टेकपाना फ्याक्टचेक: विपिन जोशीको भन्दै हमासले बन्धक बनाएका इजरायली युवकको भिडिओ भाइरल
भदौ २, २०८२ ११:४८
काठमाडौँ । पछिल्ला केही दिनयता सामाजिक सञ्जालमा करिब दुई वर्ष पहिले हमासद्वारा बन्धक बनाइएका विपिन जोशी भन्दै एक भिडिओ भाइरल भइरहेको छ । उक्त भिडिओमा कुपोषित जस्तो शरीर भएका एक युवक सुरुङ जस्तो स्थानमा खाल्डो खनिरहेका देखिन्छन् । एकदमै कमजोर अवस्थामा देखिएका ती युवकलाई नेपालकै विपिन जोशी भएको दाबी गर्दै भिडिओहरू भाइरल गराइएका छन् ।
कतिपय सामाजिक सञ्जालमा प्रयोगकर्ताहरूले उक्त भिडिओ विपिनकै भएको दाबी गरेका छन् । कतिपयले भने “के भिडिओमा देखिएका युवक विपिन नै हुन् ?” भन्ने प्रश्न गरेका छन् । कतिपयले भने उक्त भिडिओमा भएका युवक विपिन नरहेको बताएका छन् । उक्त भिडिओ वास्तवमा कस्को हो भनेर टेकपानाले तथ्यजाँच गर्ने क्रममा भाइरल भिडिओ विपिन जोशी कब्जा भएकै दिन हमासको बन्धकमा परेका २४ वर्षीय इजरायली नागरिक एयभतार डेभिडको भएको पाइएको छ ।
दाबी
‘कल्पना कट्टेल’ नामक फेसबुक पेजमा “बिपिन जोशी जीबित र यस्तो हालतमा” स्टाटससहित १५ अगस्ट राति ८:०८ मा एक भिडिओ फुटेज सार्वजनिक भयो । उक्त भिडिओमा कुनै कन्फ्रेन्स हलमा मानिसहरू जम्मा भएको जस्तो देखिन्छन् र पृष्ठभूमिको भिडिओमा हमासको बन्धकमा रहेका युवकको भिडिओ चलिरहेको छ । उक्त भिडिओमा यो सामग्री तयार पार्दासम्ममा सात लाख ७५ हजार बढी भ्युज छ भने २५ हजारभन्दा धेरै लाइक गरिएको छ । भिडिओ र आर्काइभ लिङ्क ।
अर्यालजस्तै अन्य कयौँ प्रयोगकर्ताले पनि उक्त भिडिओमा भएका व्यक्तिलाई विपिन जोशी बताएका छन् । ‘अवस्थी करण’, ‘विशाल राई’ लगायतका प्रयोगकर्ताले पनि आफ्नो फेसबुक पेजमा उस्तै दाबिसहितको सोही भिडिओ राखेका छन् ।
टिकटकमा पनि भिडिओ विपिन जोशीको भन्दै विभिन्न प्रयोगकर्ताले भिडिओ शेयर गरेका छन् । ‘किसन राई’ नाम भएका प्रयोगकर्ताले पनि सोही कन्फ्रेन्सको १ मिनेट ४० सेकेन्ड लामो भिडिओ राखेका छन् । सार्वजनिक भिडिओमा लेखिएको छ, “विपिन जोशी सीसीटीभी फुटेज भिडिओ” । भिडिओ र आर्काइभ लिङ्क ।
‘नवीन क्षेत्री’ नामक टिकटक प्रयोगकर्ताले इजरायलमा विपिन जोशी आक्रमणमा परेको आशङ्का गरिएको भन्दै उक्त सुरुङको भिडिओ राखेका छन् । भिडिओमा प्रसारण गरिएको आवाज भने दुई वर्ष पहिला विपिन हमासको कब्जामा परेको अवस्थालाई वर्णन गरिएको जस्तो सुनिन्छ । जहाँ हमासको आक्रमणमा परेर फर्किएका विद्यार्थीहरूले विपिनको बारेमा दिएको जानकारी राखिएको छ । तर, भिडिओ भने हालै भाइरल भइ रहेका इजरायली बन्धकको छ । भिडिओ र आर्काइभ लिङ्क ।
'द रिभोलुसन अफ नेपाल' नामक फेसबुक पेजले “बिपिन जोशी जस्तै देखिने यक मानीस जीबित र यस्तो हालतम भेटिएका छन्। के उनी विपिन जोशी नई हुन त ??” भन्दै उक्त भिडिओ राखेको छ ।
अनुसन्धान
भाइरल भिडिओको सत्यता खोज्ने क्रममा शुक्रबार विपिन जोशीकी बहिनी पुष्पा जोशीले नै आफ्नो दाजुको अवस्था सकुशल रहेको भनेर भ्रम फैलाएको भन्दै टिकटकमार्फत एउटा भिडिओ सार्वजनिक गरेकी थिइन् । जहाँ उनले दाजुको अवस्थाको बारेमा हालसम्म कुनै जानकारी नभएको र भ्रमपूर्ण प्रचारले रिहाइमा सरकारको असहयोग पुग्न सक्ने भन्दै यस्ता काम नगर्न अनुरोध गरेकी थिइन् ।
आफूहरूलाई विपिन जीवित रहेको भन्ने मात्र जानकारी रहेको, तर कस्तो अवस्थामा छन् भन्ने जानकारी प्राप्त नभएको उक्त भिडिओमा उनले बताएकी छिन् । उनले भनेकी छिन्, “‘गुड न्युज अबाउट विपिन जोशी । टाइम्स अफ इजरायलले विपिन जोशी सहि सलामत हुनुन्छ’ भनेर भिडिओमा भनेको छ । तर तपाईँहरूलाई मिसअन्डरस्ट्यान्डिङ भएको होला ।” टाइम्स अफ इजरायलले विपिन जोशीको बारेमा उक्त जानकारी नदिएको उनले बताएकी छिन् । उनले भ्रम फैलाउनको साटो विपिनको रिहाइका लागि राष्ट्र प्रमुखलाई दबाब दिने कार्यमा सहयोगका लागि आह्वान गरेकी छिन् । भिडिओ ।
पुष्पाको उक्त भिडिओ सार्वजनिक भएपछि ‘कल्पना कट्टेल’ फेसबुक पेजबाट नै शनिबार (१६ अगस्ट) ७:५१ मा विपिन जोशीको बहिनी पुष्पा जोशीले दाजु सकुशल भएको खबर पाए पनि उनको बारेमा थप जानकारी नभएको बताएको भिडिओ राखेको छ । उक्त भिडिओको स्टाटसमा लेखिएको छ, “सरी, प्रे फर विपिन भाइ” । भिडिओ । तर उनले आफूले राखेको भ्रामक भिडिओ भने हटाएकी छैनन् ।
अहिले पुष्पा आमा पद्मा जोशीसहित इजरायलमा छिन् । नेपालको लागि इजरायली दूतावासको सहयोगमा १२ अगस्टमा इजरायल पुगेका उनीहरूले विपिनको रिहाइको लागि आवाज उठाइरहेका छन् । त्यहाँ उनीहरूले विपिनलाई कब्जामा लिइएको स्थानको बारेमा जानकारी लिएको, रिहाइको लागि आवाज उठाउँदै इजरायली मिडियामा अन्तर्वार्ता दिएको तथा सार्वजनिक रूपमा विपिनको अवस्था बारेमा जानकारी नहुँदा परिवारलाई परेको पीडाको बारेमा जानकारी गराइरहेका छन् ।
पुष्पाले शनिबार इजरायलको तेल अभिभमा रहेको ‘होस्टेज स्क्वायर’ मा भएको बन्धकहरूका परिवारहरूको भेलामा आफ्ना कुराहरू राख्दै दाइ विपिनको रिहाइका लागि पहल गर्न अपिल गरेकी थिइन् । उनले बन्धक भएको ६८० दिनसम्म नर्कमा कसरी बाँच्न सक्छ भन्दै भावुक भएकी थिइन्, “उसको अवस्थाका बारेमा जानकारी नपाई दुई वर्ष बित्न लागिसक्यो । के ऊ भोकै होला ? के उ जिउँदै होला? उनीहरूलाई घर फर्काऊ ।” भिडिओ ।
यसरी पुष्पा र उनकी आमाले इजरायलमा विपिनको अवस्थाको बारेमा जानकारी पाउन गरेको अनुनयले नै विपिनको बारेमा हालसम्म केही जानकारी प्राप्त नभएको पुष्टि हुन्छ । अब कुरा गरौँ सामाजिक सञ्जालमा भाइरल बन्धक युवक को हुन् भन्ने बारेमा । ती व्यक्तिको अनुहार विपिनसँग मिलेको भन्दै कतिपय प्रयोगकर्ताहरू झुक्किरहेका छन् । तर, उक्त भिडिओ भने हमासको बन्धकमै रहेका एक इजरायली नागरिकको हो ।
ती युवकको बारेमा खोज्दै जाने क्रममा २ अगस्टमा ‘न्यु योर्क पोस्ट’ ले लेखेको समाचार फेला पर्यो । उक्त समाचारमा भएका युवकका फोटोहरू नेपालमा विपिन भन्दै भाइरल भइरहेका भिडिओ फुटेजबाट नै कैद गरेर राखिएको छ । समाचार अनुसार उक्त भिडिओ यही १ अगस्टमा हमासले सार्वजनिक गरेको हो ।
त्यो भिडिओ नेपालका विपिन कब्जामा परेको दिन अर्थात् ७ अक्टोबर २०२३ मा हमासको कब्जामा परेका २४ वर्षीय इजरायली युवक एभयतार डेभिडको हो । भिडिओमा उनी उनी निकै दुब्लो, कमजोर र निरीह देखिएका छन् । धेरै दिनसम्म भोको बस्नुपरेको र खान पाउँदा पनि सिमी र मुसुरो मात्र खान पाएको र पानी पनि उचित मात्रामा खान नपाएको कुरा उनले बताएको उल्लेख छ ।
तर उक्त समाचारमा डेभिडको भिडिओ भने राखिएको छैन । भिडिओ खोज्ने क्रममा हामीले हमासले बन्धक बनाएका नागरिकहरूको रिहाइका लागि दबाब दिन बन्धक परिवारका सदस्यहरू मिलेर सञ्चालन गर्दै आएको ‘ब्रिङ देम होम नाउ’ संस्थाको एक्स अकाउन्ट फेला पर्यो । उक्त अकाउन्टमा २ अगस्टमा राखिएको एभयतारको ४ मिनेट ५३ सेकेन्डको भिडिओ पाइयो । हेर्नुहोस् भिडिओ ।
यस्तै डेभिडको भिडिओ सार्वजनिक गर्नुभन्दा पहिले ३१ जुलाईमा हमासले अर्का बन्धकको भिडिओ समेत सार्वजनिक गरेको थियो । जहाँ ७ अगस्ट २०२३ मा नै कब्जामा परेका अर्का इजरायली नागरिक २१ वर्षीय रोम ब्रास्लाभेस्कीले आफूहरूलाई मद्दत गर्न इजरायल सरकारलाई गुहारी रहेका छन् ।
भिडिओमा रोमले आफूसहित अन्य बन्धकहरू पनि भोकभोकै परेको र निकै कमजोर भएको तथा बाँच्न पनि मुस्किल रहेको बताएका छन् । हेर्नुहोस् भिडिओ ।
रोम र एभयतारको भिडिओ हमासले सार्वजनिक गरेपछि बन्धकका परिवारहरूले उनीहरूको रिहाइका लागि आवाज उठाउँदै आएका छन् । एभयतार र रोमको अवस्था देखेपछि विपिनको अवस्थाका बारेमा आफ्नो परिवार थप चिन्तित भएको विपिनको बहिनी पुष्पाले शनिबार होस्टाइल स्क्वाएरमा बोल्ने क्रममा बताएकी थिइन् । भिडिओ ।
दाबी
विपिन जोशीको अवस्था बारेमा जानकारी दिने भिडिओ सार्वजनिक भयो ।
दाबीकर्ता
‘कल्पना कट्टेल’, ‘अवस्थी करण’, ‘विशाल राई’, ‘नवीन क्षेत्री’ लगायत सामाजिक सञ्जाल प्रयोगकर्ता
तथ्य
७ अगस्ट २०२३ मा हमासले विपिन जोशीलाई हमासले बन्धक बनाएको थियो । विपिन जीवित रहेको आशा गरिए पनि उनी कस्तो अवस्थामा छन् भन्ने बारेमा हालसम्म कुनै पनि जानकारी छैन । उनको रिहाइका लागि पहल गर्न र दबाब दिन बहिनी पुष्पा र आमा पद्मा हाल इजरायलमा छन् । तर सामाजिक सञ्जालमा भाइरल भिडिओ भने विपिनको होइन । भाइरल भिडिओ विपिन बन्धक भएको दिनमै बन्धक बनाइएका इजरायली नागरिक २४ वर्षीय युवक एभयतार डेभिडको हो ।
निष्कर्ष
सामाजिक सञ्जालमा भाइरल भइरहेको भिडिओमा कुपोषित शरीरमा देखिएका एक बन्धक नेपालका विपिन जोशी भएको दाबी गरिएको छ । तर उक्त भिडिओ वास्तवमा विपिन जोशीको भने होइन । तथ्यजाँचका क्रममा उक्त भिडियो ७ अक्टोबर २०२३ मा विपिन कब्जामा परेको दिनमै हमासले बन्धक बनाएको २४ वर्षीय इजरायली नागरिक एभयतार डेभिडको रहेको देखिएको छ ।
तर यसलाई विपिनको भन्दै झुटो प्रचार गरिएको हो । विपिनको परिवारले उनी जीवित रहेको विश्वास गरेको भए पनि उनको अवस्थाबारे कुनै प्रत्यक्ष प्रमाण नहुँदा इजरायल पुगेर उनको रिहाइका लागि दबाब दिइरहेको छ ।
प्रतिक्रिया
तपाईँले हाम्रो वेबसाइट, सामाजिक सञ्जालका ह्यान्डल (फेसबुक, इन्स्टाग्राम, टिकटक, एक्स, युट्युब, लिङ्क्डइन) वा [email protected] मा तथ्य जाँच गर्नुपर्ने सामाजिक सञ्जालका पोस्ट पठाउन सक्नु हुनेछ । तथ्य जाँचलाई लिएर कुनै प्रतिक्रिया वा सुझाव भए हामीलाई ईमेल पठाउनु होला ।
पछिल्लो अध्यावधिक: माघ २७, २०८२ ८:४७
