काठमाडौँ । सरकारले एसएमएसबाट दिँदै आएको विपद् सम्बन्धी पूर्व सूचना भरपर्दो नभएको भन्दै फोनमा कल गरेर नै जानकारी दिन सरकारलाई निर्देशन दिइएको छ । बिहीबार सिंहदरबारमा बसेको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकले वर्षायाममा हुने प्राकृतिक विपत्तिका बारेमा फोनबाट जानकारी दिन निर्देशन दिएको हो ।
फोन कल गरेर जानकारी दिने कामलाई ‘पाइलट प्रोजेक्ट’को रूपमा अघि बढाउन सरकारलाई सुझाव दिइएको समिति सचिव शिवदत्त बरालले बताए । “यो एसएमएस भन्दा अलि जटिल प्रक्रिया पनि हो । त्यसैले पहिला जोखिमयुक्त कुनै एक क्षेत्रबाट कलबाट जानकारी दिन सुरु गरेर विस्तारै अन्य क्षेत्रमा पनि लागु गर्न भनेका छौँ,” उनले भने ।
यसका लागि एनसेल र नेपाल टेलिकमजस्ता दूरसञ्चार कम्पनीसँग सहकार्य गर्न भनिएको उनले बताए । एसएमएस भन्दा कल महँगो भएकाले सोही अनुसार बजेटको व्यवस्था गर्न समेत निर्देशन दिइएको छ ।
यस्तै यातायातका क्रममा बाढी पहिरोको विपदमा भए तत्काल उद्धार गर्न, जोखिम क्षेत्रमा बसोबास गर्ने मानिसहरूको स्थानान्तरण, उद्धार तथा राहत व्यवस्थापन गर्न, पीडितलाई तत्काल राहत वितरण लगायतका काम गर्न सरकारका सम्बन्धित निकायलाई निर्देशन दिइएको छ ।
पछिल्लो अध्यावधिक: साउन ३, २०८२ १८:४८
