चन्द्रमामा मानव बस्ती बसाल्ने लक्ष्यसहित ५ वर्षभित्र परमाणु भट्टी निर्माण गर्ने अमेरिकी तयारी
साउन २७, २०८२ ११:४
काठमाडौँ । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले सन् २०३० सम्ममा चन्द्रमामा आणविक रिएक्टर निर्माण गर्ने योजनालाई तीव्रता दिने भएको छ । चन्द्रमाको सतहमा मानवको स्थायी बसोबासका लागि मार्गप्रशस्त गर्ने महत्त्वाकांक्षासहित नासाले यो परियोजना अगाडि सारेको हो ।
राष्ट्रपति डोनल्ड ट्रम्पबाट नासाको अस्थायी प्रमुखमा नियुक्त भएका यातायात सचिव सन डफीले यो परियोजना अगाडि बढाउन टिमलाई निर्देशन दिएका छन् । पोलिटिको एक रिपोर्ट अनुसार, डफीले चन्द्रमामा कम्तीमा १०० किलोवाट ऊर्जा उत्पादन गर्नसक्ने आणविक रिएक्टर निर्माणका लागि व्यावसायिक कम्पनीहरूबाट प्रस्ताव आह्वान गर्न नासालाई निर्देशन दिएका छन् ।
अमेरिकाको यो सक्रियता चीन र रुसले गत मे महिनामा गरेको यस्तै घोषणापछि आएको हो । चीन र रुसले सन् २०३५ सम्ममा चन्द्रमामा स्वचालित आणविक ऊर्जा केन्द्र स्थापना गर्ने लक्ष्य राखेका छन् । भारत, जापानलगायत अन्य देश पनि चन्द्रमाको सतह अन्वेषण गर्ने र त्यहाँ स्थायी मानव बस्ती स्थापना गर्ने दौडमा छन् ।
“भविष्यको चन्द्र अर्थतन्त्र, मंगल ग्रहमा ऊर्जा उत्पादन र अन्तरिक्षमा हाम्रो राष्ट्रिय सुरक्षालाई सुदृढ पार्न यो महत्त्वपूर्ण प्रविधिलाई अगाडि बढाउनु अत्यावश्यक छ,” द न्यूयोर्क टाइम्सले डफीलाई उद्धृत गर्दै लेखेको छ, “यसका लागि एजेन्सीले छिटो काम गर्नुपर्छ ।”
नासाले चन्द्रमामा आणविक रिएक्टरलाई ऊर्जा स्रोतको रूपमा प्रयोग गर्नेबारे अन्वेषण गरेको यो पहिलो पटक भने होइन । सन् २०२२ मा पनि उसले चन्द्र सतहमा आणविक रिएक्टर डिजाइन गर्न तीन ओटा कम्पनीहरूलाई ५० लाख डलरको ठेक्का दिएको थियो ।
चीन र रुसको घोषणाले नासालाई आफ्नो गति बढाउन प्रेरित गरेको विश्लेषण गरिएको छ । यसको पछाडि आर्टेमिस सम्झौताले पनि काम गरेको छ । यो सात देशले हस्ताक्षर गरेको एक सम्झौता हो, जसले चन्द्रमाको सतहमा देशहरूले कसरी सहकार्य गर्नुपर्छ भन्ने सिद्धान्तहरू स्थापित गर्दछ ।
विशेषगरी यो सम्झौताले सहभागी देशहरूलाई चन्द्रमामा आफ्नो सम्पत्ति र सञ्चालनको वरपरका क्षेत्रहरूलाई ‘सुरक्षा क्षेत्र’ घोषणा गर्न अनुमति दिन्छ । यदि चीन वा रुसले चन्द्रमामा रिएक्टर वा कुनै आधार स्थापना गरेमा उनीहरूले त्यसलाई सुरक्षा क्षेत्र घोषणा गरी वरपरका क्षेत्रमा पहुँच सीमित गर्न सक्ने चिन्ता अमेरिकालाई छ ।
यद्यपि, नासाको यो महत्त्वाकांक्षी योजना र समयसीमामाथि बजेट कटौतीका कारण शंका उत्पन्न भएको छ । ट्रम्प प्रशासनले आगामी वर्ष नासाको बजेटमा २४ प्रतिशतले कटौती गर्ने योजना बनाएको बताइएको छ । जसले गर्दा मंगल ग्रहबाट चट्टान र माटोको नमुना पृथ्वीमा ल्याउने लक्ष्य राखेको ‘मार्स स्याम्पल रिटर्न मिसन’ लगायत अन्य धेरै विज्ञान कार्यक्रमहरूको बजेट घट्नेछ ।
पछिल्लो अध्यावधिक: साउन २७, २०८२ ११:२३
