ड्रोन आतंकले भारतमा नेपाली मूलकी युवतीमाथि निर्घात कुटपिट, यातना दिएको भिडिओ भाइरल
साउन १९, २०८२ १५:५४
काठमाडौँ । भारतको उत्तर प्रदेशस्थित बरेलीमा नेपाली मूलकी युवतीलाई चोरको आरोप लगाउँदै अमानवीय व्यवहार गरेको भिडिओ सामाजिक सञ्जाल भाइरल भएको छ । शुक्रबार राति भएको घटनामा युवतीलाई डोरीले बाँधेर निर्घात कुटपिट गरेको देखिन्छ ।
भारतीय सञ्चारमाध्यम फ्री प्रेस जर्नलका अनुसार नोएडामा काम गर्ने नेपाली मूलकी युवती सुस्मिता शालु (उपनाम काजल) लाई भिडले नियन्त्रणमा लिई कुटपिट गरेको हो । यसबारे स्थानीय प्रहरीले तत्काल कारबाही अगाडि बढाउँदै चार जनालाई पक्राउ गरेको बरेलीका एसपी (सिटी) मनिष पाण्डेले एक भिडिओमा बताएका छन् । घटनाका अन्य संलग्नको खोजी भइरहेको पनि उनले जानकारी दिएका छन् ।
के थियो घटना ?
यो घटना बरेलीको किला थाना क्षेत्रअन्तर्गत पर्ने मोहल्ला बारादरीको भएको बताइएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार सुस्मिता कामको सिलसिलामा रेशम सिंह र विनय गंगवार नामका व्यक्तिले बोलाएपछि नोएडाबाट बरेली गएकी थिइन् ।
शुक्रबार राति करिब साढे १ बजे उनी घरको छतमा फोनमा कुरा गरिरहेकी थिइन् । त्यहीबेला स्थानीयले अपरिचित व्यक्ति देखेपछि ‘चोर-चोर’ भन्दै होहल्ला गर्न थाले । भिड जम्मा भएको र आफूमाथि आक्रमण हुनसक्ने डरले सुस्मिताले भाग्ने प्रयासमा छतबाट हाम फालेकी थिइन् । जसकारण उनको खुट्टामा चोट लाग्यो ।
तल खसेर घाइते भएकी उनलाई भिडले समातेर अमानवीय तरिकाले कुटपिट गर्यो । सामाजिक सञ्जालमा भाइरल भएको भिडिओमा उनलाई भिडले घेरेको र एक व्यक्तिले कपाल समातेर तानेको देखिन्छ । रगतले लतपतिएकी उनी हात जोड्दै “प्रहरीलाई बोलाउनुहोस्, म भाग्दिनँ” भन्दै गुहार मागिरहेकी छिन्, तर भिडले उनको कुरा सुनेन । उल्टै ‘डोरी ल्याएर बाँध्’ भन्दै उनलाई डोरीले बाँधेर यातना दिएको अर्को भिडिओमा देखिन्छ ।
🚨 ब्रेकिंग न्यूज़ | बरेली में दरिंदगी की हद पार
— भारत समाचार | Bharat Samachar (@bstvlive) August 2, 2025
😡 भीड़ ने युवती को चोर समझ बेरहमी से पीटा!
📍 नोएडा से बरेली काम के सिलसिले में आई नेपाल मूल की युवती
🙏 हाथ जोड़ती रही, चीखती रही
"मैं चोर नहीं हूं"
📹 फिर भी भीड़ ने की बेरहमी से पिटाई और की अभद्रता
🏃♀️ जान बचाने को युवती ने… pic.twitter.com/jz0D5R0rhW
घटनाको सूचना पाएलगत्तै किला थानाको प्रहरी टोली घटनास्थलमा पुगेको एसपी पाण्डेले बताएका छन् । प्रहरीले घाइते युवतीलाई उद्धार गरी जिल्ला अस्पतालमा भर्ना गरेको छ । पाण्डेका अनुसार युवतीको अवस्था हाल सामान्य छ ।
पीडितको उजुरीका आधारमा कानुनका गम्भीर धाराहरू अनुसार मुद्दा अगाडि बढाइएको उनले जनाएका छन् । साथै भिडिओ फुटेजका आधारमा चार जना आरोपीलाई गिरफ्तार गरिएको र संलग्न अन्य व्यक्तिहरूको पहिचान गरी उनीहरूलाई पनि चाँडै गिरफ्तार गरिने र कानुनी कारबाही गरिने उनले बताएका छन् ।
प्रहरीले पीडित महिलाको थप व्यक्तिगत जानकारी खुलाएको छैन ।
#viralvideo : बरेली में ड्रोन चोरों की अफवाहों के बीच भीड़ ने नेपाल की युवती को खंभे से बांधकर पीटा, सुस्मिता शालू उर्फ काजल रात में छत पर खड़ी होकर फोन से बात कर रही थी , मोहल्ले वालों ने चोर समझकर घेराबंदी कर ली, दहशत में युवती से छत से कूदी तो उसके पैर में चोट लग गई, घायल… pic.twitter.com/6hPTiQfOzi
— HNI (@hnibreaking) August 2, 2025
‘ड्रोन चोर’ को अफवाहले कुटपिट !
यो घटना बरेली र आसपासका क्षेत्रमा फैलिएको ‘ड्रोन चोर’ को अफवाहको पछिल्लो परिणाम भएका त्यहाँका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । केही समयदेखि त्यस क्षेत्रमा ड्रोनबाट चोरी गर्ने गिरोह सक्रिय रहेको हल्ला फैलिएको छ । यही अफवाहका कारण अपरिचित र मानसिक अवस्था ठीक नभएका व्यक्तिहरूमाथि भिडले आक्रमण गर्ने घटना बढेका छन् ।
यो घटना हुनु दुई दिनअघि मात्रै बरेलीको भोजीपुरा क्षेत्रमा एक अपरिचित व्यक्तिलाई भिडले कुटपिट गरी हत्या गरेको थियो । प्रहरीले बारम्बार अफवाहमा विश्वास नगर्न र कानुन हातमा नलिन अपिल गरे पनि यस्ता घटना रोकिएका छैनन् । प्रहरीले अफवाह फैलाउनेहरूमाथि समेत कारबाही गर्ने चेतावनी दिएको छ ।
पछिल्लो अध्यावधिक: साउन १९, २०८२ १७:०
