close

शेयर बजार भविष्यवाणीदेखि पुष्पवृष्टि गर्ने ड्रोन र गीतको तालमा नाच्ने नेपाली रोबोट

टेकपाना टेकपाना

साउन २४, २०८२ २२:५९

शेयर बजार भविष्यवाणीदेखि पुष्पवृष्टि गर्ने ड्रोन र गीतको तालमा नाच्ने नेपाली रोबोट

काठमाडौँ । काठमाडौंको थापागाउँस्थित प्रेसिडेन्सियल ग्राजुएट स्कुलमा ‘प्रेसिडेन्सियल इनोभिस्टा, २०२५’ नामक प्रविधि तथा व्यापार प्रदर्शनी सुरु भएको छ । आइतबारसम्म चल्ने उक्त प्रदर्शनीमा स्नातक तह (बीएससी आईटी) मा अध्ययनरत विद्यार्थीहरूले तयार पारेका ५० ओटा नवीन परियोजनाहरू प्रदर्शनमा राखिएका छन् ।

प्रदर्शनीमा शेयर बजारको उतारचढाव भविष्यवाणी गर्ने ‘नेप्से प्रेडिक्ट’ सफ्टवेयर, फूलको वर्षा गराउने एफपीभी ड्रोन, एकआपसमा फुटबल खेल्ने ‘रोबो सकर्स’ र गीतको तालमा नाच्ने ‘डान्सिङ रोबोट’ जस्ता आकर्षणहरूले अवलोकनकर्ताको ध्यान तानेका छन् ।

यसैगरी, अनुहारको भाव पहिचान गरी सोहीअनुसार संगीत सिफारिस गर्ने ‘इमोसन डिटेक्सन सिस्टम’ र ग्यास चुहावट हुँदा आफैँ अलार्म बजाउने र ग्यास बन्द गर्ने ‘स्मार्ट होम सिस्टम’ जस्ता व्यावहारिक परियोजना पनि समावेश छन् ।

प्रदर्शनीमा रहेका साइबर सुरक्षासम्बन्धी परियोजनाहरूले अनलाइन ठगी र डेटा चोरी जस्ता समस्यालाई सम्बोधन गर्ने कलेजका कार्यकारी अध्यक्ष लक्ष्मण केसीले बताए ।

उद्घाटनमा पुष्पवृष्टिका लागि प्रयोग गरिएको ड्रोनलाई भविष्यमा सामान डेलिभरी गर्ने सेवामा प्रयोग गर्न सकिने गरी विकास गर्ने विद्यार्थीहरूको योजना छ । यसका साथै, कृषिमा प्रयोग हुने ‘स्मार्ट सिँचाइ’ प्रणाली र पर्यटन प्रवर्द्धन गर्ने सफ्टवेयरहरू पनि प्रदर्शनीका हिस्सा हुन् ।

अमेरिकाको वेस्टक्लिफ युनिभर्सिटीसँगको सम्बन्धनमा सञ्चालित कलेजका कार्यकारी अध्यक्ष केसीले विद्यार्थीहरूमा रहेका प्राविधिक र व्यावसायिक सम्भावनालाई बाहिर ल्याउने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको जानकारी दिए । उनका अनुसार, यी ५० परियोजना निर्माणमा करिब १७० विद्यार्थीहरू प्रत्यक्ष रूपमा संलग्न छन् ।

काठमाडौंको थापागाउँ, बानेश्वरमा रहेको कलेजमा जारी यो प्रदर्शनी आइतबारसम्म चल्नेछ । अवलोकनका लागि प्रवेश निःशुल्क गरिएको छ ।

पछिल्लो अध्यावधिक: साउन २४, २०८२ २३:४९