close

साइबर ब्युरोको आग्रहपछि ‘केरा गणतन्त्र’ डिजाइनको टिसर्ट बिक्रीमा रोक

टेकपाना टेकपाना

असार ११, २०८२ १०:३०

साइबर ब्युरोको आग्रहपछि ‘केरा गणतन्त्र’ डिजाइनको टिसर्ट बिक्रीमा रोक

काठमाडौँ । सरकारले ‘केरा गणतन्त्र’ नामक डिजाइनको टिसर्टको प्रचारप्रसार तथा बिक्रीमा रोक लगाएको छ । नेपाल प्रहरीको साइबर ब्युरोको आग्रहपछि टिसर्ट निर्माता कम्पनी आईडीएस वेयर्सले उक्त डिजाइनसहित आफ्ना सबै उत्पादनको नयाँ अर्डर लिन अस्थायी रूपमा बन्द गरेको छ ।

इनडेप्थ स्टोरी तथा आईडीएस वेयर्सले एक विज्ञप्ति जारी गर्दै सरकारले उक्त डिजाइनले ‘मुलुकको शान्ति सुरक्षा, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता र स्वाभिमानमा खलल पुग्ने’ भन्दै यसको बिक्रीमा रोक लगाउन निर्देशन दिएको जनाएको छ । आफूहरूले ‘केरा गणतन्त्र’ को अर्थ र ऐतिहासिक सन्दर्भबारे प्रस्ट्याउन खोजे पनि प्रहरीले नबुझेको वा बुझ्न नचाहेको कम्पनीका संस्थापक सुदिपभाइ सुवेदीले बताए ।

उनका अनुसार यस विषयमा साइबर ब्युरोमा बोलाएर माफीनामामा हस्ताक्षर गर्न लगाइएको थियो ।​ “हेलो सरकारमा उजुरी परेपछि प्रधानमन्त्री कार्यालय र गृह मन्त्रालय हुँदै उक्त विषय ब्युरोसम्म पुगेको रहेछ । आजै (मंगलबार) बाट प्रचारप्रसार बन्द नगरे कानुनी प्रक्रियामा जानुपर्ने हुन्छ, यदि माफीको पत्र लेख्नुहुन्छ भने आजै छाडिदिन्छौं भनेपछि हस्ताक्षर गर्न लगाइयो,” उनले भने ।

हस्ताक्षरपछि ‘केरा गणतन्त्र’ टिसर्टको प्रचारप्रसार र बिक्री गर्न नपाउने गरी छाडिएको उनले बताए ।

‘केरा गणतन्त्र’ (Banana Republic) राजनीतिक रूपमा अस्थिर, भ्रष्ट र कमजोर शासन प्रणाली भएको मुलुकलाई व्यङ्ग्यात्मक रूपमा वर्णन गर्न प्रयोग हुने शब्दावली हो । यस्तो देशमा नियम, कानुन र लोकतान्त्रिक मूल्यभन्दा पनि नेताको इच्छा, पहुँच र शक्तिले राज्य सञ्चालन भइरहेका हुन्छन् ।

अमेरिकी लेखक ओ. हेनरीले पहिलोपटक सन् १९०४ मा आफ्नो पुस्तक ‘Cabbages and Kings’ मा यो शब्दावली प्रयोग गरेका थिए । व्यंग्यका रूपमा टिसर्टमा यो डिजाइन राखेपनि प्रशासनले हटाउन भनेपछि आफूहरूले मानेको सुवेदीले बताए ।

आईडीएस वेयर्सको घटनापछि सामाजिक सञ्जालमा केही प्रयोगकर्ताले अभिव्यक्ति स्वतन्त्रता र रचनात्मकतामाथि सरकारले अंकुश लगाउन खोजेको टिप्पणी गरेका छन् ।

आईडीएस वेयर्सले हाललाई सम्पूर्ण डिजाइनको अर्डर रोके पनि पहिले नै अर्डर गरिसकेका ग्राहकलाई यो हप्ताभित्र टिसर्ट वितरण गरिने जनाएको छ ।

पछिल्लो अध्यावधिक: साउन ३, २०८२ १८:४७