ठगी, दुर्व्यवहार र अश्लीलता फैलिन थालेपछि टिकटकले हटायो नेपाली प्रयोगकर्तका साढे १८ लाख भिडिओ*
साउन १७, २०८२ १३:१२
काठमाडौँ । शर्ट भिडिओ शेयरिङ प्लेटफर्म टिकटकले सन् २०२५ को पहिलो त्रैमास (जनवरी-मार्च) मा नेपालबाट कम्युनिटी गाइडलाइन्स (नीति) उल्लङ्घन गर्ने १८ लाख ७६ हजार बढी भिडिओ हटाएको छ । टिकटकले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदन अनुसार सबैभन्दा धेरै भिडिओ ‘सुरक्षा र शिष्टता’ (Safety and civility) सम्बन्धी नियम उल्लङ्घन गरेका कारण हटाइएका हुन् ।
यसअन्तर्गत तीन लाख ६४ हजारभन्दा बढी भिडिओ हटेका छन् । यसमा घृणायुक्त अभिव्यक्ति, दुर्व्यवहार, हिंसात्मक तथा आपराधिक व्यवहार र यौन तथा शारीरिक शोषणजस्ता विषय समावेश छन् ।
प्रतिवेदन अनुसार दोस्रोमा ‘संवेदनशील’ विषयवस्तु भएका तीन लाख ४३ हजार ८४३ भिडिओ हटाइएका छन् । यसमा विशेषगरी बालबालिकाको सुरक्षासँग सम्बन्धित विषय (लागूऔषध, यौनजन्य सामग्री, दुर्व्यवहार) पर्छन् । त्यस्तै ‘ठगी, जुवा र अवैध प्रचारप्रसार’ सम्बन्धी तीन लाख २४ हजार ३८३ भिडिओ पनि टिकटकले हटाएको छ । यसमा मदिरा, सूर्तीजन्य पदार्थ, लागूऔषधको प्रचार, अनलाइन जुवा, ठगी जस्ता गतिविधि पर्छन् ।
अश्लीलता प्रदर्शन गर्ने दुई लाख ९० हजार २२९ भिडिओ र प्रयोगकर्ताको मानसिक स्वास्थ्यमा नकारात्मक असर पार्ने (आत्महत्या वा आत्म-हानि गर्न दुरुत्साहन गर्ने) एक लाख ९१ हजार २२२ भिडिओ पनि हटाइएको प्रतिवेदनमा उल्लेख छ ।
त्यसैगरी गोपनीयता भङ्ग गर्ने एक लाख ३० हजार भिडिओ, एआई-सिर्जित तथा अरूका कपी गरेका ७२ हजार भिडिओ, भ्रामक सूचना दिने ५६ हजार भिडिओ र अन्य विविध कारणले नीति उलङ्घन गर्ने ५२ हजार भिडिओ हेटेका छन् ।
हटाइएकामध्ये ५१ हजारभन्दा बढी भिडिओ फिर्ता !
टिकटकले स्वचालित तथा ह्युमन मोडेरेसन (मानवीय समीक्षा प्रणाली)बाट भिडिओ हटाउने गर्दछ । यस क्रममा कहिलेकाहीँ गल्तीले पनि भिडिओ हट्न सक्ने भन्दै प्रयोगकर्तालाई अपिल गर्ने सुविधा दिएको छ ।
यस अवधिमा हटाइएकामध्ये ५१ हजार ७६८ भिडिओलाई प्रयोगकर्ताको अपिलपछि पुनः ‘रिस्टोर’ (पहिलकै अवस्थामा फर्काइएको) गरिएको प्रतिवेदनमा उल्लेख छ ।
*समाचारको शीर्षक परिवर्तन गरिएको छ । स.
पछिल्लो अध्यावधिक: साउन १९, २०८२ ११:५५
