टेलिकमको मोबाइल डेटामा देखिएको गम्भीर समस्या विश्लेषण गर्दै एनटीए, परे अध्ययन समिति गठन हुने
साउन १३, २०८२ १७:१५
काठमाडौँ । सोमबार दिउँसो नेपाल टेलिकमको डेटा सेवामा देखिएको समस्या गम्भीर भएको विश्लेषण गर्दै नियामक नेपाल दूरसञ्चार प्राधिकरणले अनुसन्धान अघि बढाएको छ । सोमबार नै प्राधिकरणका अध्यक्ष भूपेन्द्र भण्डारीले मातहतको अनुगमन महाशाखालाई के कारणले टेलिकमको सेवामा समस्या आएको हो भन्नेबारे आवश्यक खोजबिन गर्न सर्कुलर गरेका हुन् ।
प्राधिकरणका निर्देशक तथा प्रवक्ता मीनप्रसाद अर्यालले सम्बन्धित शाखालाई टेलिकमको सेवामा देखिएको समस्याका विषयमा जाँचबुझ गर्न सर्कुलर भइसकेको जानकारी दिए ।
“अत्यावश्यक सेवामा देखिएको समस्या के कारणले उत्पन्न भयो भन्नेबारे हामीले आन्तरिक रूपमा आफ्नो सम्बद्ध शाखालाई हेर्न भनिसकेका छौँ । उसले सोहीअनुसार काम अघि बढाइसकेको छ । त्यसपछि थाहा होला, समस्या के कारणले आएको रहेछ भनेर,” अर्यालले भने ।
प्राधिकरण नेतृत्व भने मातहतको महाशाखाबाट प्रारम्भिक ब्रिफिङ आएपछि अध्ययन समिति बनाएरै सोमबार टेलिकमको बिलिङ प्रणालीका कारण निम्तिएको गम्भीर समस्या जाँचबुझ गर्ने तयारीमा छ । बिलिङको कोर प्रणालीमा समस्या देखिएकाले प्राविधिकसहितको समिति बनाएर कारण पत्ता लगाउनुपर्नेमा प्राधिकरण छ ।
टेलिकमको बिलिङ प्रणालीमा गम्भीर समस्या आउँदा डेटा सेवा सोमबार चार घण्टासम्म अवरुद्ध बनेको थियो । कम्पनीले फोरजी तथा भोल्टे सेवामा प्राविधिक समस्या आएको दाबी गरे पनि बिलिङ प्रणालीमा गम्भीर समस्या आउँदा दिउँसो पौने २ बजेदेखि करिब ६ बजेसम्म देशभर डेटा सेवा प्रभावित बनेको थियो ।
बिलिङ प्रणालीमा समस्या आउँदा प्रयोगकर्ताहरूलाई टेलिकमको सर्टकोड १४१५ नम्बरबाट रिचार्ज गर्दा पाइने बोनस ‘एक्स्पायर्ड’ भएको भन्दै गलत एसएमएससमेत गएको थियो । कतिपय प्रयोगकर्ताले डेटा प्याक छँदै सकिएको मेसेज आएको भन्दै गुनासो गरेका थिए ।
पौने २ बजेदेखि चल्न छोडेको मोबाइल डेटा के कारणले अवरुद्ध भयो भनेर सर्वसाधारण प्रयोगकर्तालाई दिउँसो ४:२६ बजे मात्रै कम्पनीले आधिकारिक फेसबुक पेजबाट जानकारी गराएको थियो ।
टेलिकमले ‘थोत्रो’ बिलिङ प्रणाली प्रयोग गर्दा सेवा पटक-पटक अवरुद्ध हुँदै आएको छ । टेलिकमको बिलिङ प्रणाली खरिदको ठेक्का विवादित बन्दै आएको छ । पछिल्लो समय भ्रष्टाचारको मुद्दापछि नयाँ ठेक्का अलपत्र बनेको छ ।
पछिल्लो अध्यावधिक: साउन १३, २०८२ १८:७
