काठमाडौँ । नयाँ स्मार्टफोन सार्वजनिक हुनुअघि नै त्यसका फिचर र डिजाइन बाहिरिने (लिक) समस्या नौलो होइन । यस्तो लिकप्रति कम्पनीहरूले अनेक रणनीति अपनाउँछन् । यस्तो अवस्था आउँदा एप्पल सामान्यतः कानुनी उपचार खोज्न अदालत जाने गर्छ । तर गुगलले भने यसपटक अनौठो र आक्रामक शैली अपनाएको छ ।
बजारमा आफ्नो आउँदो स्मार्टफोन ‘पिक्सेल १०’ को बारेमा विभिन्न हल्ला चलिरहेका बेला गुगलले आफैं फोनको डिजाइन सार्वजनिक गरिदिएको छ । अगस्ट २० मा सार्वजनिक गर्ने तयारीमा रहेको पिक्सेल १० को डिजाइन गुगलले एक महिनाअघि नै बाहिर ल्याएर सबैलाई ‘सरप्राइज’ दिएको हो ।
गुगलले आफ्नो आधिकारिक वेबसाइटमा फोनको भिडिओ नै पोस्ट गरेको छ । उक्त भिडिओ र तस्बिरले फोनको पछाडिपट्टि तीन ओटा क्यामेराको सेटअप रहेको देख्न सकिन्छ । यस्तोखाले क्यामेरा सेटअप पिक्सेलको बेस मोडेलका लागि पहिलो हुनेछ ।
गुगलको पुरानै तरिका
आधिकारिक घोषणाअघि नै उत्पादनको डिजाइन सार्वजनिक गर्ने गुगलको यो तरिका नयाँ भने होइन । गत वर्ष पनि कम्पनीले पिक्सेल ९ प्रो सार्वजनिक हुनुभन्दा केही हप्ताअघि नै यसको डिजाइन बाहिर ल्याएको थियो । विश्लेषकहरू यसलाई गुगलको रणनीतिक योजनाको रूपमा हेर्छन् ।
एआईमा विशेष ध्यान
पिक्सेल १० मा के–कस्ता नयाँ फिचर होलान् भन्ने सबैको चासोको विषय हो । प्रविधि विश्लेषकहरूका अनुसार यसपटक गुगलले एआईमा ठुलो फड्को मार्ने देखिएको छ । गुगलले गएको मे महिनामा आफ्नो डेभलपर कन्फरेन्स (I/O) मा आफ्नै एआई मोडल ‘जेमिनाई’मा आधारित नयाँ फिचरहरू घोषणा गरेको थियो । तीमध्ये धेरैजसो नयाँ फिचरहरू पिक्सेल १० मा कुनै न कुनै रूपमा समावेश हुने अनुमान छ ।
अगस्ट २० मा केके सार्वजनिक होला ?
गुगलले आफ्ना यस्ता कार्यक्रममा फोनका अलावा अन्य उत्पादन पनि सार्वजनिक गर्ने गरेको छ । गत वर्षको कार्यक्रममा पिक्सेल वाच ३ र त्यसअघि पिक्सेल बड्स २ प्रो वायरलेस इयरबडहरू सार्वजनिक भएका थिए । त्यसैले अगस्ट २० को कार्यक्रममा पिक्सेल वाच ४ वा नयाँ इयरबडहरू पनि सार्वजनिक हुनसक्ने सम्भावना छ ।
पछिल्लो अध्यावधिक: साउन ६, २०८२ १७:३८
