प्रहरीले भन्यो- ‘नेप्से एआई’ एप इन्स्टल नगर्नुस्, बैंक खाता रित्तिन सक्छ
साउन २७, २०८२ १७:१३
काठमाडौँ । नेप्से एआई (Nepse AI) नामक मोबाइल एपमार्फत लाखौं रुपैयाँ ठगी भइरहेको भन्दै प्रहरीले सर्वसाधारणलाई सचेत गराएको छ । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रयोग गरी शेयर बजारबाट अत्यधिक नाफा कमाउने प्रलोभन देखाएर उक्त एप डाउनलोड गर्न लगाउने र त्यसपछि पीडितको मोबाइललाई रिमोट कन्ट्रोलमा लिई बैंक खाता रित्याउने काम भइरहेको ब्युरोले जनाएको छ ।
मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सामाजिक सञ्जाल (फेसबुक, टिकटक, इन्स्टाग्राम) मा फैलिएको भ्रामक विज्ञापनको पछि नलाग्न आग्रह गरेको हो । ठगी समूहले एप इन्स्टल गराएपछि ‘रिमोट सेसन’ सुरु गरी पीडितको मोबाइलको सम्पूर्ण नियन्त्रण आफ्नो हातमा लिने, बैंक खातामा रहेको रकम अन्यत्र ट्रान्सफर गर्ने र प्रमाण नष्ट गर्न मोबाइलको सम्पूर्ण डेटा र अन्य एपहरू समेत मेटाइदिने गरेको पाइएको छ ।
ब्युरोले एक पीडितको उदाहरण दिँदै ‘जोन डोई’ (सांकेतिक नाम) नामक व्यक्तिले फेसबुकको विज्ञापनबाट ‘Nepse AI’ एप डाउनलोड गर्दा उनको बैंक खाताबाट २८ लाख ६१ हजार १ रुपैयाँ ठगिएको घटना सार्वजनिक गरेको छ । रकम चोरी गरेपछि उनको मोबाइलको स्क्रिन केहीबेर ब्ल्याङ्क (खाली) भएको र मोबाइलमा रहेका सबै डेटा तथा एपहरू मेटिएको उजुरी परेको विज्ञप्तिमा उल्लेख छ ।
यस्ता वित्तीय अपराधबाट बच्न ब्युरोले सर्वसाधारणलाई निम्न उपाय सुझाएको छ:
-
टु-फ्याक्टर अथेन्टिकेसन (Two-factor Authentication) कोड प्रयोग गर्ने ।
-
नियमित रूपमा पासवर्ड परिवर्तन गर्ने ।
-
विज्ञापन वा अपरिचित लिङ्कबाट आएका कुनै पनि एप इन्स्टल नगर्ने ।
-
एनी डेस्क (Any desk), टिम भ्युअर (Team viewer) जस्ता रिमोट एक्सेस एपमार्फत अपरिचित व्यक्तिलाई आफ्नो डिभाइसको नियन्त्रण नदिने ।
-
आधिकारिक स्रोत (गुगल प्लेस्टोर, आईओएस एप स्टोर) बाट मात्र एपहरू इन्स्टल गर्ने ।
ब्युरोले यस्तो कुनै पनि घटना घटेको वा शंका लागेमा तत्काल सम्बन्धित बैंक, नजिकैको प्रहरी कार्यालय वा साइबर ब्युरोमा खबर गर्नसमेत अनुरोध गरेको छ ।

यो पनि पढ्नुहोस्: साइबर सुरक्षा विज्ञको डरलाग्दो खुलासाः एआई एप डाउनलोड गर्दा नेपालीहरूको खाताबाट ८० करोड गायब !
पछिल्लो अध्यावधिक: साउन २७, २०८२ १७:२४
