close

सीटीईभीटीको नतिजा बेहाल, कोशी प्रदेशमा मात्रै ९५ प्रतिशत विद्यार्थी फेल

टेकपाना टेकपाना

साउन २३, २०८२ २०:३८

सीटीईभीटीको नतिजा बेहाल, कोशी प्रदेशमा मात्रै ९५ प्रतिशत विद्यार्थी फेल

काठमाडौँ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) को परीक्षामा निराशाजनक परिणाम आएको छ । बुधबार प्रकाशित डिप्लोमा/प्रमाणपत्र तह पाँचौं सेमेस्टारको नतिजा अनुसार सिभिल इन्जिनियरिङ कार्यक्रमको नियमिततर्फको नतिजा अत्यन्तै निराशाजनक देखिएको हो ।

यसअन्तर्गत सिभिल इन्जिनियरिङमा नियमित परीक्षा दिने विद्यार्थीहरूमध्ये ७२% भन्दा बढी अनुत्तीर्ण भएका छन् । कोशी प्रदेशमा मात्रै कुल परीक्षार्थीमध्ये ९५ प्रतिशतभन्दा बढी विद्यार्थी अनुत्तीर्ण भएका छन् ।

कोशी प्रदेशका ३१ ओटा विभिन्न संस्थाबाट सिभिल इन्जिनियरिङको नियमित परीक्षामा सहभागी ६३९ जना विद्यार्थीमध्ये जम्मा ३० जना मात्रै उत्तीर्ण भएका छन् । यो केवल ४.६९ प्रतिशत मात्र हो, जसको अर्थ ९५.३१ प्रतिशत विद्यार्थी फेल भएका छन् ।

अन्य प्रदेशहरूको अवस्था पनि सन्तोषजनक छैन । मधेश प्रदेशमा सोही कार्यक्रमको नियमिततर्फ ४८५ जनाले परीक्षा दिएकोमा ९३ जना (१९.१८%) मात्र पास भएका छन् । लुम्बिनीमा ३०.६० प्रतिशत र सुदूरपश्चिममा ३१.३६ प्रतिशत विद्यार्थी मात्र पास भएका छन् । तुलनात्मक रूपमा सबैभन्दा राम्रो नतिजा गण्डकी प्रदेशमा देखिएको छ । गण्डकीमा २७८ जना परीक्षार्थीमध्ये १२९ जना (४६.९१%) उत्तीर्ण भएका छन् ।

यता, यही कार्यक्रमको आंशिक (ब्याक) परीक्षाको नतिजामा भने केही सुधार आएको छ । कर्णाली प्रदेशमा आंशिकतर्फ ५३.७६ प्रतिशत र गण्डकीमा ५१.४९ प्रतिशत उत्तीर्ण दर रहेको छ । सिभिल इन्जिनियरिङ (स्पेसल) कार्यक्रममा भने ६७.०९ प्रतिशतको राम्रो नतिजा आएको छ।

अन्य कार्यक्रमहरूको नतिजा पनि मिश्रित छ। कृषि इन्जिनियरिङको नियमिततर्फ ४३ जनाले परीक्षा दिएकोमा जम्मा ९ जना (२०.९३%) मात्र उत्तीर्ण भएका छन् ।

४१ संस्थाहरूको नतिजा ‘निल’ 

सिभिल इन्जिनियरिङ कार्यक्रममा मात्रै कुल ४१ संस्थाहरूको नतिजा 'शून्य' (निल) रहेको छ । यसमा ३७ संस्थाहरूको नतिजा सिधै शून्य (कुनै पनि विद्यार्थी पास नभएको) देखाइएको छ भने ४ ओटा संस्थाहरूको नतिजा ‘सबै स्थगित’ (withheld) गरिएको छ । जसको अर्थ पनि हाललाई कुनै विद्यार्थी पास भएका छैनन् ।

नियमित परीक्षामा मात्रै शून्य नतिजा आउने संस्थाहरूको संख्या प्रदेश अनुसार:

  • कोशी प्रदेश: १७ ओटा संस्था

  • मधेश प्रदेश: ६ ओटा संस्था

  • बागमती प्रदेश: २ ओटा संस्था (चितवन र रामेछाप जिल्लाका १-१)

  • लुम्बिनी प्रदेश: ४ ओटा संस्था

  • गण्डकी प्रदेश: एउटा संस्था (सबै नतिजा स्थगित)

  • कर्णाली प्रदेश: ३ ओटा संस्था (सबै नतिजा स्थगित)

आंशिक (ब्याक) परीक्षामा शून्य लाउने संस्थाहरूको संख्या:

  • कोशी प्रदेश: ५ ओटा संस्था

  • मधेश प्रदेश: एउटा संस्था

  • लुम्बिनी प्रदेश: एउटा संस्था

  • कर्णाली प्रदेश: एउटा संस्था

नतिजापछि विद्यार्थी आक्रोशित

दुई तिहाइ बढी विद्यार्थी फेल हुनेगरी नतिजा सार्वजनिक भएपछि विद्यार्थीहरूले सामाजिक सञ्जालमा आक्रोश पोख्न थालेका छन् । नतिजा अविश्वसनीय र त्रुटिपूर्ण भएको भन्दै उनीहरूले उत्तरपुस्तिका तत्काल पुन: जाँच गर्न माग गरेका छन् । पाँचौं सेमेस्टारमा आएर नतिजा बिग्रिँदा आफ्नो एक वर्षको समय खेर जाने विद्यार्थीहरूले चिन्ता छ । 

यसै क्रममा, मोरङको विराटनगरस्थित महानगर बहुप्राविधिक शिक्षालयका विद्यार्थीहरूले परिषद्को सुनसरी कार्यालयमा पत्र लेखेर उत्तरपुस्तिका तत्काल पुन: जाँच गर्न माग गरेका छन् । उक्त शिक्षालयबाट परीक्षा दिएका २७ जना विद्यार्थी सबै अनुत्तीर्ण भएपछि उनीहरूले संगठित रूपमै विरोध जनाएका हुन् । अहिले सामाजिक सञ्जालमा विद्यार्थीहरूले यस विषय उठान गर्दै सीटीईभीटीको जवाफ माग गरेका छन् । सीटीईभीटीले भने निराशाजनक नतिजाबारे केही बोलेको छैन ।

पछिल्लो अध्यावधिक: साउन २४, २०८२ १६:२१