फ्याक्टचेकः क्यान्सर पीडित मेरी बास्सैकी ‘अप्सरा आमा’को निधन भन्दै झुटो खबर फैलाउँदै टिकटकका अकाउन्ट
असार ८, २०८२ २१:२१
काठमाडौँ । हास्य टेलिशृङ्खला ‘मेरी बास्सै’मा ‘अप्सरा’ को भूमिकाबाट परिचित कलाकार लक्ष्मी श्रेष्ठको निधन भएको भन्दै आइतबार सामाजिक सञ्जाल टिकटकमा विभिन्न पोस्टहरू आइरहेका छन् । केही पोस्टमा उनको ‘निधन भएको’ उल्लेख गरिएको छ भने केहीमा श्रद्धाञ्जलीको सङ्गीत राखेर भिडिओ बनाइएको छ । तर, टेकपानाको फ्याक्टचेकले निधनको खबर झुटो भएको देखाएको छ । स्तन स्क्यान्सरबाट ग्रसित श्रेष्ठको स्वास्थ्य अवस्था भने दिनानुदिन बिग्रँदै गएको पाइएको छ ।
दाबी
आइतबार, ८ असार २०८२ (२२ जुन २०२५) मा बिहान करिब आठ बजे सामाजिक सञ्जाल टिकटकमा ‘राधिका तिवारी’ नामक अकाउन्टबाट एउटा भिडिओ पोस्ट भयो । भिडिओको क्याप्सनमा ‘आमाको बैकुण्ठ मा बास होस्’ लेखिएको छ । उक्त भिडिओभित्र ‘सबैलाई हसाउने अप्सरा आमा सबैलाई सम्झाना मात्र छोडि हामी बाट सदाका लागि बिदाई भएर जानू भएको छ’ लेखिएको छ । उक्त भिडिओमा गायक पुस्कल शर्माले गाएको ‘सति प्रथा’ बोलको गीत राखिएको छ । यो सामग्री तयार पार्दासम्म उक्त भिडिओमा ६५ हजार बढी भ्युज आइसकेको छ । हेर्नुहोस् ओरिजिनल भिडिओ, आर्काइभ भिडिओ र स्क्रिनशट ।
तथ्यजाँच
राधिका तिवारी नामक टिकटक अकाउन्टबाट भिडिओ पोस्ट भएको फेला पारिसकेपछि टेकपाना फ्याक्टचेक डेस्कले यस्तै अन्य सामग्री खोज्न थाल्यो । त्यस क्रममा ‘चौहान क्विन ५४’ युजनरनेम र टिकटक किङ नाम सहित गायिका एलिना चौहानको फोटो प्रोफाइल पिक्चर राखिएको अकाउन्टबाट २० घण्टाअघि अर्थात् शनिबार राति ११ बजेतिर त्यही आशयको अर्को पोस्ट राखेको भेटियो । उक्त पोस्टमा कुनै क्याप्सन राखिएको छैन । तर, फोटोमा कलाकार राजाराम पौडेल, सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)ले भेटघाट गरेको फोटो जोडेर राखिएको छ । त्यसको ब्याकग्राउन्ड म्युजिकमा ‘श्रद्धाञ्जली गीत’ राखिएको छ । यो सामग्री तयार पार्दासम्म सो पोस्टमा १२ लाख भन्दा बढी भ्युज आइसकेको छ । हेर्नुहोस् ओरिजिनल पोस्ट, आर्काइभ पोस्ट र स्क्रिनशट ।
त्यही अकाउन्टबाट बिहान १० बजेतिर यस्तै आशयको अर्को पोस्ट अपलोड भएको छ । त्यसमा पनि माथि प्रयोग गरिएको सङ्गीत प्रयोग गरेको देखिन्छ ।
यीबाहेक अन्य फेसबुक पेज तथा प्रयोगकर्ता र टिकटक प्रयोगकर्ताले पनि लक्ष्मी श्रेष्ठको निधन भएको दाबी गर्दै पोस्ट राखिरहेका छन् ।
मेरी बास्सैमा श्रेष्ठसँगै काम गरेका सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) बिहीबार उनकै निवासमा भेट्न गएका थिए । घिमिरेले भेटघाटको भिडिओ पनि राखेकी थिइन् । यो सामग्री तयार पार्ने क्रममा आइतबार राति (९ बजेतिर) सिताराम कट्टेल (धुर्मुस)लाई हामीले सम्पर्क गर्यौं । “उहाँको निधन भएको भन्ने पोस्टहरू भ्रामक हुन्,” कट्टेलले टेकपानासँग भने, “उहाँ (लक्ष्मी श्रेष्ठ)लाई त्यस्तो नहोस्, हामी कामना गर्छौं ।”
अनलाइन खबरमा आइतबार दिउसो ४ः२५ बजे ‘घरमै थलिइन् ‘मेरी बास्सै’की अप्सरा आमा’ शीर्षकको समाचार प्रकाशन भएको छ । त्यस्तै सेतोपाटीमा आइतबार दिउसो १ः३२ बजे ‘बिरामी परिन् ‘मेरी बास्सै’ की अप्सरा आमा’ शीर्षकको समाचार प्रकाशन भएको छ । त्यसैगरी नेपाल प्रेसमा आइतबार बेलुका ५ः४१ बजे ‘घरमै थलिइन् क्यान्सर पीडित ‘मेरी बास्सै’की ‘अप्सरा’’ शीर्षकमा समाचार आएको छ । त्यसका साथै नेपालखबरमा दिउसो २ः४९ बजे ‘क्यान्सरले थला परिन् ‘मेरि बास्सै’ की अप्सरा आमा’ शीर्षकको समाचार प्रकाशन भएको छ ।
यी समाचार माध्यमले पारिवारिक स्रोतसँगको कुरा उद्धिृत गर्दै श्रेष्ठको स्वास्थ्य अवस्था बिग्रिँदै गएको उल्लेख गरेका छन् । समाचारका अनुसार गएको दसैँदेखि अस्वस्थ उनलाई चार महिनाअघि भक्तपुर क्यान्सर अस्पताल भर्ना गरिएको थियो । तर, डाक्टरले उपचार सम्भव नभएको भन्दै दुई साताअघि घर फर्काइदिएका थिए ।
हाल काठमाडौंको कपन बालुवाखानीस्थित घरमा रहेकी लक्ष्मीको रेखदेख उनकी छोरीले गर्दै आइरहेकी छिन् । दुई सातादेखि उनलाई एकदमै गाह्रो भएको समाचारमा उल्लेख छ । साथै उनको औषधि छुटाइसकेको र झोल खानेकुराबाहेक खाना खान छाडेकी बताइएको छ । यो सामग्री तयार पार्दासम्म अधिकांश सञ्चार माध्यमले उनको स्वास्थ्य अवस्था बिग्रिरहेको उल्लेख गरे पनि अप्रिय खबर दिएका छैनन् ।
कलाकार लक्ष्मी श्रेष्ठको नजिककी कलाकार सुशीला निरौला (बिम्ली)ले सामाजिक सञ्जाल फेसबुक मार्फत उनको स्वास्थ्य अवस्थाबारे जानकारी दिइरहेकी छिन् ।
उनले पनि आइतबार लक्ष्मी श्रेष्ठसँगको एक पुरानो भिडिओ राख्दै सीघ्र स्वास्थ्य लाभको कामना गरेकी छिन् । यी सबै प्रमाणबाट कलाकार लक्ष्मी श्रेष्ठ उर्फ अप्सरा आमाको निधन भन्ने दाबी मिथ्या रहेको पुष्टि हुन्छ ।
दाबी
हास्य टेलिसिरियल ‘मेरी बास्सै’मा ‘अप्सरा आमा’को भूमिका निभाएकी कलाकार लक्ष्मी श्रेष्ठको निधन ।
दाबीकर्ता
चौहान क्विन र राधिका तिवारी नामका टिकटक अकाउन्ट ।
तथ्य
विगत लामो समयदेखि स्तन क्यान्सरबाट पीडित कलाकार लक्ष्मी श्रेष्ठ ‘अप्सरा आमा’को स्वास्थ्य अवस्था बिग्रिँदै गएको छ । तर, सामाजिक सञ्जाल प्रयोगकर्ताले दाबी गरेको जस्तो अप्रिय घटना भएको छैन ।
निष्कर्ष
चौहान क्विन र राधिका तिवारी नामका टिकटक अकाउन्टले शनिबार रातिदेखि पोस्ट राख्दै टेलिसिरियल मेरी बास्सैमा ‘अप्सरा आमा’को भूमिका निभाएकी कलाकार लक्ष्मी श्रेष्ठको निधन भएको दाबी गर्दै पोस्ट राखेका छन् । तर, यो सामग्री तयार पार्दासम्म आएका विभिन्न सञ्चार माध्यमका समाचार र श्रेष्ठको बारेमा निरन्तर जानकारी दिइरहेकी सुशीला निरौला ‘बिम्ली’को पोस्ट र कुनै समय सहकार्य गरेका सिताराम कट्टेल ‘धुर्मुस’सँग गरेको कुराकानीबाट लक्ष्मी श्रेष्ठको निधन भएको भन्ने दाबी मिथ्या पुष्टि हुन्छ ।

प्रतिक्रिया
तपाईंले हाम्रो वेबसाइट, सामाजिक सञ्जालका ह्यान्डल (फेसबुक, इन्स्टाग्राम, टिकटक, एक्स, युट्युब, लिङ्क्डइन) वा [email protected] मा तथ्य जाँच गर्नुपर्ने सामाजिक सञ्जालका पोस्ट पठाउन सक्नु हुनेछ । तथ्य जाँचलाई लिएर कुनै प्रतिक्रिया वा सुझाव भए हामीलाई ईमेल पठाउनु होला ।
पछिल्लो अध्यावधिक: साउन ३, २०८२ १८:४०
