close

असोज १ गतेदेखि सातै प्रदेशमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य, राइड शेयरिङमा एकरूपता ल्याइने

टेकपाना टेकपाना

साउन २०, २०८२ १६:४४

असोज १ गतेदेखि सातै प्रदेशमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य, राइड शेयरिङमा एकरूपता ल्याइने

काठमाडौँ । सवारीसाधनमा अब इम्बोस्ड नम्बर अनिवार्य जडान गर्नुपर्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालको अध्यक्षतामा प्रदेशमन्त्री तथा सचिवहरू सहभागी विषयगत समितिको बैठकले असोज १ गतेदेखि इम्बोस्ड नम्बर प्लेट अनिवार्य जडान गर्नुपर्ने निर्णय गरेको हो । 

सबै प्रदेश सरकार मातहतका यातायात व्यवस्था कार्यालयहरूबाट सवारी दर्ता, नामसारी र नवीकरण गर्दा असोज १ गतेदेखि लागु हुने गरी अनिवार्य रूपमा इम्बोस्ड नम्बर प्लेट जडान गरिनेछ । यसको कार्यान्वयनका लागि प्राविधिक सहयोग यातायात व्यवस्था विभागले उपलब्ध गराउने र गृह मन्त्रालयसँग समन्वय गरी ट्राफिक प्रहरी समेत परिचालन गरी प्रभावकारी नियमन गर्ने बैठकले निर्णय गरेको छ ।  

त्यसैगरी, सुरक्षण मुद्रण सम्बन्धी ऐन, २०८१ को दफा ९ अनुसार सुरक्षण मुद्रण केन्द्र र विभागबिच छपाइ गर्न बाँकी सवारी चालक अनुमतिपत्र छपाइको लागि जेठ ९ गते समझदारी पत्रमा हस्ताक्षर भएकोमा भदौदेखि छपाइ सुरु गर्न केन्द्रलाई अनुरोध गर्ने निर्णय पनि बैठकले गरेको छ । 

कोशी, बागमती र गण्डकी प्रदेशले सवारी चालक अनुमतिपत्र छपाइका लागि खरिद प्रक्रिया अगाडि बढाइसकेकाले त्यो काम सुरु गर्न केन्द्रले अनुमति दिनुपर्ने भएकाले अनुरोध गर्ने निर्णय पनि गरेको छ । 

बैठकले १० वर्षको सवारी चालक अनुमति पत्र वितरणका लागि राजस्वमा एकरूपता कायम गर्नेमा समझदारी कायम गरेको छ । 

कार्यालयहरूको तथ्याङ्कहरूलाई डिजिटलाइज गर्ने, भुक्तानी प्रक्रियालाई विद्युतीय माध्यममा लैजाने, सफ्टवेयर प्रणालीलाई चुस्त र व्यवस्थित पार्ने, बेरुजू फर्छ्यौटलाई प्रभावकारी बनाउने, राइड शेयरिङ बारे एकरूपता कायम गरि लागु गर्ने निर्णय पनि बैठकले गरेको छ । 

पछिल्लो अध्यावधिक: साउन २०, २०८२ १६:४५