close

क्यापकटलाई चुनौती दिन इन्स्टाग्रामको नयाँ चाल, ‘एडिट्स’ एपमार्फत बनाइएका भिडिओलाई बढी रिच

टेकपाना टेकपाना

साउन १८, २०८२ १२:४७

क्यापकटलाई चुनौती दिन इन्स्टाग्रामको नयाँ चाल, ‘एडिट्स’ एपमार्फत बनाइएका भिडिओलाई बढी रिच

काठमाडौँ । इन्स्टाग्रामले आफ्नो नयाँ भिडिओ एडिटिङ एप ‘एडिट्स’ (Edits) लाई प्रवर्द्धन गर्न विशेष रणनीति अपनाएको छ । कम्पनीले अब ‘एडिट्स’ एप प्रयोग गरेर बनाइएका भिडिओलाई आफ्नो प्लेटफर्ममा तुलनात्मक रूपमा बढी ‘रिच’ (पहुँच) दिने भएको हो ।

यो कदम भिडिओ एडिटिङ बजारमा बढी प्रयोग हुने ‘क्यापकट’ जस्ता एपलाई टक्कर दिने उद्देश्यले चालिएको मानिएको छ । इन्स्टाग्रामका प्रमुख एडम मोसेरीले हालै एक भिडिओ सन्देशमार्फत यो जानकारी दिएका हुन् । उनका अनुसार यो सुविधा प्रयोगकर्तालाई नयाँ एपतर्फ आकर्षित गर्न सीमित समयका लागि ल्याइएको हो ।

“अहिलेका लागि ‘एडिट्स’ले रिच बढाउन केही मद्दत गर्छ तर यो सधैंका लागि रहने छैन,” मोसेरीले भने । उनले प्रयोगकर्तालाई सचेत गराउँदै थपे, “रिच बढाउने लोभमा सामान्य भिडिओलाई एडिट गरे जस्तो देखाउन मात्र एपको प्रयोग नगर्नुहोला । हामी त्यसलाई सजिलै पत्ता लगाउन सक्छौँ ।”मोसेरीका अनुसार यो रणनीतिको मुख्य उद्देश्य ‘एडिट्स’ एपलाई सुरुवाती चरणमा स्थापित गराउनु (बुटस्ट्र्याप गर्नु) हो । साथै ‘एडिट्स’ बटनमा क्लिक गर्ने प्रयोगकर्ताको व्यवहारलाई र्‍याङ्किङमा समावेश गरेर यस्ता भिडिओलाई साँच्चै रुचि राख्ने दर्शक र एप प्रयोग गर्न सक्ने सम्भावित प्रयोगकर्तासम्म पुर्‍याउन मद्दत मिल्ने उनको भनाइ छ ।

इन्स्टाग्रामको यो कदमले भिडिओ एडिटिङ बजारमा बलियो पकड जमाएको बाइटडान्सको ‘क्यापकट’ जस्ता एपलाई प्रत्यक्ष चुनौती दिने देखिन्छ । सुरुवाती समयमा क्यापकटले भिडिओ सजिलै एडिट गर्ने सुविधा दिएको थियो । वाटरमार्क पनि भिडिओको अन्तिममा हुन्थ्यो, जसलाई प्रयोगकर्ताले हटाउन सक्थे । तर अहिले भिडिओमा वाटरमार्क ओभरल्याप गरेर राख्न थालेको छ । वाटरमार्क हटाउनका लागि यसको प्रिमियम सेवा लिनुपर्ने हुन्छ । अधिकांश फिचरहरू प्रिमियम बनाइएका छन् । निःशुल्क उपलब्ध फिचर प्रयोग गर्नका लागि पनि अनेकौं विज्ञापन हेर्नुपर्ने बाध्यता छ ।

त्यस्तै टिकटकमाथि प्रतिबन्ध लागेका देशमा क्यापकट पनि ब्लक छ । संयुक्त राज्य अमेरिकामा पनि टिकटक प्रतिबन्ध लाग्ने सम्भावना उच्च छ । त्यसैलाई मध्यनजर गर्दै कम्पनीले अमेरिकाका लागि विशेष किसिमको एप बनाउने तयारी गरेको समाचार आइरहेका छन् । यदि टिकटकको वैकल्पिक एप प्रयोगमा आयो र पुरानो एप बन्द भयो भने क्यापकट चल्छ वा चल्दैन भन्ने स्पष्ट छैन । त्यसैलाई लक्षित गर्दै इन्स्टाग्रामले आफ्नो भिडिओ एडिटिङ एपलाई विशेष प्राथमिकताका साथ अगाडि सारेको छ । 

तुलनात्मक हिसाबले एडिट्समा क्यापकटभन्दा निकै कम फिचर छन् । तर, कम्पनीले दिनानुदिन नयाँ नयाँ फिचर, इफेक्ट, ट्रान्जिसन थप्दै गइरहेको छ । 

यो पनि पढ्नुहोस्:  भिडिओ एडिट गर्दा क्यापकटको वाटरमार्क र विज्ञापनबाट दिक्क हुनुहुन्छ ? प्रयोग गर्नुहोस् यो एप

पछिल्लो अध्यावधिक: साउन १८, २०८२ १२:५४