काठमाडौँ । ट्वीटरका सह-संस्थापक एवम् ब्लकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्याक डोर्सीले यसै महिनाको सुरुमा सार्वजनिक गरेको पियर-टु-पियर र ब्लुटुथमा आधारित मेसेजिङ एप ‘बिटच्याट’ अब सर्वसाधारणका लागि उपलब्ध भएको छ । एप्पलको एपस्टोर उपलब्ध भएसँगै आईफोन, म्याक, आईप्याड र एप्पल भिजन प्रो भएका जोकोहीले पनि यो एप प्रयोग गर्न सक्नेछन् ।
डोर्सीले आफ्नो आर्थिक सहयोगमा रहेको ओपन-सोर्स डेभलपमेन्ट ग्रुप ‘एन्ड अदर स्टफ’ को छत्रछायामा बिटच्याट विकास गरेका हुन् । एप स्टोरमा उपलब्ध विवरणअनुसार यस एपले प्रयोगकर्तालाई आफ्नो ईमेल एड्रेस वा फोन नम्बर बिनै भौतिक रूपमा नजिक रहेका अन्य व्यक्तिहरूसँग कुराकानी गर्न अनुमति दिन्छ । यसले गर्दा बिटच्याट व्यक्तिगत कार्यक्रमहरूका लागि उपयोगी हुनसक्ने अनुमान गरिएको छ ।
यस एपमा पठाइएका मेसेजहरू गोप्य र इन्क्रिप्टेड हुने डोर्सीको दाबी छ । यसमा रहेको ‘प्यानिक मोड’ सुविधाले प्रयोगकर्तालाई तीन पटक ट्याप गरेर आफ्नो सम्पूर्ण बिटच्याट डेटा तुरुन्तै मेटाउने सुविधा पनि दिन्छ ।
डोर्सीका अनुसार उनले ब्लुटुथ मेस नेटवर्क, रिले एन्ड स्टोर एन्ड फर्वार्ड मोडेल, मेसेज इन्क्रिप्सन मोडेल र अन्य केही कुरा परीक्षण गर्न बिटच्याट बनाएका हुन् ।
यो एप चलाउन इन्टरनेट आवश्यक नपर्ने भएकाले इन्टरनेट वा मोबाइल डेटा बन्द गरिएका अवस्थामा समेत सन्देश पठाउन सकिनेछ । ब्लुटुथ मेस मेसेजिङ सुविधा प्रदान गर्ने अन्य एपहरू एक दशकभन्दा अघिदेखि नै देखा पर्न थालेका हुन् । मोबाइल डेटा र वाई-फाई कनेक्टिभिटीमा रोक लगाएको अवस्थामा यस्तो एप उपयोगी विकल्प बन्ने बताइन्छ ।
सन् २०२१ मा ट्वीटरको कार्यकारी प्रमुख पदबाट राजीनामा दिएपछि डोर्सी बिटकोइन र ओपन-सोर्स प्रविधिको पूर्वाधार निर्माणमा केन्द्रित छन् । ब्लक कम्पनीमार्फत उनले यस्ता प्रविधिहरूमा लगानी तथा विकास गरिरहेका छन् ।
bitchat?
— jack (@jack) July 28, 2025
now on the App Store: https://t.co/uzB0uqRJGy
पछिल्लो अध्यावधिक: साउन १३, २०८२ ११:५१
