भेट्न महाराजगन्ज बोलाइन् ।
२०८१ चैत २३ गते महाराजगन्जको बगर हाउस पुगेका राजको आँचल र उनको साथमा आएकी ममता तामाङसँग पहिलो पटक भेट भयो । फोन नम्बर आदानप्रदान गरेर त्यस दिन उनीहरू छुट्टिए ।
तीन दिनपछि, २०८१ चैत २६ गते आँचल र ममताले राजलाई ठमेलस्थित होलिडे रिजेन्सी होटेलमा बोलाए । तीनै जनाले होटेलको कोठामा खाजासँगै मादक पदार्थ पनि सेवन गरे । तर आफू भने त्यसक्रममा ‘अचेत’ हुन पुगेको कुरा राजले जाहेरीमा खुलाएका छन् । यही मौकामा ममता तामाङले आँचल र राजबिच भएका ‘किस’ लगायत नग्न फोटो तथा भिडिओ मोबाइलबाट खिचिन् ।
घटनाको एक महिनापछि, २ जेठ २०८२ का दिन राजलाई मेसेन्जरमा सम्पर्क गरी आँचलले ती संवेदनशील फोटो तथा भिडिओहरू पठाइन् । त्यससँगै राजविरुद्ध यौन शोषणको मुद्दा हालेको भनी निवेदनको फोटोसमेत पठाइएको थियो । यद्यपि उक्त निवेदन नक्कली थियो । यदि काठमाडौँमा घर र चार आना जग्गा नदिए यौन शोषणको मुद्दा लगाउने धम्की राजलाई दिन थालिन् । मानसिक दबाबमा राखेर उनीहरूले केही रकम हात पारे ।
त्यसपछि राजलाई अनामनगरको टिम्बुर रेस्टुरेन्टमा बोलाए । त्यहाँ आँचल र ममतासँगै यस अपराधका मुख्य योजनाकार मानिएका दीपक विष्ट र राजेन्द्र विष्ट पनि आएका थिए । उनीहरूले ‘केस मिलाउन’ भन्दै ७० लाख रुपैयाँ माग अघि सारे । रकम नदिए मुद्दा चलाउने धम्की दिएपछि दबाबमा परेका राजले ८ जेठ २०८२ को मिति राखेर प्राइम कमर्सियल बैंकमा रहेको आफ्नो खाताबाट आँचल चौगुठीको नाममा ५ लाख रुपैयाँको चेक काटिदिए । तर बाँकी रकम पछि दिनुपर्ने भन्दै राजमाथि उनीहरूले मानसिक यातना भने दिइरहे ।
यसरी मानसिक यातना र धम्की आएपछि राजले ७ जेठ २०८२ का दिन प्रहरीमा उजुरी दिए र तत्काल अनुसन्धान अघि बढ्यो । सोही दिन प्रहरीले आँचल चौगुठी र ममता तामाङलाई पक्राउ गर्न सफल भयो । उनीहरूको साथबाट ५ लाख रुपैयाँको चेक, दुई ओटा मोबाइल फोन लगायतका सामग्री बरामद गरिएका छन् ।
प्रहरी समक्ष बयान दिँदै दुवै महिलाले आफ्नो संलग्नता स्वीकारेका छन् । आँचल चौगुठीले राजेन्द्र विष्टको निर्देशनमा राजको नग्न फोटो र भिडिओ बनाएको र त्यसबाट आर्थिक लाभ लिने उद्देश्य रहेको बयान दिएकी छिन् । ३४ वर्षीय आँचल भक्तपुर-१७ घर भई हाल काठमाडौँ ५ हाँडीगाउँ र ३४ वर्षकी ममता चाहिँ कैलाली, गोदावरी-१० घर भई हाल काठमाडौँ-५ कालोपुल बस्दै आएकी थिइन् ।
कञ्चनपुरको साबिक सुडा-३ घर भई हाल काठमाडौँ-५ कालोपुल बस्ने ३६ वर्षीय दिपक विस्ट र कञ्चनपुरकै पिपलाडी घर भएका दिपक राजेन्द्र विष्ट भने फरार रहेको भन्दै अदालतबाट पक्राउ पुर्जीको माग गरिएको छ । पक्राउ परेका आँचल र ममता विरुद्ध एक्सटर्सन (आपराधिक लाभ) लिन नहुने कसुरमा अदालतमा मुद्दा सुरु भएको छ ।