close

नेपालमा टेलिग्राममाथि प्रतिबन्ध, तत्काल बन्द गर्न सेवाप्रदायकलाई प्राधिकरणको निर्देशन

टेकपाना टेकपाना

साउन २, २०८२ १७:४८

नेपालमा टेलिग्राममाथि प्रतिबन्ध, तत्काल बन्द गर्न सेवाप्रदायकलाई प्राधिकरणको निर्देशन

काठमाडौँ । सरकारले चर्चित मेसेजिङ एप टेलिग्राममाथि प्रतिबन्ध लगाएको छ । अनलाइन ठगी, मनी लाउन्डरिङ (सम्पत्ति शुद्धीकरण) जस्ता गम्भीर आपराधिक गतिविधिमा यसको प्रयोग बढेको भन्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको पत्र बमोजिम नेपाल दूरसञ्चार प्राधिकरणले सम्पूर्ण दूरसञ्चार तथा इन्टरनेट सेवा प्रदायकहरूलाई तत्काल टेलिग्रामको पहुँचमा रोक लगाउन निर्देशन दिएको हो ।

प्राधिकरणले शुक्रबार विज्ञप्ति जारी गर्दै भनेको छ, "नेपालमा सञ्चालनमा रहेको टेलिग्राममार्फत अनलाइन फ्रडको संख्या निरन्तर बढिरहेको र मनी लाउन्डरिङजस्ता गम्भीर अपराधमा संलग्नता समेत रहेको बुझिन आएकोले उक्त टेलिग्राम एपको पहुँचमा तत्काल रोक लगाउने/बन्द गर्ने व्यवस्थाका लागि सम्बन्धित सबै दूरसञ्चार सेवा प्रदायकहरूलाई यसै सूचनामार्फत निर्देशन गरिएको छ ।"

योसँगै अब सेवा प्रदायकहरूले आफ्नो नेटवर्कबाट टेलिग्राममा पहुँच बन्द गर्नुपर्ने भएको छ । जसका कारण नेपालमा रहेका लाखौं प्रयोगकर्ता प्रभावित हुनेछन् । ठुला समूह, च्यानल र बलियो सुरक्षा प्रणालीका कारण युवा पुस्तामाझ चर्चित रहेको टेलिग्राम पछिल्लो समय आपराधिक समूहहरूको रोजाइमा पर्दै आएको सरकारको विश्लेषण छ ।

पछिल्ला केही महिनायता टेलिग्राममार्फत रोजगारीको प्रलोभन देखाएर, क्रिप्टो कारोबार गराएर तथा अन्य विभिन्न बहानामा ठगी गर्ने घटनाहरू बढेको भन्दै शुक्रबार मन्त्रालयले टेलिग्राम बन्द गराउन दूरसञ्चार प्राधिकरणलाई पत्र लेखेको थियो । पत्र पाउनासाथ प्राधिकरणले अनुमतिप्राप्त सबै सेवा प्रदायकलाई टेलिग्रामको पहुँचमा रोक लगाउन निर्देशन दिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गत रहेको सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी कसुर निवारणसम्बन्धी राष्ट्रिय समन्वय समितिले बिहीबार मात्रै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई टेलिग्राम बन्द गराउन पत्राचार गरेको थियो । ठगी, सट्टेबाजीसहित सम्पत्ति शुद्धीकरणका घटनाहरुमा टेलिग्राम अधिक प्रयोग भइरहेको रिपोर्टिङ नेपाल प्रहरीले समेत सो समितिमा गराउँदै आएको थियो । त्यसपछि सरकार टेलिग्रामप्रति आक्रामक बनेको छ ।

बिहीबार समितिको पत्र पाउनासाथ सञ्चार मन्त्रालयले टेलिग्रामको आधिकारिक प्रतिनिधि वा कम्पनीसँग संवाद गर्न खोजेको थियो । तर, फोकल पर्सन नभेटेपछि शुक्रबार मन्त्रालयले दूरसञ्चार प्राधिकरणलाई पत्राचार गर्दै नेपालमा टेलिग्रामको पहुँच बन्द गर्न आग्रह गरेको थियो । त्यसपछि प्राधिकरणले दूरसञ्चार अपरेटर र इन्टरनेट सेवा प्रदायकहरुलाई नेपालमा टेलिग्रामको पहुँच तुरुन्तै बन्द गर्न निर्देशन जारी गरेको हो ।

सम्बन्धित समाचार: सम्पत्ति शुद्धीकरणको ग्रे लिस्टबाट निकाल्ने नाममा टेलिग्राममाथि सरकारको गिद्धे नजर

पछिल्लो अध्यावधिक: साउन ३, २०८२ १९:२५