एपीआई लिएर लिंक्डइनभन्दा सस्तो प्रिमियम सेवा दिने स्टार्टअप, शार्क ऋतुको लगानी बढेर ३.५ करोड
साउन २५, २०८२ १६:४२
काठमाडौँ । सन् २०१८ मा थाइल्यान्डमा एमबीए पुरा गरेर अन्तर्राष्ट्रिय सप्लाइ चेन कम्पनीमा जागिरे थिए, ट्यालेन्ट कनेक्टसका संस्थापक तथा प्रबन्ध निर्देशक दिवश थापा । हङकङ चाइनाको सप्लाई चेन कम्पनी ‘लि एन्ड फङ’मा काम गरिरहेका उनी राम्रो तलब, कार र अपार्टमेन्टको बसाइमा रमिरहेका थिए ।
तर, अचानक बुबाको स्वास्थ्य अवस्था बिग्रियो । एक्लो सन्तान भएकाले उनी पारिवारिक जिम्मेवारीबाट भाग्न सकेनन् । बरु अलिबाबाले सञ्चालन गरेको अनलाइन मार्केटप्लेस ‘दराज नेपाल’मा प्रोजेक्ट म्यानेजरको अफर लिएर नेपाल फर्किए ।
“थाइल्यान्डमा राम्रो तलब सहितको जागिर थियो । त्यही अनुसारको तलब नभएपनि मेरो शैक्षिक योग्यता र कामको अनुभवको आधारमा ठिकै तलब पाउँछु सोचेको थिएँ,” उनी भन्छन् । तर सोचेभन्दा आधा तलब मात्र पाउने थाहा पाएपछि उनी दराजमा आबद्ध भएनन् ।
थापाले थाइल्यान्डको एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी (एआईटी) बाट एमबीएको अध्ययन पूरा गरेका छन् । सन् २०१५ मा एआईटीमा एमबीए अध्ययन सुरु गरेका उनले २०१६ मा छुट्टीको समय पारेर भारतको आईआईएम अहमदाबादमा समर स्कुल पढे । २०१७ को जनवरीमा एमबीएको अन्तिम सेमेस्टर एक्स्चेन्ज प्रोग्राम अन्तर्गत जर्मनीको एचएचएल विश्वविद्यालयमा पढ्न गए । यसरी उनले करिब दुई वर्षको अवधिमा एमबीए पूरा गर्ने क्रममा तीन वटा विश्वविद्यालयको अनुभव लिने मौका पाए । र विभिन्न देशका विद्यार्थीसँग समेत घुलमिल हुने अवसर समेत पाए । मेजर विषय स्ट्राटेजी र मार्केटिङ लिएका उनलाई धेरै ठाउँको अनुभवले थप निखारेको थियो ।
सप्लाई चेनको बजारमै काम गर्ने रहर भएकाले उनले दराजपछि नेपालमा अर्को मौका देखेनन् । बुबाको स्वास्थ्यमा सुधार आइसकेको थियो । आफ्नो लागि योग्य कामको खोजीमा उनी २८ दिनको लागि सिंगापुर लागे । त्यहाँ उनले कयौँ सप्लाई चेन कम्पनीमा अनलाइन आवेदन दिए । कतिपय ठाउँमा आफैँ पुगे पुगे ।
त्यहाँ पुग्दा उनले अनौठो वर्किङ कल्चर बारे जान्ने मौका पाए । “त्यहाँ सिधै कम्पनीले कर्मचारी हायर नगर्ने रहेछन् । कम्पनीहरूमा जागिर खोज्दै जाँदा ‘हाम्रो एचआर पार्टनरसँग गएर कुरा गर्नु’ भने ।” एचआर बिजनेस पार्टनरले सम्भावित कर्मचारीको स्क्रिनिङ, शर्टलिस्टिङ, ब्याकग्राउन्ड भेरिफिकेसन र वर्क पर्मिट इस्यु गर्नेसम्मको सम्पूर्ण काम गर्थे । त्यसपछि कम्पनीहरूमा नियुक्तिको काम हुन्थ्यो ।
दिवश पनि रोजगारीका लागि रिक्रुट एक्सप्रेस नामक एचआर कम्पनीमा पुगे । त्यहाँ उनले थुप्रै मानिसहरूलाई ट्रेनिङ दिँदै गरेको र अन्तर्वार्ता लिइरहेको देखे । प्रायः सबै कर्मचारी हेडफोन लगाएर कल सेन्टरमा जस्तो काम गरिरहेका जस्ता देखिन्थे ।
नेपालमा आफ्नो योग्यता अनुसारका काम नपाएर सिङ्गापुर पुगेका दिवशमा एचआर कम्पनी आफैँमा राम्रो बिजनेस हुने सोच पलायो । “त्यसपछि म अन्तर्वार्ताको लागि नै बसिनँ । म जस्तै योग्यता भएर काम नपाएका युवा र राम्रो कर्मचारी खोजी रहेका कम्पनीलाई जोड्ने कम्पनी खोल्छु भन्ने बिचार आयो । रिक्रुट एक्सप्रेसको अफिसबाट फर्किरहँदा बाटोमा नै ‘ट्यालेन्ट कनेक्ट्स’ नाम फुर्यो ।”
पहिलो ग्राहक नै अन्तर्राष्ट्रिय कम्पनी
२०१९ को जनवरीमा सिङ्गापुर होमिएका उनी एक महिना नबित्दै नेपाल फर्किए र ‘ट्यालेन्ट कनेक्ट्स’ दर्ता गराए । एचआर सम्बन्धी सेवा दिन भन्दै क्यानडाको ‘प्रिभ्यु एचआर’ नामक एसेसमेन्ट सफ्ट्वेयरको अधिकार खरीद गरेर । जसबाट विभिन्न कम्पनीका लागि कर्मचारीको नियुक्ति गर्ने क्रममा सहज तरिकाले उम्मेदवारको मूल्याङ्कन गरिन्थ्यो ।
त्यसपछि उनी ग्राहक खोज्दै ठुला व्यापारिक घरानाहरूमा भौँतारिन थाले । "मैले दुई जना कर्मचारी राखेको थिएँ । उहाँहरूको काम भनेकै ठुला कम्पनीका एचआर हेड वा म्यानेजरसँग मेरो मिटिङ तय गर्ने हुन्थ्यो । मेरो काम उहाँहरूलाई भेटेर कसरी सफ्टवेयरले काम गर्छ भनेर डेमो देखाउने हुन्थ्यो ।" तर लगातार ६ महिनाको निरन्तर प्रयासमा पनि उनले ग्राहक पाउन सकेनन् । सफ्टवेयर प्रयोग गर्न जटिल भएको र म्यानुअल काम धेरै गर्नुपर्ने भएकाले नेपाली कम्पनीहरू यो प्रणालीको प्रयोग गर्न चाहिरहेका थिएनन् ।
कम्पनी सुरु भएको करिब ६ महिनापछि बेलायती कम्पनी डोग्मा ग्रुपले आफ्नो एचआरको जिम्मा दिने अफर ट्यालेन्ट कनेक्टलाई गर्यो । माइक्रोसफ्ट र सेल्सफोर्स जस्ता प्रविधिका दिग्गजलाई कस्टमाइज्ड सेवाको जिम्मा दिने उक्त कम्पनीले ट्यालेन्ट कनेक्ट्सको प्रस्तावमा चासो देखाएर उक्त प्रस्ताव गरेको थियो । डोग्मा ग्रुपका सीईओ एडी हार्फोर्डले ट्यालेन्ट कनेक्ट्सको एसेसमेन्ट प्लेटफर्मको प्रशंसा समेत गरेको प्रबन्ध निर्देशक थापा बताउँछन् । "तर उहाँहरूले एसेसमेन्ट प्लेटफर्म आफैँ प्रयोग नगर्ने बताउनुभयो । हामीलाई नै कम्पनीको हायरिङ हेर्न प्रस्ताव गर्नुभयो ।" मासिक ९०० डलर दिने गरि ६ महिनाको लागि सम्झौता भयो ।
पहिलो ग्राहकले नै डलरमा भुक्तानी दिने भयो । एउटै ग्राहकबाट आउने आम्दानीले नै कम्पनीको भाडा र दुई जना कर्मचारीको तलब धान्न पुग्ने थियो । ट्यालेन्ट कनेक्ट्सले डोग्मा ग्रुपका लागि कर्मचारी माग गर्ने र आवेदकहरूसँग पहिलो चरणको अन्तर्वार्ता तथा मूल्याङ्कनको काम गर्थ्यो । त्यसपछि ट्यालेन्ट कनेक्ट्सले तयार पारेको फाइनलिस्टसँग डोग्मा ग्रुपले अन्तिम अन्तर्वार्ता लिएर कर्मचारी छनोट गर्थ्यो ।
उक्त कम्पनीका लागि उच्च स्तरीय प्राविधिक जनशक्ति चाहिने भएकाले ट्यालेन्ट कनेक्ट्सले लिंक्डइन रिक्रुटरको प्रिमियम भर्सनको प्रयोग गरेर विज्ञापन गर्ने र सम्भावित कर्मचारी खोज्ने काम गर्थ्यो । छ महिना डोग्मासँग सहकार्यमा कम्पनीलाई चित्त बुझ्दो सेवा दिएपछि सम्झौता अवधि तीन महिना थपियो । उक्त सहकार्यले अन्य अन्तर्राष्ट्रिय ग्राहक समेत नजिकिएको र ‘फ्युज मसिन’, ‘कोटिभिटी’ लगायतका कम्पनीसँग समेत सहकार्य गरेको प्रबन्ध निर्देशक थापाले सुनाए ।
ग्राहक बढ्दै जाँदा एक्सेल शिटमा एचआरको विवरण इन्ट्री गर्न समस्या हुन थाल्यो । त्यसपछि कम्पनीमै प्रविधिको विकास गर्न लगानी गर्नुपर्ने महसुस गरेको थापा बताउँछन् । त्यसपछि इन्टर्न र डेपलपर दुई/दुई जना गरेर चार जना नियुक्त गरेर कम्पनीका लागि ‘एप्लिकेन्ट ट्राकिङ सिस्टम-एटीएस’ तयार पारे । यो प्रणालीमा उम्मेदवारले सिधै आवेदन दिने, आन्तरिक टोलीले उम्मेदवार थप्ने, शर्टलिस्टमा परेको जानकारी ईमेलमार्फत पठाउन सकिने सुविधा थियो ।
यता प्रिमियम भर्सनको लिंक्डइन प्रयोग गरेर यसको भुक्तानी डलरमा गर्थे । तर नेपालमा निश्चित डलर मात्र साँट्न मिल्ने भएकाले भुक्तानी गर्न पनि समस्या हुन थाल्यो । “डलर भुक्तानीका लागि पनि कहिले कसलाई भन्नुपर्ने, कहिले कता जानुपर्ने बाध्यता थियो,” थापा सम्झिन्छन् ।
त्यसपछि उनी लिंक्डइनको एपीआई नै खरीद गर्ने विषयमा सोच्न थाले । “लिंक्डइनले एपीआई बिक्री त गर्थ्यो । तर नेपाल जस्तो सानो बजारका लागि एपीआई दिन खासै चासो देखाएन । एपीआई पाउनकै लागे मैले धेरै मेहेनत गरेँ । डेढ वर्षको लगातार मेहेनतपछि बल्लतल्ल एपीआई पायौँ ।” गत वर्षको दशैँदेखि कम्पनीले लिंक्डइनको एपीआई प्रयोग गरेर आफ्नो एटीएस सञ्चालन गर्दै आएको छ । त्यसपछि कम्पनीको काम गर्ने तरिका र क्षेत्र दुवै बदलिएको छ । अन्य प्रतिस्पर्धी कम्पनी तथा स्थानीय जब पोर्टलले सो एपीआई भित्र्याउनै नसक्नेमा थापा दृढ सुनिन्छन् । जसले गर्दा उनको कम्पनीको सेवालाई एक्सक्लुसिभ बनाएको छ ।
यसरी काम गर्छ ट्यालेन्ट कनेक्ट्सको एटीएस
ट्यालेन्ट कनेक्ट्सले एपीआई लिएसँगै ग्राहक कम्पनीहरूले कर्मचारी हायरिङका लागि महँगो शुल्क डलरमा तिरेर लिंक्डइनको प्रिमियम भर्सन प्रयोग गर्नुपर्ने बाध्यता हटेको प्रबन्ध निर्देशक थापा बताउँछन् । ट्यालेन्ट कनेक्ट्समार्फत नै सस्तो मूल्यमा लिंक्डइनमा जब पोस्ट गर्न र प्रिमियम भर्सनका सबै सुविधा लिन सकिने उनले बताए ।
लिंक्डइनको प्रिमियम भर्सनको पहुँच सीमित एचआरसँग हुन्छ । जब कि ट्यालेन्ट कनेक्ट्सको प्रणालीमा ग्राहक कम्पनीका असीमित व्यक्तिहरूले पहुँच र प्रयोग गर्न पाउने सुविधा छ ।
पछिल्लो समयमा राम्रो सीप र शैक्षिक योग्यता भएका उम्मेदवार लिंक्डइनमा जोडिएका हुन्छन् ।नेपालमा १६ लाखभन्दा धेरै प्रयोगकर्ताले लिंक्डन प्रयोग गरिरहेको थापाको भनाई छ । “स्नातक पुरा गरेका र अलि एक्टिभ पपुलेसन त्यहाँ छ,” उनी भन्छन्, “त्यसैले अहिलेको समयमा हायरिङका लागि लिंक्डइन नै उचित विकल्प हो ।”
थापाका अनुसार लिंक्डइन रिक्रुटर लाइट (सिङ्गल लाइसेन्स) को एक महिनाको शुल्क १७० डलर र लिंक्डइन रिक्रुटर प्रोफेसनलको ९०० डलर रुपैयाँ छ । ट्यालेन्ट कनेक्ट्समा भने १४९ डलरमा नै मासिक १० ओटा भ्याकेन्सी खुलाउन सकिन्छ । यस्तै ३९९ डलरमा मासिक अनलिमिटेड पोस्टहरू गर्न सकिने सुविधा उपलब्ध गराउने थापा बताउँछन् । उक्त रकम डलरमा तोकिएको भए पनि नेपाली कम्पनीहरूले नेपाली रुपैयाँमै भुक्तानी गर्न सक्छन् ।
ट्यालेन्ट कनेक्ट्समार्फत जागिरको आवेदन खुलाउँदा पनि स्वयम् कम्पनीको लिंक्डइन पेजमा जागिर पोस्ट हुन्छ । यसले रोजगारदाताको बजारमा भिजिबिलिटी बढाउनुका साथै ब्रान्डिङ समेत गर्ने उनले बताए ।
जब भ्याकेन्सी राखिएपछि लिंक्डइनको एआई म्याचिङ एल्गोरिदमले जागिरका लागि खोजिएको विशेषता भएका उम्मेदवारको ईमेलमा त्यसको जानकारी पठाउँछ । उम्मेदवारहरूले आवेदन दिएपछि बायोडेटाको आधारमा शैक्षिक योग्यता र जागिरमा सम्भावना कस्तो छ भन्ने लगायतका रिपोर्ट ट्यालेन्ट कनेक्ट्सको एटीएसले तयार पार्छ । साथै उम्मेदवारहरूको ट्र्याकिङको काम पनि यसैबाट हुन्छ ।
उम्मेदवार शर्टलिस्ट भएको जानकारीहरू ईमेलमार्फत पठाउने, अन्तर्वार्ताका लागि सेड्युलमा राख्ने, अनलाइन अन्तर्वार्ता लिने, फिडब्याक दिने लगायतका काम एटीएसबाटै गर्न सकिने थापाले बताए । उक्त प्रणालीमार्फत शर्टलिस्टिङमा परेका उम्मेदवारसँग अन्तर्वार्ता लिएर उपयुक्त लागेको व्यक्ति नियुक्त गर्न सकिन्छ ।
४०/५० जना कर्मचारी रहेका कम्पनीदेखि ठुला कर्पोरेट कम्पनीका लागि ट्यालेन्ट कनेक्ट्सको एटीएस प्रभावकारी हुने प्रबन्ध निर्देशक थापा बताउँछन् । “पहिला कस्ता उम्मेदवारहरू छन्, भनेर खोज्नै समस्या हुन्थ्यो । हाम्रो सिस्टमले उपयुक्त विकल्प भएका उम्मेदवारहरू छनोट गर्छ । त्यही लिस्टबाट कम्पनीले चाहेको जस्तो व्यक्ति आफैँ अन्तर्वार्ता लिएर छान्न सक्छन्,” उनले भने, “मासिक दुई/चार जना कर्मचारी आउने जाने भइरहने कम्पनीमा खोजेजस्तो कर्मचारी पाउन समस्या भइरहेको हुन्छ । उहाँहरूको लागि यो प्रणाली उपयुक्त हुन्छ ।” तर पाँच/सात जनाको सानो टिम भएको कम्पनीमा भने यो प्रणाली महँगो पर्न सक्ने उनले बताए ।
ह्वावे, बाल्ट्रा, पञ्चकन्या, एस ग्रुप, फुडमाण्डु सहित २९२ कम्पनीहरूले कर्मचारी नियुक्तिका लागि अहिले ट्यालेन्ट कनेक्ट्सको एटीएस प्रणाली प्रयोग गरिरहेका छन् । जसमध्ये केही अन्तर्राष्ट्रिय कम्पनी पनि छन् । ८०% भन्दा बढी कम्पनीले सब्सक्रिप्सन अवधि सकिएपछि पनि दोहोर्याएर लिने गरेको उनले बताए ।
आफ्नो सिस्टमले फरक तरिकाले काम गर्ने भन्दै स्थानीय जब पोर्टलहरूलाई आफ्नो प्रतिस्पर्धीका रूपमा नहेरेको थापा बताउँछन् । जब पोर्टलको बजार नेपालमा हुँदा ट्यालेन्ट कनेक्ट्सले नेपालबाटै अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्ने तयारी गरिरहेको उनको भनाई छ ।
लिंक्डइनको प्रिमियम भर्सनभन्दा ट्यालेन्ट कनेक्ट्सको सब्सक्रिप्सन सस्तो कसरी ?
नेपालमा ट्यालेन्ट कनेक्ट्स सञ्चालन हुँदा यहाँको भौगोलिक अवस्थितिको लाभ मिलेको थापा बताउँछन् । नेपालमा प्रविधिको विकास गर्ने कर्मचारीहरूको तलब र खर्च अन्तर्राष्ट्रिय बजारको तुलनामा कम हुने भएकाले तुलनात्मक रूपमा सस्तो हुन पुगेको उनको भनाई छ ।
उनी भन्छन्, “विदेशमा एक लिड सफ्टवेयर इन्जिनियर नियुक्त गर्दा वार्षिक एक करोड रुपैयाँसम्म लाग्न सक्छ, जबकि नेपालमा मासिक करिब एकदेखि डेढ लाख रुपैयाँमा त्यही स्तरका सीप भएका इन्जिनियर पाउन सकिन्छ ।” तुलनात्मक रूपमा कम लागत लाग्ने भएकाले अन्य देशको तुलनामा सस्तोमा सुविधा दिन सकिएको उनले बताए ।
सोही कारणले कम्पनीले अन्तर्राष्ट्रिय बजारमा पनि प्रतिस्पर्धा गर्न सक्ने सम्भावना देखेको उनको भनाई छ । उनका अनुसार ट्यालेन्ट कनेक्ट्सले संसारका १९० भन्दा बढी देशमा आफ्नो सेवा बिक्री गर्न सक्छ । त्यसैले नेपाली बजारसहित विश्व बजारमा पनि सस्तोमा एटीएस प्रणालीसहितको एचआर सेवा दिन सकिने सम्भावना रहेको उनले बताए ।
अन्तर्राष्ट्रिय स्तरमा एटीएसको प्रभावकारिता बढाउन विभिन्न अन्तर्राष्ट्रिय जब पोर्टलहरूसँग इन्ट्रिगेसनको काम भएको छ । भारतको नौकरी, अमेरिकाको इन्डिड, अस्ट्रेलियाको सिक र जोरा तथा गुगल फर जब्सको एपीआई ट्यालेन्ट कनेक्ट्सले प्राप्त गरिसकेको छ । यो सँगै आफ्ना ग्राहक कम्पनीले रोजगारी खुलाउँदा लिंक्डइनसँगै यी जब पोर्टलमा समेत विज्ञापन राखेर कर्मचारी खोज्न सक्छन् । पछिल्लो समय कम्पनीले सफ्टवेयर एज अ सर्भिस (SaaS) को व्यापार समेत गर्दै आएको उनले बताए ।
एचआरआईएस सुविधा पनि थपिँदै
कर्मचारी नियुक्तिका लागि एटीएस सिस्टम उपलब्ध गराउँदै जाँदा ग्राहकबाट नै ह्युमन रिसोर्स इन्फरमेसन सिस्टम (एचआरआईएस)को समेत माग आएको उनले सुनाए । त्यसैले कर्मचारी व्यवस्थापनका लागि एचआरआईएस पनि ल्याउने तयारी कम्पनीले थालेको छ । नियुक्त भएका नयाँ कर्मचारीलाई अफिसको सिस्टममा अनबोर्डिङ गर्ने, हाजिरी, बिदा व्यवस्थापन, तलब भुक्तानी, कर्मचारीको पर्फमेन्सको जानकारी व्यवस्थापन लगायतका काम उक्त प्रणालीबाट गर्न सकिने व्यवस्था मिलाइएको छ ।
उक्त प्रणालीले आफ्नो कम्पनीलाई थप प्रभावकारी एचआर सोलुसनको रूपमा स्थापित गर्ने विश्वास उनले राखेका छन् । एचआरआईएस प्रणालीको मासिक शुल्क कार्यालयको कर्मचारी सङ्ख्या अनुसार फरक पर्छ । उक्त प्रणाली प्रयोग गरे बापत प्रति कर्मचारी १.५ डलर रुपैयाँ मासिक शुल्क तोकिएको छ ।
शार्क ट्याङ्कमा ट्यालेन्ट कनेक्ट्स
पछिल्लो ६ वर्षदेखि सञ्चालित ‘ट्यालेन्ट कनेक्ट्स’को लगानीका लागि थापा हिमालय टिभीमा प्रसारण भइरहेको बिजनेस रियालिटी शो ‘शार्क ट्याङ्क नेपाल’ मा समेत पुगेका थिए । त्यहाँ उनको स्टार्टअपमा सबै शार्कले लगानीको चासो देखाए ।
शार्कहरूले ट्यालेन्ट कनेक्ट्सलाई १० करोड मूल्याङ्कन गर्दै केपीआई (Key Performance Indicator) को आधारमा १५% प्रतिशत इक्विटीमा डेढ करोड रुपैयाँ लगानी प्रस्ताव गरेका थिए । जहाँ उनले शार्क ऋतुसिंह वैद्यको एकल डिल स्वीकार गर्ने निर्णय लिए । प्रबन्ध निर्देशक थापा भन्छन्, “धेरै जना बोर्डमा हुनुभन्दा पनि गाइड गर्ने एक जना नै ठिक हुन्छ भन्ने बुझेर ऋतु म्यामको प्रस्ताव स्वीकार गरेको हुँ ।”
उक्त डिलपछि शार्क वैद्यसँग धेरै पटक छलफलका लागि बैठक बसिएको थापा सुनाउँछन् । यसक्रममा शार्क वैद्यको टोलीले अन्तर्राष्ट्रिय बजारमा कम्पनीको राम्रो बजार देखेर लगानी रकम बढाउन चाहेको र तीन करोड ५० लाख लगानी गर्नेगरी सम्झौता भएको उनले सुनाए । तर इक्विटीको हिस्सा भने उनले खुलाउन चाहेनन् ।
उक्त सम्झौतासँगै वैद्य ग्रुपको नेटवर्किङले भारतमा कम्पनीको बजार बिस्तारमा सहयोग पुगिरहेको अनुभव थापाले सुनाए । शार्क ट्याङ्कपछि कम्पनीमा कर्मचारी सङ्ख्या पनि बढाइएको उनले बताए । प्रबन्ध निर्देशक थापाले भने, “पहिला प्राविधिक टोलीमा चार जना सहित १० जनाको टिम थियौँ । अहिले टेक टिम नै सात जनाको बनिसकेको छ ।” लगानी रकम पाएपछि अन्य देशहरूमा पनि बजार बिस्तार गर्ने योजना उनले बनाएका छन् ।
पछिल्लो अध्यावधिक: साउन २५, २०८२ १७:५
