close

टेलिकमको चरम लापरबाही, ४ घण्टापछि बल्ल चल्न थाल्यो बिलिङ सिस्टमको गडबडीले अवरुद्ध डेटा

टेकपाना टेकपाना

साउन १२, २०८२ १८:५५

टेलिकमको चरम लापरबाही, ४ घण्टापछि बल्ल चल्न थाल्यो बिलिङ सिस्टमको गडबडीले अवरुद्ध डेटा

काठमाडौँ । बिलिङ प्रणालीमा गम्भीर समस्या आउँदा अवरुद्ध भएको नेपाल टेलिकमको डेटा सेवा चार घण्टापछि बल्ल चल्न थालेको छ । कम्पनीले फोरजी तथा भोल्टे सेवामा प्राविधिक समस्या आएको भनेपनि टेलिकमको बिलिङमा समस्या आउँदा दिउँसो पौने २ बजेदेखि करिब ६ बजेसम्म देशभर डेटा सेवा प्रभावित बनेको हो ।

टेलिकमकी निमित्त प्रबन्ध निर्देशक सबिना मास्केले टेकपानासँगको फोनसम्पर्कका क्रममा सुरुआतमा बिलिङमा समस्या आएकाले डेटा सेवा प्रभावित बनेको स्वीकारिन् । तर, लगत्तै उनले कोर नेटवर्कमा समस्या आएको भन्दै बोली फेरिन् । समस्या पहिचान भइसकेकाले प्राविधिक टोली त्यसको समाधानमा लागेकाले छिट्टै डेटा चल्ने उनले बताइन् ।

पहिलो फोन सम्पर्क काटिएको तीन मिनेटपछि पुन: फोन गर्दै उनले डेटा सेवा ‘अप’ भएको जानकारी दिइन् । तर, त्यतिबेलासम्म पनि टेलिकमको फोरजी डेटा चलेको थिएन । सवा ६ बजेबाट मात्रै टेलिकमको डेटा चल्न थालेको हो ।

यसैबिच बिलिङ प्रणालीमा समस्या आउँदा प्रयोगकर्ताहरुलाई टेलिकमको शर्टकोड १४१५ नम्बरबाट रिचार्ज गर्दा पाइने बोनस ‘एक्स्पायर्ड’ भएको भन्दै गलत एसएमएस समेत गएको छ । जबकि सोमबार बिहान ११:५० मा टेलिकमको ६९९ रुपैयाँ पर्ने जीएसएम पोस्टपेड सजिलो अनलिमिटेड रेन्टल प्याक किनेका एक प्रयोगकर्तालाई दिउँसो ३:४७ बजे “Dear Customer, your Bonus on Recharge 2GB per Day is expired” भन्दै गलत एसएमएस पठाइएको थियो । अन्य कतिपय प्रयोगकर्ताले डेटा प्याक छँदै सकिएको मेसेज आएको गुनासो गरेका छन् । 

पौने २ बजेदेखि चल्न छोडेको मोबाइल डेटा के कारणले अवरुद्ध भयो भनेर सर्वसाधारण प्रयोगकर्तालाई दिउँसो ४:२६ बजे मात्रै कम्पनीले आधिकारिक फेसबुक पेजबाट जानकारी गराएको थियो ।  “छिट्टै चल्छ होला भनेर जानकारी गराएनौँ । तर, बनाउन खोज्दा ढिलो हुँदै गएपछि अब चाहिँ सार्वजनिक सूचना जारी गर्नुपर्छ भनेर हाल्यौँ,” निमित्त प्रबन्ध निर्देशक मास्केले भनिन् ।

गत जेठ २५ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम बिलिङ ठेक्कामा तत्कालीन प्रबन्ध निर्देशक सङ्गीता पहाडी अर्यालसहितलाई भ्रष्टाचार मुद्दा दायर गरेको थियो । टेलिकमले थोत्रो बिलिङ प्रणाली प्रयोग गर्दा सेवा पटक पटक अवरुद्ध हुँदै आएको छ । टेलिकमको बिलिङ प्रणाली खरिदको ठेक्का विवादित बन्दै आएको छ । पछिल्लो समय भ्रष्टाचारको मुद्दा पछि नयाँ ठेक्का अलपत्र बनेको छ ।

पछिल्लो अध्यावधिक: साउन १२, २०८२ १८:५५