close

फ्याक्टचेकः नपत्याउनुहोस् ! बालेनले रविको समर्थनमा कविता लेखेका छैनन्, भाइरल पोस्ट झुटो हो

हिक्मत आचार्य हिक्मत आचार्य

साउन १७, २०८२ १३:५५

फ्याक्टचेकः नपत्याउनुहोस् ! बालेनले रविको समर्थनमा कविता लेखेका छैनन्, भाइरल पोस्ट झुटो हो

काठमाडौँ । केही दिनयता काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले राष्ट्रिय स्वतन्त्र पार्टी रवि लामिछानेको समर्थनमा पोस्ट राखेको दाबीसहितको एक पोस्ट भाइरल छ । पोस्टमा बालेनले ‘यदि रवि दोषी हुन् भने, यो देशको पूरै सिस्टम अपराधी हो’ उल्लेख गरेको दाबी गरिएको छ । टेकपाना फ्याक्टचेकका क्रममा यो पोस्ट मिथ्या रहेको पुष्टि भएको छ । 

दाबी

३१ जुलाई २०२५, बिहान ४ः३१ बजे गोविन्द विश्वकर्मा नामका फेसबुक प्रयोगकर्ताले एउटा स्क्रिनशट शेयर गरे । पोस्टमा काठमाडौँ महानगरका प्रमुख बालेन्द्र शाह (बालेन)ले आफ्नो आधिकारिक फेसबुक पेजमा राखेको पोस्टको स्क्रिनशट राखेको जस्तो देखाइएको छ । उक्त स्क्रिनशटको पनि क्याप्सनमा लेखिएको छ,

“यदि रबि दोषी हुन् भने, यो देशको पूरै सिस्टम अपराधी हो !"

म बालेन हुँ- मलाई न पार्टीको डर छ, न पावरको लोभ ! रबिको दोष होइन कि ऊ बोल्छ, दोष त तिमीहरूमा छ जो साँचो सुन्न सक्दैनौ !

देशबासी हो, रबिलाई टोलाउने बेला होइन साथ दिने बेला हो ।

किनकि आज रबिको मुख थुनिन्छ, भोलि तिम्रो आवाज नै बन्द हुनेछ ।”

तल फोटोमा भने रवि लामिछाने र बालेन सँगै भएको देखाइएको छ । पृष्ठभूमिमा एक नगर प्रहरी देखिन्छन् भने अरू सर्वसाधारण देखिएका छन् । 

यो सामग्री तयार पार्दासम्म उक्त पोस्टमा ६५ हजार बढी रियाक्सन, ३३०० बढी कमेन्ट, २८०० बढी शेयर आएको छ । हेर्नुहोस् ओरिजिनल पोस्ट, आर्काइभ पोस्ट र स्क्रिनशट ।

अनुसन्धान

गोविन्द विश्वकर्मा नामका फेसबुक प्रयोगकर्ताले राखेको पोस्ट भाइरल भइरहेको पाइएपछि टेकपाना फ्याक्टचेक डेस्कले यसबारे थप अनुसन्धान गर्न थाल्यो । त्यसका लागि ‘Balen’, ‘Rabi Lamichhane’ जस्ता किवर्ड फेसबुकमा राखेर हेर्‍यौँ । त्यस क्रममा ३० जुलाई २०२५ मा कृष्ण बस्नेत नामका फेसबुक प्रयोगकर्ताले ‘Rabi Lamichhane Party- (RSP)’ नामक फेसबुक ग्रुपमा सोही स्क्रिनशट राखेको पाइयो । उक्त पोस्टमा २२ सय बढी रियाक्सन, ४४६ कमेन्ट, ४५४ शेयर आएको देखिन्छ । हेर्नुहोस् ओरिजिनल पोस्ट, आर्काइभ पोस्ट र स्क्रिनशट ।

 

त्यस्तै श्रेष्ठ राजन, मदन सुनम र रमेश ओली नामका फेसबुक प्रतयोगकर्ताले सोही क्याप्सन र स्क्रिनशट आफ्नो टाइमलाइनमा पोस्ट गरेका छन् । ओरिजिनल पोस्टका लागि यहाँ, यहाँ यहाँ क्लिक गर्नुहोस् । ती सामग्रीको आर्काइभ यहाँ, यहाँ यहाँ क्लिक गरेर हेर्न सक्नुहुन्छ ।

त्यस्तै युट्युबमा ‘खबर बुलेटिन टिभी’ नामको च्यानलले पनि ‘रबि लामिछानेको पक्षमा बालेन उभिए!’ भन्दै क्लिकबेट युट्युब भिडिओको लिङ्क राखेर सोही पोस्ट शेयर गरेका छन् । त्यसमा ७६०० बढी लाइक र २२२ कमेन्ट आएको देख्न सकिन्छ । हेर्नुहोस् ओरिजिनल पोस्ट, आर्काइभ पोस्ट र स्क्रिनशट ।

सबैभन्दा पहिले बालेनले रवि लामिछानेलाई समर्थन गर्दै कविता लेखेको भन्ने दाबीको तथ्यजाँच गर्नतर्फ लागौं । उक्त पोस्टमा दुई ओटा फरक साइजको फन्ट राखिएको देख्न सकिन्छ । फेसबुक पेजबाट पोस्दा यसरी फरक फरक आकारको फन्ट राख्न मिल्दैन । यसबाट यो क्याप्सन एडिटेड हो भन्ने देखिन्छ । यसलाई थप पुष्टि गर्न हामीले किवर्ड खोज्नेदेखि बालेनको टाइमलाइन जाँच गर्ने काम गर्‍यौं । त्यस क्रममा कतै पनि यो पोस्ट फेला परेन । त्यस्तै स्क्रिनशटमा राखिएको फोटोलाई रिभर्स इमेज सर्च गर्दा ‘नेपालखबरले’ राखेको बालेनने गरे सिंहदरबारको फोहोर नउठाउने घोषणा शीर्षकको समाचारमा फोटो भेटियो । यसमा नेपाल खबरको वाटरमार्क रहेको छ । 

यही फोटोमा रवि लामिछानेको फोटो जोडेर राखेको अर्को फोटो हिमालपोस्ट डटकममाा २४ पुष २०७९ मा अपलोड गरेको देखियो । 

सन् २४ नोभेम्बर २०२२ मा बाहेन शाह फ्यान नामक फेसबुक पेजले पनि सोही एडिटेड फोटो राखेर ‘देशलाई यस्तै युवाहरूको खाँचो छ’ क्याप्सन राखेको पाइयो । 

यसरी एडिट गरिएको रवि लामिछाने र बालेन शाहको फोटो अहिले बालेनले राखेको जस्तो देखाएर भाइरल बनाइरहेको पुष्टि हुन्छ । 

दाबी

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले रवि लामिछानेको समर्थनमा आफ्नो आधिकारिक फेसबुक पेजबाट एक कविता/पोस्ट राखेका थिए, जसमा ‘यदि रवि दोषी हुन् भने, यो देशको पूरै सिस्टम अपराधी हो’ भनिएको थियो ।

दाबीकर्ता

गोविन्द विश्वकर्मा, कृष्ण बस्नेत, श्रेष्ठ राजन, मदन सुनम, रमेश ओली लगायत अन्य फेसबुक प्रयोगकर्ता, खबर बुलेटिन टिभी नामक युट्युब च्यानल ।

तथ्य

भाइरल बनाइएको स्क्रिनशटमा दुई फरक आकारको फन्ट प्रयोग गरिएको छ जुन सामान्य फेसबुक पोस्टमा सम्भव हुँदैन । यसले पोस्ट सम्पादन (एडिट) गरिएको पुष्टि गर्छ । साथै प्रमुख बालेन शाहको आधिकारिक फेसबुक पेजमा खोजी गर्दा त्यस्तो कुनै पनि पोस्ट भेटिएन । त्यसैगरी पोस्टमा प्रयोग गरिएको तस्बिर पनि सम्पादन गरिएको पाइएको छ । बालेनको मूल तस्बिर ‘नेपालखबर’को समाचारबाट लिइएको हो भने रवि लामिछानेको तस्बिर पछि जोडिएको थियो । यो जोडिएको (एडिटेड) तस्बिर यसअघि नै अन्य समाचार साइट र फेसबुक पेजमा प्रयोग भइसकेको थियो ।

निष्कर्ष

काठमाडौँका प्रमुख बालेन शाहले रवि लामिछानेको समर्थनमा कविता लेखेको भनी गरिएको दाबी भ्रामक र मिथ्या हो । भाइरल पोस्ट एउटा सम्पादन गरिएको (एडिटेड) स्क्रिनशट र पुरानो एडिटेड फोटो प्रयोग गरेर बनाइएको हो । एडिटेड फोटोको आडमा हुँदै नभएको पोस्ट बनाएर मिथ्या सूचना फैलाउन खोजेको पुष्टि हुन्छ ।

प्रतिक्रिया

तपाईंले हाम्रो वेबसाइट, सामाजिक सञ्जालका ह्यान्डल (फेसबुक, इन्स्टाग्राम, टिकटक, एक्स, युट्युब, लिङ्क्डइन) वा [email protected] मा तथ्य जाँच गर्नुपर्ने सामाजिक सञ्जालका पोस्ट पठाउन सक्नु हुनेछ । तथ्य जाँचलाई लिएर कुनै प्रतिक्रिया वा सुझाव भए हामीलाई ईमेल पठाउनु होला ।

पछिल्लो अध्यावधिक: साउन १८, २०८२ ९:२८